बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सडकबाट :  साइकल यात्री

शुक्रबार, ०७ फागुन २०७२, १५ : १८
शुक्रबार, ०७ फागुन २०७२

निशा राई, पत्रकार, ललितपुर म बीबीसीमा काम गर्छु । भारतले अघोषित नाकाबन्दी गर्नबित्तिकै कार्यालयले मलगायत बीबीसीमा काम गर्ने सबै कर्मचारीलाई साइकल व्यवस्था गरिदियो । हामी पत्रकार मान्छे, जानुपर्ने ठाउँमा भनेको समयमा पुगिएन भने काम बन्दैन । साइकल नभएको भए नाकाबन्दीका कारण मैले जागिर गुमाउनुपथ्र्यो । यही समस्या दृष्टिगत गर्दै कार्यालयले हामीलाई साइकल उपलब्ध गराएको थियो । म पहिले–पहिले साइकलमा हिँड्दिनथें । रहर पूरा गर्न कहिलेकाहीं साथीभाइको साइकल चढ्नु छुट्टै कुरा हो । हिजोआज मलाई साइकल चढ्न रमाइलो लाग्न थालेको छ । जहाँ, जता गए पनि आफ्नै खुसीले भनेकै समयमा जान पाइन्छ । साइकलले गर्दा मलाई नाकाबन्दीको खासै असर परेन । घन्टौं सवारीसाधन कुरेर गुन्द्रुकझैं कोचिएर यात्रा गर्नुपरेको छैन । निजी सवारीसाधन हुनेलाई इन्धनको तनाव झन् चर्को छ । साइकलयात्रीले त्यस्तो तनाव लिन परेन । हाइसन्चो छ । हिजोआज साइकलमा आवत–जावत गर्ने सवारीसाधनमात्रै नभएर दुःखमा साथ दिने साथीजस्तै लाग्छ । हिजोआज कार्यालयीय कामका लागि मात्र नभएर, जतासुकै जाँदा पनि साइकलमै हिँड्ने गरेकी छु । देख्नेले जिब्रो पड्काएर जिस्क्याउँछन् । रिस उठ्छ । ठूला सवारीसाधनले साइकललाई बाटो दिन कन्जुस्याइँ गर्छन् । झुक्याउन खोज्छन् । म त झन् विश्वस्त भएर साइकल चलाउँछु ।

राजु पाण्डे, कर्मचारी, बखुन्डोल साइकलमा यात्रा गर्न थालेको २५ वर्ष भइसकेको छ । त्यतिखेर साइकल हुनु भनेको अहिले गाडी हुनुजत्तिकै मानिन्थ्यो । म सानैमा सरकारी जागिरे भएँ । कार्यालय जान, फर्कन निजी सवारीसाधन नहुँदा निकै अप्ठ्यारो थियो । त्यसपछि ऋणपान गरेर साइकल किनेको हुँ । अलि–अलि पैसा कमाइए पनि अन्य साधन किन्न मन लागेन । साइकलको माया लागेर साइकल छाड्नै सकिनँ । श्रीमतीले मात्रै होइन, छोराछोरीले समेत मोटरसाइकल किन्न कर–कर गरे पनि साइकल माया मार्न सकिनँ । कार्यालयबाहेक नजिक–नजिक साइकलमै जान्छु । साइकल जीवनका सुख–दुःखका साथीजस्तै लाग्छ । मैले अहिलेसम्म ६ साइकल किनिसकें । काम नलाग्ने भएपछि फाल्नुपर्दा मन कटक्कै खान्छ । त्यतिमात्रै होइन, आफन्त गुमाएझैं लाग्छ । नयाँ साइकल किनेको कैयौं दिनसम्म दुःखी हुन्थें । नयाँमा रत्तिन थालेपछि पुरानो साइकल भुल्दै जान्थें । साइकलमा यात्रा गर्न कठिन छ । गर्मी मौसममा साइकल चढेर कार्यालय पुग्दा पसिनाले निथ्रुक्कै भिजिन्छ । सडकमा ठूला सवारीसाधनको हेपाहा प्रवृत्तिले हैरान पार्छ । ती सवारीसाधनले साइकलयात्रीलाई पेल्दा दुःख नलाग्ने कुरै भएन ।

श्याम खड्का, विद्यार्थी, दोलखा मैले साइकल चढ्न थालेको लगभग १२ वर्ष भयो । पढ्दै जागिर खान दोलखाबाट काठमाडौं आएको हुँ । काठमाडौंमा दिनहुँ हिँडडुल गरिरहनुपर्छ । सार्वजनिक सवारीसाधनमा हिँड्न सामान्य खर्चले पुग्दैन । आफ्नो कमाइले मोटरसाइकल किन्न सक्दिनँ । त्यसैले साइकलको भर परेको छु । बाल्यकालदेखि नै मलाई साइकल चढ्न मन पथ्र्यो । गाउँमा छँदा साइकल थिएन । साथीभाइ र काकाहरूका साइकल लिएर घन्टौं बाहिर जान्थें । रहर पूरा गर्न र सवारीसाधनको विकल्पस्वरूप साइकलमा यात्रा गर्नु फरक कुरा हुन् । साइकल अन्य सवारीसाधन हाँकेजस्तो हुँदैन । साइकल चलाउन तागत पनि चाहिन्छ । भोक लाग्दा वा बिरामी परेको बेला साइकल चलाउन सकिँदैन । दुब्लो मान्छेले दिनहुँ साइकल चलाउँदा झन्झन् दुब्लाउँछ । खाएकोसमेत लाग्दैन । शक्तिजति साइकल चलाएरै सकिन्छ । थकान पनि त्यत्तिकै लाग्छ । शक्ति दिने खानेकुरा नखाएको दिन म राम्ररी साइकल हाँक्नै सक्दिनँ । पानी पनि टन्नै पिउनुपर्छ । नत्र अनेक किसिमका दुखाइ सुरु हुन्छ ।

प्रस्तुति ः फातिमा बानु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप