टेलिफोन सम्पर्क नभएपछि यसरी छट्पटिए मन्त्री
नुवाकोट (तारुका) – नुवाकोटको तारुकास्थित नेकपा (एमाले) जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको अस्थायी टहरो, जहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेल निकै छट्पटीमा देखिन्थे ।
मन्त्री पोखरेलले कोटको खल्तीबाट मोबाइल झिके । नम्बर थिच्दै फोन गर्ने प्रयास गरे । तर मोबाइलमा ‘नो नेटवर्क’ सिग्नल देखियो । पुनः थिचे, फेरि पनि नेटवर्क देखिएन ।
कुर्सीमा बसेका मन्त्री जुरुक्क उठे । वरपर टावर हेर्दै फेरि मोबाइल थिचे। मोबाइलले फेरि पनि नो सिग्नलको सङ्केत नै गरिरहेको थियो ।
छट्पटिरकेका मन्त्रीले फेरि कोटको खल्तीबाट अर्को मोबाइल निकालेर नम्बर डायल गरे। फेरि पनि हालत पहिलेकै दोहोरियो । त्यसबेला मन्त्री पोखरेलले निकै हतासिँदै भने, “मेरो फोन गर्नुपर्ने जरुरी काम थियो, मोबाइलमा नेटवर्क नै छैन ।”
त्यसबेलासम्म वरिपरि मानिसको घुईँचो लागिसकेको थियो । सबैले मन्त्रीतिर हेर्न थाले । आफ्नो अस्थायी टहरोबाट निस्किँदै एमाले जिल्ला अध्यक्ष खतिवडाले थपे, “यहाँ त मोबाइलको टावर नै आउँदैन, देश विदेशमा आफन्तसँग कुरा गर्न वडो मुस्किल छ ।”
मन्त्रीले अचम्म मान्दै सोधे, “यहाँ कहिलेपनि मोबाइलको नेटवर्क आउँदैन ? अनि कहाँ पुगेर फोन गर्नुहुन्छ ?” । मन्त्रीको जिज्ञासा नसकिँदै स्थानीय कृष्णबहादुर माझीले थपे,“ यहाँ त नेटवर्क नै आउँदैन, बरु मन्त्रीज्यूले मोबाइलको टावर राखिदिन पहल गरिदिनुपर्यो ।” माझीसँगै अरुले पनि मन्त्रीलाई यस्तै आग्रह गरे ।
नुवाकोट क्षेत्र नं ३ बाट विसं २०६४ सालमा विजयी तथा तत्कालीन सूचना तथा सञ्चारमन्त्री पोष्टबहादुर बोगटीले सो क्षेत्रमा नेपाल टेलिकमको टावर राख्नका लागि निकै प्रयास गरेका थिए । तर उनको निधनपछि टावर राख्ने काम हुनसकेको छैन ।
स्थानीय बासिन्दाले धेरैपटक टावर राख्न पहल गर्दा पनि काम अघि बढ्न सकेको छैन । राजधानीबाट नजिकैको दूरीमा रहेको भएपनि नुवाकोटको तारुका क्षेत्रमा टेलिकमको टावर छैन । स्थानीयले विगतमा भएका प्रयास मन्त्री पोखरेललाई सुनाए ।
“यस बारेमा सूचना तथा सञ्चार मन्त्री शेरधन राईसँग कुरा गर्छु”– मन्त्री पोखरेलले स्थानीयलाई वचन दिए ।
यसरी स्थानीयले सधैँ भोगेको समस्या मन्त्री पोखरेलले पनि भोगेपछि टावर राख्ने कुरामा केही प्रगति भैहाल्छ कि भन्ने आशा स्थानीयमा जागेको छ । भूकम्पपीडितका लागि बनाइएका अस्थायी भवन हस्तान्तरण गर्न मन्त्री पोखरेल सोमबार तारुका पुगेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण