सडकबाट : पैदलयात्री भन्छन्– ज्यान जोगाउनै मुश्किल भो !
कमला रोका, विद्यार्थी, थापाथली दिनमा ६/७ पटक जेब्रा क्रसिङबाट बाटो काट्छु । बिहान कलेज जान्छु । थापाथलीबाट पाटनसम्मको कलेजको बाटोमा ३ पटक जेब्राक्रसिङ पर्छ । कहिलेकाहीँ भनेको छुट्टै कुरा हो, नत्र सकेसम्म जेब्रा क्रसिङ भएरै बाटो काट्छु । नियममा हिँड्न मजा लाग्छ । नियम जेमा जसलाई पनि लागू हुने कुरा हो । एकहोरो त रोटी पनि पाक्दैन । हामी सडक यात्रुले मात्र सडक नियम पालना गरिरहँदा सडकमा गुड्ने गाडीहरूले असाध्यै पेल्छन् । बिहान कलेज जाँदा त बाटामा त्यती गाडीका चाप हुँदैन । बाटो काट्न धेरै मुस्किल हुँदैन तर कलेजबाट फर्किंदा गाह्रो पर्छ । मान्छेहरूका भीड उत्तिकै हुन्छ । सडकपेटीमा मान्छेले धकेलाधकेल गर्छन् । बाटो काट्दा गाडीहरूले मान्छे मरे नि मरुन्झैं गरी पेलेर आउँछन् । नियममै हिँडन पनि डर लाग्छ । कलेज पढ्ने केटाहरू झन् मात्तिएर बाइक चलाउँछन् । बाटो सबैको साझा हो नि । सबैले सहजै हिँडन पाउनुपर्ने अधिकार छ । तर हाम्रो देशमा बलियाहरूले कमजोर माथि राज गर्छन् । सडक त एउटा सानो उदाहरण मात्र हो । सबैले आ–आफ्नो तर्फबाट इमानदारिताका साथ नियम पालना गर्ने हो भने यस्ता झिनामसिना समस्या पार लाग्छन् । यसतर्फ सवारीचालकहरूको ध्यान जाओस् । ताकि हामी सडकयात्रुहरूले ढुक्क भएर सडकमा हिँड्न पाइयोस् ।
राजेश श्रेष्ठ, सिभिल इन्जिनियर, सानेपा दिनमा ४/५ पटक जेब्रा क्रसिङबाट बाटो काट्छु । सानेपा ओरालोबाट पुल्चोकस्थित अफिस आउँदा बाटो काट्दै आउनुपर्छ । अफिस टाइममा बाटो खचाखच हुन्छ । गाडीहरूको चाप पनि उस्तै, बाटो काट्नै हम्मेहम्मे परिरहेको हुन्छ । ठूला गाडीहरूले बाटोमा एकदमै पेल्छन् । जेब्रा क्रसिङमा पनि हात दिएर गाडीको गति रोक्नुपर्छ । जेब्रा क्रसिङको अर्थ नै भएन नि । कोही त हात दिँदादिँदै पनि अटेर गरेर गाडी हुँइक्याउँछन् । आफू उम्किन पाए भयो सडक यात्रुको मतलब गर्दैैैैैनन् । फेरि सबै सवारी चालकहरूलाई एउटै टोकरीमा हाल्न मिल्दैन । कोही त राम्रा पनि छन् । जेब्रा क्रसिङतिर परैबाट गाडीको गति कम गर्दै ल्याउँछन् । बाटो काट्न सहज बनाइदिन्छन् । नत्र अधिकांश सवारीहरूले सडकयात्रुलाई पेलेरै गाडी चलाइरहेका हुन्छन् । कति पटक त बाटो काट्दा गाडीहरूले सानातिना ठक्कर दिएर भागेका पनि छन् । त्यस्तो अवस्थामा अकमक्क परेर आफ्नो बाटो लाग्नुको विकल्प पनि छैन । माइक्रो भ्यानहरूले धेरै नै पेल्छन् । हतार सबैलाई हुन्छ, मिलाएर सडक व्यवस्थित बनाउनु हामी सबैको कर्तव्य हो । नबुझकेको कसैले पनि छैन । बुझ पचाउनु समस्याको मूल कारण हो । अब निदाएको अभिनय गर्नेलाई कसरी तह लगाउनु त ? जेब्रा क्रसिङमा नियम मिच्दै सडक यात्रुलाई हेप्ने प्रवृत्ति रोकिनुपर्यो । यसतर्फ ट्राफिक प्रहरीहरू पनि गम्भीर हुनु आवश्यक छ जस्तो लाग्छ ।
बिना गुरुङ, अस्पताल कर्मचारी, कुसुन्ती घर–अस्पताल हिँडेर आउजाउ गर्ने गरेकी छु । बाटोमा लगभग ५ वटा जति जेब्रा क्रसिङ पर्छन् । नियमले मान्छेलाई अनुशासित बनाउँछ । नियम चाहे ठूलो होस् या सानो । सडकमा पनि नियममै हिँड्छु । तर सबैले यस्तो गर्दैनन् । ठूला गाडीहरूले त्यति सडक नियम पालना गरेको देख्दिनँ म त । जेब्रा क्रसिङमा पनि तीव्र गतिमा सवारी हाँकेर ल्याउँछन् । कति सवारी चालकहरू त एक हातले मोबाइल अर्को हातले सवारी हाँक्ने धूनमा जेब्रा क्रसिङमा गति कम गर्नै बिर्सिन्छन् । काट्दा–काट्दैको बाटो फर्केर पाइला उल्टाउनुपर्छ । हस्पिटल पुग्न हतार भैरहेको हुन्छ । कहिले त ज्यानै जोखिममा हालेर बाटो काटिन्छ । फेरी सडक पनि त्यति व्यवस्थित छैनन् । हरेक जेब्रा क्रसिङमा ट्राफिक खटाउनुपर्ने हो नि, तर हुँदैनन् । ट्राफिक नदेखेपछि सवारीहरूले हामीलाई बढी पेल्न खोज्छन् । कतै ट्राफिक लाइटको व्यवस्था पनि छैन । अनि किन अटेरी नगरुन् त ? अफिस टाइममा त जेब्रा क्रसिङका लागि हुलै बाँधेर सडकमा निकैबेर उभिरहनुपर्छ । सवारी चाप बढेर होला, ट्राफिक पनि यात्रुलाई अड्काएर पहिले सवारी उम्काउनमै व्यस्त हुन्छन् । कतिपटक त हामी आफैँले ट्राफिकलाई चर्को दवाब दिएर बाटो काटेका छौँ । यसरी नै चलिरहेको छ । तनाव लाग्छ पैदल यात्रा गर्न ।
प्रस्तुति : फातिमा बानु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण