शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खुमलटार पुगेर विमलेन्द्रले भने, ‘कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति छाड्न सक्दैन’

आइतबार, १० पुस २०७९, १० : २४
आइतबार, १० पुस २०७९

 सरकार गठनको अन्तिम समयमा राजनीतिक दलहरू आन्तरिक छलफलमा जुटेका छन् । सत्ता गठबन्धनको सरकार बनाउने सैद्धान्तिक सहमति भए पनि कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा सहमति जुट्न नसक्दा कांग्रेस र माओवादी पार्टीभित्र आन्तरिक छलफलमा जुटेका हुन् । कांग्रेस नेताहरू बालुवाटारमा छलफलमा जुट्दा माओवादी केन्द्रका नेताहरू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा छलफलमा छन् । 

बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, वालकृष्ण खाँणलगायतका नेताहरू छलफलमा जुट्दा खुमलटारमा माओवादी पदाधिकारी बैठक भर्खर सकिएको छ । खुमलटार बैठकमा नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन लगायत छन् । 

माओवादी पदाधिकारी बैठक चलिरहेका बेला कांग्रेस नेता विमलेन्द्र निधि खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । प्रचण्डसँगको छलफलमा नेता निधिले गठबन्धन कायम राख्न पनि सहमति जरुरी रहेको भन्दै विकल्प नसोच्न आग्रह गरेका छन् । त्यस क्रममा  निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने बताएका थिए । 

‘कांग्रेसको बटमलाइन प्रधानमन्त्री र राष्ट्रपति हो । यसमा तपाई सहमतिमा आउनुपर्‍यो’, निधिको भनाइ थियो । जवाफमा प्रचण्डले यदि त्यस्तो हो भने गठबन्धन टुट्ने सक्ने भन्दै विकल्प खोज्न बाध्य हुने बताएका छन् । 

‘कांग्रेसलाई प्रधानमन्त्री र राष्ट्रपति दिन गठबन्धन गर्न अव आवश्यक छैन । त्यो अवस्थामा हामी विकल्प खोज्छौँ, ’ प्रचण्डले निधिलाई दिएको जवाफ उद्धृत गर्दै नेता शक्ति बस्नेतले भने, ‘तैपनि फाइनल कुरा गर्न अध्यक्ष बालुवाटार जाँदै हुनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप