आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कालीगण्डकीमा पुल निर्माण अलपत्र

शनिबार, १६ पुस २०७९, ०८ : ०६
शनिबार, १६ पुस २०७९

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवास्थित कालीगण्डकी नदीमा पुल निर्माणको काम अघि बढ्न सकेको छैन । नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवा र तनहुँको घिरिङ सुन्धारा–१ जगौली जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन पुलको काममा सुधार हुन नसकेको हो । 

विसं २०७४ मा पुल निर्माणको सम्झौता भएको  थियो । तीन वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भए पनि हालसम्म २० प्रतिशत काम भएको छ । पुल बनाउन दुई पटक म्याद थप गरिएको पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ पोखराका इन्जिनियर नवराज बास्तोलाले बताए ।

पछिल्लो पटक विसं २०८० असारसम्मका लागि म्याद थप गरिएको छ । दोस्रो पटक म्याद थपिएपछि पनि काममा उल्लेख्य प्रगति नभएको उनले बताए । पुल निर्माणमा प्रगति नभएपछि निर्माण कम्पनीका प्रतिनिधिलाई  विभिन्न चरणमा लिखित तथा मौखिक ताकेता गरिएको इन्जिनियर बास्तोलाले बताए । “पुल निर्माणको कार्य सन्तोषजनक नभएपछि हामीले ताकेता गरिरहेका छौं, लिखितरुपमा समेत चाँडो काम गर्न भनिरहेका छौं, पुल निर्माण चाँडो होस् भन्ने छ”, बास्तोलाले भने । 

पुल निर्माण स्थलको बौँदीकाली–३ रकुवातर्फ दुई पिल्लर र अर्को एउटा पिल्लरको जमिनको सतहसम्म जगको कामबाहेक अरु कुनै काम हुन सकेको छैन । गत वर्षदेखिनै पुल निर्माणको काम रोकिएको छ । 

सरकारले काममा लापरबाही गर्ने र समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भने पनि निर्माण अलपत्र पार्ने यस्ता कम्पनीलाई कारबाही अघि नबढाएको स्थानीय कृष्णप्रसाद पराजुलीले बताए । पुल निर्माण कार्यलाई तीव्रता दिन जनप्रतिनिधि, राजनीतिक दलका अगुवासहित सम्बन्धित सरोकारवालाले कामको निरीक्षण गरी आवश्यक पहल गरिदिन स्थानीयले अनुरोध गरेका छन् । कालीगण्डकीमा निर्माणधीन उक्त पुलको लागत रु २२ करोड ९८ लाख रहेको छ । पुलको लम्बाइ दुई सय ११ मिटर हुनेछ । पुल निर्माणको काम महावीर, गौरीपार्वती, नीलगिरि नेशनल जेभीले गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप