शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत भ्रमणमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीलाई सुझाव

शनिबार, ०१ फागुन २०७२, ०९ : ३६
शनिबार, ०१ फागुन २०७२

काठमाडौँ - व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रिय हितका विषयलाई नै प्रमुख प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी नेताले अघोषित नाकाबन्दी केही दिन अगाडि मात्रै खुलेको र दुई मुलुकबीचको सम्बन्धमा केही असहजता देखिएको सन्दर्भमा राष्ट्रिय हित र चासोका विषय नै प्रमुख कार्यसूची हुनुपर्नेमा जोड दिएका थिए ।

सरकारले बिहीबार मात्रै फागुन ७ गतेदेखि प्रधानमन्त्रीले भारत भ्रमण गर्ने निर्णय गरेको थियो । दुई मुलुकको सम्बन्धलाई नयाँ आधारमा परिभाषित गरेर अगाडि जानुपर्नेमा जोड दिँदै सहभागी नेताले राष्ट्र हितविपरीतका कुनै पनि सन्धि तथा सम्झौता नगर्न सुझाव दिए ।

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले विभिन्न चरणमा छलफल गर्दै आएका छन् । यसअघि पूर्वप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र परराष्ट्र सचिवसँग छलफल गर्नुभएको थियो । संविधानसभाबाट गत असोज ३ गते नेपालको संविधान घोषणा भएपछि तराई–मधेसमा मधेसकेन्द्रित दलले आन्दोलन सुरु गर्नु र भारतको अघोषित नाकाबन्दीले मुलुकको जनजीवन नराम्ररी प्रभावित भएका सन्दर्भमा दुई मुलुकको सम्बन्धलाई सामान्यीकरण गरेर जाने विषय नै प्रमुख कार्यसूची हुनुपर्ने बैठकमा सहभागी नेताको धारणा थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले भारत भ्रमण राष्ट्रहितलाई केन्द्रमा राखेर सन्धि सुधारमा केन्द्रित हुनुपर्नेमा आफूहरुले जोड दिएको जानकारी दिए । उनले भने– “प्रधानमन्त्रीले ठोस एजेन्डा केही पनि प्रस्तुत गर्नुभएन, भ्रमणका सम्बन्धमा सुझाव दिन आग्रह गर्नुभयो, हामीले आफ्ना सुझाव दियौँ, त्यसमा विशेष गरी सम्बन्ध सुधारको विषय नै प्रमुख रहनुपर्छ भन्ने रह्यो ।”

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले प्रधानमन्त्रीले भारतको सद्भावना भ्रमण गर्न लाग्नुभएकाले सम्बन्ध सुधार गर्ने र सामान्यीकरण गर्ने विषय नै प्रमुख हुनुपर्नेमा बैठकमा सहभागी नेताले जोड दिनुभएको जानकारी दिए । उनले भने– “भ्रमणका क्रममा कुनै पनि सहमति तथा सम्झौता हुँदैन, दुई मुलुकका बीचमा देखिएको असहजतालाई नै हटाउनेतर्फ केन्द्रित रहन्छ, सबैको सुझावका आधारमा अगाडि बढ्ने भन्ने छ ।” फागुन ४ गते बस्ने व्यवस्थापिका–संसद्को बैठकमा भारत भ्रमणको विषयमा समेत छलफल हुने र साझा कार्यसूची तयार गरिने उनको भनाइ छ ।

एकीकृत नेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले भारत भ्रमणका क्रममा सबै पक्षलाई विश्वासमा लिनु आवश्यक रहेको बताए । उनले संसद्मा रहेका दल तथा बाहिर रहेका दललाई समेत विश्वासमा लिएर सहमतिका आधारमा अगाडि बढ्न बैठकमा सहभागी दलका नेताले प्रधानमन्त्रीलाई सुझाव दिएको जानकारी दिए ।

राप्रपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भ्रमण फलदायी बनाउन र सम्बन्ध सुधारमा नै केन्द्रित हुनुपर्ने सुझाव दिइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप