शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले शपथअगाडि नै दलको नेता चयन गर्दै, काँग्रेस, माओवादीलगायतले शपथपछि

शनिबार, ०९ पुस २०७९, १९ : ०६
शनिबार, ०९ पुस २०७९

प्रदेश १ प्रदेशसभा सदस्यहरूको शपथग्रहण ११ गतेका लागि तोकिएको छ । शपथग्रहण अगाडि एमाले बाहेक अन्य दलले दलको नेता चयन गर्ने सम्भावना कम भएको छ ।

नेकपा एमालेले पुस १० गते अर्थात् भोलि दलको नेता चयनका लागि दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा दलको बैठक बोलाएको छ । प्रदेशसभा सांसद तथा एमाले नेता हिक्मत कार्कीले भोलिको बैठकबाट दलको नेता चयन हुने बताए । ‘भोलि १ बजेका लागि बैठक बोलाएका छौँ, दलको नेता त्यहीबाट सर्वसम्मत चयन हुन्छ,’ कार्कीले भने । नेकपा एमालेको प्रदेशसभामा ४० जना सांसद रहेका छन् । उक्त दल प्रदेशसभाको सबैभन्दा ठुलो दल हो ।

यता, प्रदेशसभामा दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले भने दलको नेता चयन लगायतका विषयमा छलफल गर्न भन्दै ११ गते बैठक बोलाएको छ । दलको नेतामा धेरै नेता आकाङ्क्षी देखिएको कारण सोही बैठकले नेता चयन गर्न काँग्रेसलाई सकस देखिएको छ । काँग्रेस प्रदेश १ का सभापति तथा प्रदेशसभा सदस्यसमेत रहेका उद्धव थापाले बैठकमा दलको नेता चयनको विषयमा छलफल हुने र चुनावी प्रक्रियाबारे निर्णय हुनसक्ने बताए । ‘हामीले ११ गतेका लागि बैठक बोलाएका छौँ, त्यही बैठकबाट दलको नेता चयन हुने सम्भावना कम छ,’ उनले भने, ‘१५ गते सम्ममा दलको नेता चयन गर्छौँ ।’ नेपाली काँग्रेसको प्रदेशसभामा २९ जना सांसद रहेका छन् । 

यता, संसद्मा तेस्रो शक्तिको रूपमा रहेको नेकपा (माओवादी केन्द्र)ले पनि संसदीय दलको नेता ११ गतेको शपथग्रहण पछि चयन गर्ने जनाएको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शपथग्रहण पछि बस्ने दलको बैठकले सहमतिबाटै नेता चयन गर्ने बताए । ‘हामी सहमतिबाटै दलको नेता चयन गर्छौँ,’ आङ्बोले भने, ‘तर, शपथग्रहण पछि बैठक राखेका छौँ त्यही बैठकबाट नेत ाचयन हुन्छ ।’ माओवादी केन्द्रको प्रदेशसभामा १३ जना सांसद रहेका छन् ।

यस्तै संसदको चौथो शक्ति रहेको राप्रपाले दलको नेता शपथग्रहण पछि नै चयन गर्ने जनाएको छ । उक्त पार्टीका नेता भक्तिप्रसाद सिटौलाले ११ गतेको शपथपछि मात्रै दलको नेता चयन हुने बताएका हुन् । ‘प्रदेशको सरकार बनाउने प्रक्रिया सुरु भएकै छैन । सरकार गठन प्रक्रिया सुरु भएपछि हामी दलको नेता चयन गर्छौँ,’ सिटौलाले भने, ‘शपथग्रहण पछि हामी दलको नेता चयन गर्छौँ ।’ उनले पनि दलको नेता सर्वसम्मत ढङ्गले चयन गर्ने बताए । राप्रपाको प्रदेशसभामा ६ जना सांसद रहेका छन् ।

चार जना सांसद रहेको नेकपा (एकीकृत समाजवादी)ले पनि शपथग्रहण पछि नै दलको नेता चयन गर्ने जनाएको छ । जनता समाजवादी पार्टीको भने प्रदेश १ मा एक जना मात्रै सांसद रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप