सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘राज्यले नचाहेमा पनि त्रिविबाट स्ववियु निर्वाचन रोकिने छैन’

बुधबार, १३ पुस २०७९, १२ : ४८
बुधबार, १३ पुस २०७९

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १४ को सट्टा २८ गते नयाँ मिति प्रस्ताव गरेको छ । 

विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन यो पटक जसरी पनि गराउनुपर्ने पक्षमा सरोकारवाला निकाय छन् । कुनै पनि बहानामा चुनाव रोक्न नहुने बताइरहेका विद्यार्थी संगठनहरूले त्यसका लागि आफ्नो तयारीसमेत थालिसकेका छन् । 

त्रिविले समेत समयमै चुनाव गरेरै छोड्ने प्रतिबद्धताका साथ तयारी अगाडि बढाएको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारी बताउँछन् । प्रस्तुत छ, यही विषयमा निर्देशक शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश: 

फागुन २८ गते स्ववियु निर्वाचन गराउने तय भएको छ । अब यो मिति त सारिन्न नि ?  

हो, यो मिति नै लगभग कन्फर्म हो । किनभने डीनहरू नै हो परीक्षा गर्ने, भर्ना गर्ने  भनेको । परीक्षा नियन्त्रकले परीक्षा गराउने हो । उहाँहरू सबै जनाले भर्ना र परीक्षा सेड्यूल मिलाइसकेपछि फागुन २८ गतेको मिति सिफारिस गरिएको हो । सोही आधारमा हामी निर्वाचन गराउने तयारीमा जुटेका हौँ । हाम्रा सबै ६२ वटा आंगिक क्याम्पसहरूमा विद्यार्थी कल्याण प्रमुखहरू छन् । त्यसका प्रमुखहरू एकदम अपडेट छन् । उहाँहरूलाई परिचालन गर्ने काम मात्र हो । 

त्यसो भए चुनावको यकिन निर्णय कहिले हुन्छ ? 

अब अर्को हप्ता विद्यार्थी कल्याण परिषद्को बैठक बोलाउँछौँ । त्यो बैठकले फागुन २८ गतेको मितिलाई नै सिफारिस गरेर कार्यकारी परिषद्लाई पठाउँछौँ । 

परिषद्ले सिफारिस गरेर कार्यकारी परिषद्ले निर्णय गर्छ । त्यसपछि कार्यकारी परिषद्ले स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति बनाउँछ । अनि तालिका प्रकाशित भएर निर्वाचन कार्यक्रम अगाडि बढ्छ । 

चुनावबारे डीनहरू, विद्यार्थी संगठनहरूसँग छलफल गर्नुभएको थियो । त्यसमा के कुरा भयो ? 

पहिलो चरणमा ५ वटा संकायका डीनहरूसँग, पदाधिकारीहरूसँग बसेर छलफल गरेका थियौँ । उहाँहरू भर्ना सेड्यूल, परीक्षा सेड्यूलसहित आउनुभएको थियो । छलफलको क्रममा फागुन २८ गतेको मिति उपयुक्त हुन्छ भन्ने प्रस्ताव गर्नुभयो । 

त्यसपछि हामीहरू सोमबार २० वटा विद्यार्थी संगठनका अध्यक्षहरूसँग बसेका थियौँ । पटक पटक विद्यार्थी आन्दोलनमा हामीले गरेका स्ववियु चुनाव गराउने प्रतिबद्धता जाहेर गरेका थियौँ । सुझाव माग्दा सोहीअनुसार स्ववियु निर्वाचन फागुन २८ मा गरौं भन्ने कुरा भयो । विश्वविद्यालय स्ववियु निर्वाचनबाट भाग्न पाउँदैन, निर्वाचनका लागि हामी तयार छौँ भन्ने खालको सुझाव दिनुभयो । 

चुनाव हुने/नहुनेमा अझै पनि आशङ्काहरू व्यक्त भइरहेका छन् । यसमा कसरी विश्वस्त हुने ?  

स्वाभाविक रूपमा शङ्का उपशङ्का हुनु आफ्नो ठाउँमा छ । किनभने १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन अहिले कसरी हुन्छ ? भन्ने खालको प्रश्न आउनु अस्वाभाविक होइन । 

तर, मेन स्टेकहोल्डर विद्यार्थी भएको हुनाले उनीहरूको पोलिसी मेकिङमा समेत असर परेको देखिन्छ । जस्तो सिनेटदेखि क्याम्पसको सञ्चालक समितिमा बस्न पाएका छैनन् । 

उनीहरूलाई मात्र नभएर विश्वविद्यालयलाई पनि घाटा भइरहेको छ । विश्वविद्यालयले एउटा सुझाव माग्दा १० थरी नेताहरू आएर काममा अवरोध गर्ने, ताला लगाईदिने गरेका छन् । आन्दोलन गर्छन् ।  

अहिले वैधानिक संस्था नभएपछि विश्वविद्यालयलाई काम गर्न धेरै गाह्रो भइरहेको छ । कि त स्ववियुलाई हटाउन सक्नुपर्‍यो विश्वविद्यालयबाट । तर, स्ववियुलाई हटाएर पनि विद्यार्थीहरूका सरोकार राख्ने विषयहरूलाई उठान गर्न समस्या हुन्छ । स्ववियु संस्था रहेसम्म यसको वैधानिकता कायम गरेर यसलाई क्रियाशील गर्नैपर्छ । 

आन्दोलनबाट स्ववियु निर्वाचन गर्नुपर्छ भनेर विश्वविद्यालयले गरेको सहमति र विद्यार्थीको स्टेकहोल्डर लगायतका विभिन्न निकायमा पहुँच पुर्‍याउनको लागि पनि स्ववियु निर्वाचन समयमै हुन्छ, विश्वविद्यालयले गर्छ भन्ने हो । 

विगतका वर्षहरूमा निर्वाचनमा अवरोध हुने गरेको थियो । यो पटकको चुनाव कसरी सहज वातावरणमा गराउनुहुन्छ ? 

हो, विगतका वर्षमा समस्या भएकै थियो । यसमा सबैको आ–आफ्नो ठाउँबाट कमजोरी रह्यो । 

अहिले सहज वातावरणमा चुनाव गराउनको लागि राज्यको चासो हुनु जरूरी देखिन्छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नै स्ववियु निर्वाचन गराउनुहोस् भनेर निर्देशन दिनुभएको थियो । त्यो भएकाले अघिल्लो सरकारकै पालादेखि छलफल सुरु गरेका हौँ । सरकार परिवर्तन भएर सुरु गरेको विषय पनि होइन । यो त हामीलाई आवश्यकता छ भन्ने हिसाबले नै सुरु गरेका हौँ । 

अहिलेको सरकारसँग पनि अनुरोध गर्छौ । भर्खर सबै निर्वाचन सम्पन्न भइसकेको हुनाले यो निर्वाचनलाई अवरोध हुँदैन जस्तो लाग्छ ।  

राज्य या कसैको तर्फबाट अवरोध भयो भने ? 

हामी चुनाव रोक्दै रोक्दैनौँ । जुनसुकै हालतमा पनि चुनाव गराएर छाड्छौँ । राज्यले नचाहेको खण्डमा पनि यो रोकिनेवाला छैन । विद्यार्थी संगठनहरूले रोक्न खोज्ने कुरा नै होइन । 

विद्यार्थी संगगठनहरूको समेत पहल हुन्छ । उनीहरू समेत सहज नै छन् । अहिले वातावरण बन्दै गइरहेको छ । यसपालि चुनाव भएरै छोड्छ । एउटा त्रिवि मात्र नभएर सरोकारावाला सबै निकाय गम्भीर भएर लाग्यो भने सहज रूपमै स्ववियु चुनाव गराउन सक्छौँ । आत्मविश्वासका साथ त्रिवि स्ववियु निर्वाचन अगाडि बढिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप