बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारको नेतृत्वका लागि केन्द्रको ‘सिग्नल’ कुर्दै यामलाल र राजकुमार

प्रदेशमा एमाले र माओवादीका नेताबीच अझै भएन छलफल
बिहीबार, १४ पुस २०७९, १५ : ३४
बिहीबार, १४ पुस २०७९

कर्णालीमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संसदीय दलको नेता चयनसँगै पहिलो चरणमा सरकार कसको नेतृत्वमा गठन गर्ने भन्ने विषयबारे चर्चा हुन थालेको छ । सरकार गठनको कुरा केन्द्रमा निर्भर रहेकाले प्रदेशका नेताहरु केन्द्रको ‘सिग्नल’ कुरिरहेका छन् । फेरिएको राजनीतिक समीकरणले नेपाली कांग्रेस ०७४ को अवस्थामा पुग्दा कर्णालीमा माओवादी–एमालेको सरकार बन्ने बाटो खुलेको हो । यद्यपि यो पटक एमालेसँग ०७४ को जस्तो सिट संख्या भने छैन ।

०७४ मा २० सिटसहित पहिलो दलको हैसियत बनाएको एमालेसँग यो पटक १० सिटमात्रै छ । माओवादीसँग भने अहिले १३ सिट छ । ४० प्रदेशसभा सदस्यमा सरकार बनाउनका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक हुन्छ । तर राप्रपाको एक सिटसहित गठबन्धनको पक्षमा २४ सिट छ ।

एमालेले भने सरकार निर्माणमा सिट संख्यालाई महत्व नदिने बताएको छ । केन्द्रमा माओवादीको सिट संख्या कम हुँदा पनि एमालेले साथ दिएर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेको र ०७४ मा कर्णालीमा २० सिट हुँदा पनि १३ सिट रहेको माओवादीका महेन्द्रबहादुर शाहीलाई समर्थन गरेको एमाले प्रदेश कमिटीका नेताहरु बताउँछन् ।

बुधबार एमालेले स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेल र माओवादी केन्द्रले पोलिटब्यूरो सदस्य राजकुमार शर्मा (आर्ट)लाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चुनेको छ । दल नेतामा सर्वसम्मत भइसकेपछि कँडेल र शर्मामध्ये को पहिला सरकारको नेतृत्वमा जाने भन्ने विषयलाई लिएर नेताहरुले आ–आफ्ना धारणाहरु सार्वजनिक गरिरहेका छन् । एमाले नेता कँडेलले कर्णालीमा आफ्नै नेतृत्वमा सरकार बन्ने कुरामा दुईमत नरहेको प्रतिक्रिया दिए ।​

​उनले भने, ‘एमालेले कर्णालीमा पहिलो चरणमै सरकार बनाउने गरी संस्थागत रुपमा पार्टी केन्द्रलाई भनेका छौंँ ।’ यद्यपि सरकार बनाउने कुरा केन्द्रमा निर्भर रहेको उनले बताए ।

‘संयुक्त सरकार बनाउने भएकाले आ–आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने कुरालाई स्वाभाविक रुपमा लिन्छु,’ कँडेलले भने, ‘माओवादीको आधार इलाका हो, त्यो भएकाले माओवादीले नै सुरुमा सरकारको नेतृत्व गर्नुपर्छ भन्ने कुरा ०७४ मै खण्डित भइसकेको कुरा हो ।’

माओवादीले आधार इलाकाको कुरा गरिरहँदा कँडेलले भने एमाले नै कर्णालीमा पहिलो पार्टी रहेको दाबी गरे । प्रतिकुल अवस्थामा बीचमा प्रत्यक्षतर्फका उम्मेदवारको प्राप्त परिणामको संख्यामा तल–वितल भए पनि समानुपातिकका हिसाबले कर्णालीमा एमाले नै पहिलो पार्टी भएको पुष्टि भइसकेको कँडेलको भनाइ छ । ‘त्यो भएकाले कसको प्रभाव पहिलो, दोस्रो र तेस्रो स्थानमा भन्ने कुुरा भनिरहनु पर्ला र ?’ उनले भने ।

कँडेलले भनेजस्तै माओवादी संसदीय दलका नेता राजकुमार शर्माले पनि सरकार बनाउने कुरा केन्द्रमै निर्भर रहेको बताए । शर्मा भन्छन्, ‘सकेसम्म कर्णालीमा माओवादी नेतृत्वकै सरकार बन्नुपर्छ भन्ने हो, किनकि अहिलेको सिट संख्या र अन्य प्रदेशको तुलनामा कर्णालीमा माओवादीको अवस्थालाई मध्यनजर गरिनुपर्छ, त्यो भएकाले माओवादीको दाबी स्वाभाविक रुपमा पहिलो चरणमा सरकारको नेतृत्वमा हुन्छ नै ।’

शर्माले संख्या र जनाधारको हिसाबमा माओवादीकै नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गरे । यद्यपि केन्द्रले के निर्णय गर्छ भन्ने कुरामा निर्भर रहने उनको भनाइ छ ।

माओवादीका अन्य नेताहरुले कर्णाली माओवादीको आधार इलाका भएकाले सरकारको नेतृत्व माओवादीले नै गर्नुपर्ने तर्क गरिरहेका छन् । तथापि पहिलो चरणमा एमालेले मुख्यमन्त्री पाएको खण्डमा माओवादीले सभामुख पाउने देखिन्छ ।

प्रदेशमा भएको छैन नेताहरुबीच छलफल

सरकार बनाउने कुरा केन्द्रमा निर्भर भएर होला प्रदेशमा अहिलेसम्म एमाले–माओवादी नेताहरुबीच छलफल भने हुन सकिरहेको छैन । एमाले नेता कँडेल र माओवादी नेता शर्माले अहिलेसम्म सरकारको नेतृत्वका लागि केन्द्रकै ‘सिग्नल’ कुरेर बसिरहेका छन् । बुधबार दुबै दलका दल नेता चुनिए पनि अहिलेसम्म आपसमा छलफल भने हुन नसकेको हो । माओवादी संसदीय दलका नेता शर्माले अहिलेसम्म दुई दलका नेताहरुबीच भेटघाट नभएको बताए । उनले भने, ‘सामान्यतया फोनमा हल्का–फुल्का कुराकानी भए पनि भेटघाट भएर सरकार बनाउने कुरामा दुई दलका नेताहरुबीच त्यस्तो छलफल भएको छैन ।’

यता एमाले सांसद टेकराज पछाईले पनि प्रदेशमा दुई पार्टीका नेताहरुबीच भेटघाट गरेर छलफल हुने वातावरण अहिलेसम्म नभएको बताए । यद्यपि उनले पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप