आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

जसले जवानी खर्चिन् सेवामा, अब जीवनै दिने अठोट छ

शनिबार, २३ माघ २०७२, १० : ००
शनिबार, २३ माघ २०७२

जीवनले ३२ वसन्त पार गर्दानगर्दै दीक्षा चापागाईं २६ अनाथ बालबालिकाकी ‘आमा’मात्र होइन, १० वृद्धाकी जीवनसहारा पनि बनेकी छिन् । कुनै पनि कारणले सडकमा आइपुगेका बालबालिका होउन् वा सन्तानले हेला गरेका बृद्धबृद्धाहरू, उनको नजर पर्नेबित्तिकै साथ पाइहाल्छन् । त्यसैको लागि उनले संस्था खोलेकी छिन्, पवित्र सेवा समाज । पवित्र सेवा समाज नामजत्तिकै काममा पनि पवित्र छ । समाजको धापासीस्थित ग्रिनल्यान्ड जाने बाटोनजिकै टिनले छाएको लामो टहरोमा बिहानै त्यहाँ पुग्दा कतिपय बृद्धबृद्धा चिया खाने तरखर गर्दै थिए भने कतिपय पूजाआजामा व्यस्त थिए । बालबालिका आफ्नै सुरमा खेल्दै र पढ्दै थिए । ती बृद्धबृद्धाको जीवनलाई सुखमय बनाउने प्रयास र कलिला अनाथ बालबालिकाको रेखदेख गर्ने पूरै जिम्मा लिएकी छिन– दीक्षा चापागाईंले । जिम्मेवारी त उनी एक्लैले लिएकी हुन् तर हातमा हात राखेर सहयोगमा प्रतिबद्ध दानवीरहरूको पनि कमी छैन । लाजिम्पाटको एक अँध्यारो कोठामा सुरुवाती संघर्षका दिन बिताउँदै गर्दा उनले लैनचौरको फोहरको थुप्रोमा अलपत्र सात वर्षीय अपाङ्ग बालकलाई आफ्नो कोठामा ल्याइन् । उसको रेखदेख गर्नु आफ्नो कर्तव्य सम्झिइन् । अनाथ बालबालिका र असहाय बृद्धबृद्धाहरूको स्याहारसुसारलाई नै आफ्नो जिन्दगीको लक्ष्य बनाउने अठोट त्यहीँबाट आरम्भ भएको हो । यही अठोट पूरा गर्न जीवनका उतारचढाव छिचोल्दै अघि बढिरहिन् । असहायलाई साथ दिएर उनीहरूकै सेवा गर्ने आत्मनिर्णयलाई निरन्तरता दिने क्रममा उनले लाजिम्पाटको अँध्यारो एउटा कोठाबाट महारागञ्जमा तीन कोठा हुँदै हाल धापासीस्थित भवनमा २६ जना अनाथ बालबालिकाकी आमा बनेर सेवा गरिरहेकी छिन् । आफूले जन्म नदिए पनि उनीहरूको जीवनको सहारा बनेकी छिन् । हरेक बालबालिकाको आफ्नै सपना हुन्छ । तिनीहरूको सपना पूरा गरिदिने यो संसारमा उनले आपूm र भगवानबाहेक कोही देख्दिनन् । र, दिन रात उनीहरूकै सेवामा खट्छिन् । उनीहरूको निश्छल मुस्कानमै आफ्नो जीवनको सार्थकता अनुभूति गर्छिन् । उनीले आफ्नो जवानी सेवामै बिताइरहेकी छिन् ।सामान्यतः जागिर खाने र घरजम गर्ने उमेरकी उनी सामान्य नारीभन्दा नितान्त पृथक् जीवन बाँचिरहेकी छिन, परसेवामै रमाइरहेकी छिन् । बस्ने ठाउँ साँघुरो भए पनि उनको मन फराकिलो छ । आफैँले जन्म दिएका सन्तानलाई जतिकै माया, ममता र स्नेह बाँडेकी छिन् उनले । आपूmले हेरचाह गरेका बालबालिका र बृद्धबृद्धा बिरामी भएर ‘ऐया, ऐया !’ भन्दा उनलाई रातभर निद्रा लाग्दैन । उनी एक पल पनि बिरामीको साथ छोड्दिनन् ।

ताप्लेजुङमा जन्मिएकी दीक्षा कम्प्युटर सिक्ने लक्ष्य बोकेर काठमाडौं छिरेकी थिइन् । उनी भन्छिन, ‘म पुतलीसडकको एक इन्स्टिच्युटमा कम्युटर सिक्न जान्थेँ । त्यसबेला आउँदा जाँदा बाटोमा देखिने सडक बालबालिका र बेवारिसेझैँ बाटोमै पल्टिरहेका बृद्धबृद्धाहरू देख्दा आफूसित रहेको पैसाले खानेकुरा किनेर खुवाउने गर्थें । त्यसबेलादेखि नै मैले अनाथ बालबालिका र वृद्धाहरूकै सेवामा जीवन अर्पण गर्ने निणय लिएँ ।’ यो कामको सुरुवात गर्नु त्यति सजिलो त थिएन तैपनि दृढविश्वास र सेवाभाव उनीसँग थियो । उनी विगत कोट्याउँदै भन्छिन, ‘मैलै हार खाइनँ, विविध समस्याका बाबजुद मैले २०५८ सालमा पवित्र सेवा समाजको स्थापना गरेर आफ्नो सम्पूर्ण जीवन यी अनाथ बालबालिका र वृद्धाहरूकै सेवामा समर्पित गर्ने निर्णय गरेँ ।’ ताप्लेजुङको सामान्य परिवारमा जन्मेकी दीक्षाको बाल्यकाल त्यति सहज थिएन । बाबुआमाकी पाँच सन्तानमध्येकी पहिलो सन्तानका रूपमा जन्मिएकी दीक्षाको जीवन संघर्षपूर्ण छ । एसएलसी परीक्षामा उत्कृष्ट भएवापत पाएको २५ सय रूपैयाँ लिएर काठमाडौं आइन् । उनी त्यसै बेलादेखि संघर्ष गर्दागर्दै आजको स्थानसम्म आइपुगेकी हुन् । उनी भन्छिन, ‘विगतमा जति दु.ख भोगे पनि अहिले अनाथ बालबालिका र वृद्धाहरूको मुहारमा आपूmले गरेको प्रयासबाट छाएको मुस्कान देख्दा मलाई आफ्नो कामप्रति गौरव लाग्छ ।’ उनी विगतदेखि वर्तमानसम्मको मूल्यांकन गर्दै भन्छिन्, ‘सुरुमा त यसरी अनाथ बालबालिका र बृद्धबृद्धाहरूलाई आश्रय दिने अठोट गर्दा घरपरिवारले असहमति जनाएका थिए । अहिलेचाहिँ मेरो कामप्रति घरपरिवार सबैको सहयोग छ ।’ उनी हरेक क्षण यिनै बृद्धबृद्धा र बालबालिकालाई बिहान–बेलुका के खान दिने भन्ने विषयमा नै चिन्तित हुन्छिन् । ‘आजसम्म त विभिन्न संस्था र व्यक्तिले दिएको दानबाटै गुजारा चलिरहेको छ । सकेसम्म बाललबालिका र वृद्धाहरूको स्याहारसुसार र खानपानमा कमी हुन दिएकी छैन । ‘हिजो जे भयो आज यिनीहरूलाई राम्रो खान र पढाउन पाए हुन्थ्यो ।’ यसो भनिरहँदा उनीभित्र उनीहरूलाई असल मान्छे बनाउने आत्मविश्वास झल्किरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप