बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगलाई विद्यार्थीहरूको प्रश्न– हामीलाई मानसिक तनाव कहिलेसम्म ?

सोमबार, ११ पुस २०७९, ०६ : १३
सोमबार, ११ पुस २०७९

काठमाडौँ । सङ्खुवासभा, धर्मदेवी नगरपालिका–९ का १८ वर्षीय प्रमोसु दाहाल यतिबेला काठमाडौँमा छन् । गत भदौमा प्लस टु को नतिजा आएपछि उनी एमबीबीएसको तयारीमा लागे ।

एमबीबीएस पढ्ने सपना बोकेर काठमाडौँ हानिएका उनी यतिबेला तनावमा छन् । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययनका लागि लिनुपर्ने एकीकृत प्रवेश परीक्षा (इन्ट्रान्स) को फारम नखुल्दा उनी तनावमा परेका हुन् ।

उनीमात्रै नभएर उनीजस्ता हजारौँ विद्यार्थी यतिबेला तनावमा छन् । आयोगको वार्षिक कार्यतालिका अनुसार कात्तिकको तेस्रो सातामा परीक्षाका लागि आवेदन सूचना प्रकाशित गर्नुपर्ने थियो । तर, पुसको दोस्रो साता बित्नलाग्दा समेत आयोगले सूचना निकाल्न सकेको छैन ।

अहिलेसम्म सूचना ननिकाल्दा विद्यार्थीहरू आयोगलाई दिनहुँ फोन गरेर सोध्ने गरेका छन् । जसले गर्दा आयोगका अधिकारीहरू समेत फोनको जवाफ दिँदादिँदा थाकिसकेका छन् ।

‘कात्तिकको तेस्रो सातामा सूचना निकाल्ने भनेको अहिलेसम्म सूचना निकालेको छैन । हामीले दिनहुँ फोन गरिरहेका छौँ । हामी निकाल्ने तयारीमा छौँ भन्ने जवाफ मात्र आउँछ,’ दाहालले भने ।

एकीकृत प्रवेश परीक्षा सञ्चालनमा अन्योल देखिएकाले उनलाई एक वर्ष आफ्नो समय त्यसै खेर जाने हो कि भन्नेमा चिन्ता छ । ‘यताको तयारीले गर्दा अन्य केहीमा पनि भर्ना हुन पाएनौँ । यता कहिले परीक्षा हुन्छ भन्ने टुंगो छैन,’ उनले भने, ‘यता नाम निस्किएन भने अर्को विषय पढ्नबाट समेत वञ्चित हुने भएँ । सूचना निकाल्न पनि किन यति ढिला गरेको होला ! हामी त तनावमा छौँ ।’

आयोगले स्नातकोत्तर तहको भने परीक्षा लिएर म्याचिङको काम थालेको छ । तर, एमबीबीएस, बीडीएस लगायतका कोर्सका लागि भने अझै परीक्षाको मिति समेत तय हुन सकेको छैन ।

एमबीबीएस इन्ट्रान्सको तयारी गरिरहेका विराटनगरका मनिष गोइत पनि काठमाडौँमा बसेर पढ्दै आएका छन् । उनी दोस्रो पटक एमबीबीएस इन्ट्रान्स दिने तयारीमा लागेका हुन् । गत वर्ष राम्रो नतिजा नआएपछि यो वर्ष फेरि दिने तयारीमा रहेका उनलाई पनि ‘परीक्षा कहिले हुन्छ ?’ भन्ने प्रश्नले सताउँछ ।

यतिबेला स्नातक तह अन्तर्गत चिकित्सा शिक्षा अध्ययनको तयारी गरिरहेका ३५ हजारभन्दा बढी विद्यार्थीहरू सूचनाको प्रतीक्षामा छन् । उनीहरू दिनहुँजसो आयोगलाई फलो गर्दै आएका छन् । तर, आयोगले अहिलेसम्म के कति कारणले ढिलाइ गरिरहेको हो भन्ने उनीहरूले पत्ता लगाउन सकेका छैनन् ।

‘ढिलाइ के कारणले भएको हो भन्ने हामीले थाहा पाउन सकेका छैनौँ । आयोगमा फोन गर्दा केही दिनमा सूचना आउँछ मात्र भन्छन्,’ मनिषले भने ।  

आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले केही दिनमै सूचना प्रकाशित गरिने बताए । चुनावका कारण केही समय ढिला भएको र एक साताभित्रमा सूचना प्रकाशित गरिने उनको भनाइ छ ।

निर्वाचनको कारण स्नातकोत्तर तह (पीजी) अन्तर्गत एकीकृत प्रवेश परीक्षाको मिति सरेको थियो । जसले गर्दा स्नातक तह (यूजी) लाई पनि असर परेको उनको भनाइ छ ।

परीक्षामा ढिलाइ भए पनि पढाई भने कार्यतालिका अनुसार नै गरिने उनले बताए । ‘सूचना निकाल्न ढिलाइ भएको हो । परीक्षा पनि केही दिन तलमाथि होला । तर, पढाई भने तोकिएकै समयबाट हुने गरी काम अगाडि बढाएका छौँ,’ उनले भने ।

आयोगले निकालेको कार्यतालिका अनुसार अगाडि बढेको भए अहिले आवेदन फारम भर्ने अन्तिम समयावधि हुनुपर्ने थियो । तर, अहिलेसम्म आवेदन नै खुल्न सकेको छैन ।

आयोगले साउन १० गते शैक्षिक सत्र २०७९÷०८० का लागि वार्षिक शैक्षिक कार्यतालिका सार्वजनिक गरेको थियो । जस अनुसार कात्तिक तेस्रो हप्तामा प्रवेश परीक्षा सूचना प्रकाशन गर्ने थियो । पुस पहिलो साता आवेदन फारम भर्ने अन्तिम समयावधि थियो भने माघ दोस्रो र तेस्रो हप्ता परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि तोकेको थियो । फागुन तेस्रो हप्तामा म्याचिङ सुरु गर्ने र जेठको दोस्रो हप्ताबाट कक्षा सञ्चालन गर्ने कार्यतालिका थियो ।

यता स्नातकोत्तर तह तथा स्पेसियालिटी सहित सबै कार्यक्रमका लागि कात्तिक तेस्रो हप्ता परीक्षा सञ्चालन गर्ने बताएको थियो । तर, परीक्षा भने पुस २, ३ र ४ गते लिएको थियो । स्नातकोत्तर तहको समेत कार्यतालिका अनुसार अगाडि बढ्न सकेको छैन ।

निर्वाचनका कारण यसअघिको परीक्षा मिति स्थगित गरेर पुसमा परीक्षा लिएको थियो । जसले गर्दा कार्यतालिका अनुसार जान नसकिएको उपाध्यक्ष प्रा.डा. गिरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप