आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीका सांसदको शपथको मिति तय गर्न आज सर्वदलीय बैठक बस्दै

शुक्रबार, ०८ पुस २०७९, ०९ : ५१
शुक्रबार, ०८ पुस २०७९

बागमती प्रदेशका सांसदहरुको शपथ ग्रहणको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौंडामा बैठक आह्वान गरिएको छ ।

बैठकले प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुको जेष्ठ सदस्यको अन्तिम निर्णय, शपथ ग्रहणको मिति टुंग्याउने छ । सो सर्वदलीय बैठकमा जेष्ठ सदस्यको सपथ र सभाका अन्य सदस्यहरुको सपथका विषयहरुमा छलफल गरिने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए ।

सर्वदलीय बैठकको निर्णय अनुसार प्रदेशसभा संचालनको लागि जेष्ठ सदस्यको छनौट गरी सबैभन्दा पहिले प्रदेश प्रमुख मार्फत उनको शपथ गराउनु पर्ने कानुनी व्यवस्था रहेको उनले बताए । जेष्ठ सदस्यको शपथ पश्चात उनले अन्य सदस्यहरूको शपथ ग्रहण गराउने पर्ने भएकाले सोही अनुसार तयारी गरिरहेको  छ ।

प्रदेश सरकारसंगको समन्वयमा आगामी पुस ११ गतेको लागि जेष्ठ सदस्यको शपथ र १२ गते अन्य सांसदहरुको शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी भएको र सोही अनुसार आजका सर्वदलीय बैठकमा प्रस्ताव गरेर अन्तिम रुप दिने उनको भनाई छ ।

प्रदेशसभाको पहिलो बैठकको अध्यक्षताका लागि सचिवालयले जेष्ठ सदस्य समेत छनौट गरिसकेको छ । सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रका नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभामा निर्वाचित सांसद रामप्रसाद ढुंगानाले जेष्ठ सदस्यको हैसियतमा पहिलो बैठकको अध्यक्षतासहित अन्य सांसदहरुको शपथ ग्रहण गराउने छन् । उक्त विषयलाई आजको सर्वदलीय बैठकले अन्तिम रुप दिने छ ।

संविधानको धारा १८३ अनुसार प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको २० दिनभित्र बैठक आह्वान गरिसक्नुपर्ने र उक्त बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था रहको छ ।

सचिव खड्काका अनुसार सचिवालयले पहिलो बैठकका लागि आवश्यक कार्यसूचीहरू पनि तयार पार्नेछ ।

प्रदेशसभाको पहिलो बैठकको सम्भावित कार्यसूचीमा  स्वागत तथा शुभकामना, सभामुख र उपसभामुखको निर्वाचन, प्रदेश प्रमुख कार्यालयबाट प्राप्त चिठीपत्रहरु रहने उनले बताए ।

प्रदेशसभाको पहिलो बैठकमा सरकारको तर्फबाट सदनमा पेस भएका केही अध्यादेश प्रस्तुत हुने र सोको प्रक्रिया पुरा गरि कानुन निर्माणमा अघि बढ्ने उनको भनाई छ ।

प्रदेश सरकारले संसद नचलेको पछिल्लो अवस्थामा गत भदौ १ गते  स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९,  प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गरेको छ । त्यस्तै असोज १२ गते प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) अध्यादेश, २०७९, असोज ३० गते प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश, २०७९, प्रदेश कृषि विकास अध्यादेश, २०७९, प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका छ ।

सरकारबाट जारी भएको उक्त अध्यादेशहरु सदन संचालन भएको ६० दिन भित्र पास गरिसक्नु पर्ने भएकाले संसदको पहिलो बैठकमा ति अध्यादेशहरु प्रस्तुत गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप