शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

दुई दिन दउरा-सुरुवाल लगाउँदैमा राष्ट्रवादी होइँदैनः सापकोटा

सोमबार, २५ माघ २०७२, ०० : ४८
सोमबार, २५ माघ २०७२

काठमाडौं– ‘आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहको ठुलो योगदान छ । यो मैदान उनले नै बनाइदिएका हुन् । तर, अहिले राजनीतिक दलहरुकै कारण देशको राष्ट्रियतामाथि गम्भीर प्रहार हुन थालेको छ ।’ यो भनाई हो, राप्रपा नेपाल समानान्तर पार्टीका केन्द्रिय सदस्य शम्भुप्रसाद सापकोटा ‘अखण्ड’को ।

पछिल्लो समय राष्ट्रियतामाथि देश र बाहिरबाट निरन्तर प्रहार भएको भन्दै चिन्तित सापकोटा राष्ट्रियताको रक्षाका लागि सबै देशभक्त नेपालीहरु एकजुट हुनुपर्नेमा जोड दिन्छन् । देशमा व्याप्त समस्या समाधान गर्न ढिलाई गर्न नहुने भन्दै उनी त्यसका लागि राष्ट्रिय पुर्नएकीकरणको आवश्यकता रहेको समेत तर्क गर्छन् ।

नेपालको राष्ट्रियतामा प्रहारमात्रै होइन देशको नक्सा समेत खिचिएको भन्दै उनी अब देशको माटोको रक्षाको लागि सम्पूर्ण स्वाभिमानी नेपाली जुट्नुपर्ने बेला आएको औंल्याउँछन् । ‘देशको नक्सा खिचिएको छ, यस्तो अवस्थामा हामी बीर स्वामिमानी नेपाली लाचार भएर बस्न हुँदैन, यसका लागि हिमाल, पहाड तराईबसी सबै मिलेर राष्ट्रवादी आन्दोलनमा सरिक हुन जरुरी छ’ उनी भन्छन् ।

स्वाभिमानी आन्दोलनको लागि अरुले चासो नदिए आफ्नो पार्टी र पार्टी नेतृत्वको मोर्चा राष्ट्रिय जनसंघर्ष मोर्चाले अगुवाई गर्ने उनी बताउँछन् ।

मोर्चामार्फत आफूहरुले दुई चरमा राष्ट्रियताका लागि आन्दोलन गरिसकेको बताउँदै उनले अब फेरि फागुन ७ पछि सशक्त आन्दोलनमा होमिने जानकारी दिए । यद्यपी सो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुने तर सोहि आन्दोलनबाट नेपाल पुर्नएकीकरणको लागि माहौल सिर्जना गर्दै जाने उनको दाबी छ ।

उनी अगाडि भन्छन्, ‘पृथ्वी नारायण शाहले नेपालको एकीकरण त गरे, तर त्यसपछिका विकसित घटनाक्रमहरु जस्तैः राणा शासन, पञ्चायन, बहुदल, शाहीकाल हुँदै देश गणतन्त्रसम्म आइपुग्दा फेरि भद्रगोल र लथालिंगको अवस्थामा छ, यो अवस्थालाई एउटा ट्रयाकमा ल्याउन नेपाल पुर्नएकीकरणको आवश्यकता छ ।’

पुनःएकीकरण अभियानमा युवाको सहभागिता हुनुपर्नेमा पनि सापकोटा जोड दिन्छन् । ‘युवा सहभागितामै देश विकास सम्भव छ,’ उनी थप्छन्, ‘अबको पुर्नएकीकरण अभियानमा १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका युवाहरुको सक्रिय सहभागिता हुनुपर्छ, त्यो माथिका उमेर समुहकाले भने अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्छ ।’

दउरा सुरुवाल लगाउँदैमा राष्ट्रवादी भइँदैन

सापकोटाले अहिले सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने नेताहरुले चर्को राष्ट्रियताको कुरा गरेपनि उनीहरुको अभियक्तिलाई खोक्रो राष्ट्रियताको संज्ञा दिए ।

पछिल्लो दिनमा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रियताको पक्षमा बोल्दै आएपनि त्यसको कुनै तुक नभएको उनको दाबी छ ।

उनी भन्छन्, बाहिर हेर्दा ओलीजी प्रचण्डजीहरुले निकै राष्ट्रियताको कुरा गर्नुभएको छ , तर त्यो वास्तवमा खोक्रो राष्ट्रियता हो ।’ सरकारमा रहुन्जेल र जनताको समर्थन बटुल्नमात्रै उनीहरुले आफूूलाई राष्ट्रवादीको रुपमा उभ्याएको उनको आरोप छ । उनी भन्छन्, ‘दुई दिन दउरा सुरुवाल लगाउँदैमा राष्ट्रवादी भइँदैन ।’

बाहिर देख्दा राष्ट्रवादी जस्तो देखिने तर भित्रभित्रै विदेशीहरुसँग हिमचिम बढाएर देशकै विरुद्व लाग्ने काम कतिपय जिम्मेवार नेताबाटै भएको समेत उनको दाबी थियो । देशको माटोमा जन्मे हुर्केको पार्टी कुनै पनि नभएको समेत उनको दाबी छ ।

अहिले अस्तित्वमा रहेको कांग्रेस एमाले, माओवादी राप्रपा नेपाललगायत विदेशीको इशारामा चलेको पार्टी भएको उनको दाबी छ । बरु ति पार्टीहरु भन्दा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द र माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य बढी राष्ट्रवादी रहेको उनको तर्क छ ।

‘विप्लव र वैद्यजीहरु अहिलेसम्म केहि हदसम्म राष्ट्रवादी नै हुन् , उहाँहरुले राष्ट्रियताको पक्षमा खुलेर आफ्नो कुराहरु राख्दै पनि आउनुभएको छ’, उनको भनाई छ ।

अपूरो संविधान

संविधानसभाबाट संविधान जारी भएपनि त्यो संविधान अपूरो र सबै नेपाली जनताको भावना समेट्ने खालको नभएको उनले बताए ।

‘ संविधानसभाले आठ वर्ष लगाएर भएपनि संविधान त जारी गर्यो तर जनताको चाहना र आवश्यकताअनुसार निर्माण हुन सकेन’, उनले थपे, ‘तराई मधेसमा चलिरहेको आन्दोलन ले नै त्यसको पुष्टि गर्छ, जनताको चाहना र भावनाविपरित बनेको संविधानको औचित्य छैन ।’

जनताले ‘जनसंविधान’ चाहेको तर संविधानमात्रै आएको भन्दै जनता आफूले चाहेजस्तो संविधान निर्माणका लागि एक ठाउँमा भेला हुनु आवश्यक रहेको उनले तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप