शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ संसद भवनमा २ वर्षपछि मात्रै बैठक, ६१ प्रतिशत निर्माण सकियो (भिडियोसहित)

शुक्रबार, १५ पुस २०७९, १२ : २७
शुक्रबार, १५ पुस २०७९

सिंदरबारस्थित नयाँ संसद भवन बनाउने काम ६१ प्रतिशत सकिएको छ । वित्तीय प्रगति भने ६० प्रतिशत रहेको विशेष भवन निर्माण सचिवालयका आयोजना निर्देशक माचाकाजी महर्जनले जानकारी दिए । नयाँ संसद भवन अन्तर्गत ११ वटा भवन उठाउने काम सम्पन्न भएको छ । हाल भवनमा बुट्टेदार झ्याल–ढोका हाल्ने काम सुरु भएको उनले बताए । यस्तै संसद भवनको कम्पाउण्ड वाल लगाउने काम पनि सकिन लागेको छ । संसद भवन प्रवेशका लागि रहने ३ वटा गेटमध्ये २ वटाको फिनिसिङ सकिएको छ भने अर्को गेटको फिनिसिङ गर्न बाँकी छ ।

हालसम्म प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक हलको काममा धेरै प्रगति भएको छ । दुवै सदनको हलभित्रको संरचना निर्माण भइसकेको छ भने अब छाना हाल्ने काम बाँकी छ । हलको मेटल ट्रसको डिजाइनको काम लगभग सकिएको छ । हाल ट्रसको फेब्रिकेशनको काम भइरहेको छ भने सो काम सक्न झन्डै ३ महिना लाग्ने महर्जनले बताए ।

कोभिडको प्रभाव, दसैँ, तिहार, छठ जस्ता पर्वका कारण काममा ढिलाइ हुन गएको उनको भनाइ छ ।  एलसी (बैंक ग्यारेन्टी) बन्द भएका कारण निर्माण सामग्री ल्याउन समस्या भएकाले पनि काम अघि बढ्न समस्या भएको उनको भनाइ छ ।

आगामी चैत मसान्तसम्ममा निर्माणको काम सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा काम सम्पन्न नहुने भएको छ । धेरै निर्माण सामग्री बाहिरबाट ल्याउनुपर्र्ने भएकाले त्यसका लागि नै ३ महिना पर्खनुपर्ने अवस्था छ । भवन निर्माणको काम छिटै सकिए पनि भवनभित्रको साज सजावटको काम गर्न समय लाग्ने उनले बताए ।

यस्तै संसद भवनमा साउण्ड सिष्टमको व्यवस्थाका लागि टेन्डर आह्वान गर्न बाँकी छ । साउण्ड सिष्टम, बत्ती लगायतको काम पहिले नै सक्नुपर्ने भएकाले ती काम सम्पन्न नभई अन्य कामले गति लिन नसक्ने देखिन्छ ।

आगामी १ वर्षभित्र संसद बैठक बस्न सक्नेगरी हल तयार भए पनि डिजाइन लगायतका काममा झन्डै ६ महिना समय लाग्ने उनले बताए । टुकी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजार रुपैयाँमा यो भवन निर्माण गरिरहेको छ । २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो भवन निर्र्माणको शिल्यान्यास गरेका थिए ।

हेर्नुहोस् भिडियो -

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप