बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भारत जाँदा मन हुँदाहुँदै पनि बोल्न पाएनन् प्रधानमन्त्री

शुक्रबार, ०७ फागुन २०७२, १६ : ०१
शुक्रबार, ०७ फागुन २०७२

काठमाडौं– ६ दिने भ्रमणका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली आज भारत प्रस्थान गरेका छन् । भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीले सञ्चारकर्मीमार्फत केहि बोल्ने चाहना राखेपनि बोल्न पाएनन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारका लागि कुनै ब्रिफ नै नगरिकन विमानतर्फ लम्किँदै गरेका ओलीले अघि बढ्दाबढ्दै केहि प्रश्न भए राख्न भनेपनि सञ्चारकर्मीले कुनै प्रश्न राखेनन् । पत्रकारले केहि प्रश्न राख्लान् र बोलौला भन्ने योजना बनाएका प्रधानमन्त्रीले कुनै प्रश्न नआएपनि तीन पटक सम्म प्रश्न राख्न आग्रह गरेका थिए । तर, पत्रकारले कुनै प्रश्न नै नराखेपछि ‘केहि प्रश्न नभए ठीकै छ’ भन्दै विमानतर्फ अघि बढेका थिए । ओली भारत प्रस्थान गर्नुअघि नेपाली सेनाको एक टुकुडीले सलामी अर्पण गरेको थियो भने विदाईका लागि सभामुख ओनसरी घर्तीलगायतका अधिकारी विमानस्थल पुगेका थिए । ओली ४६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् ।

यस्तो छ ओलीको भारत भ्रमण तालिका प्रधानमन्त्री ओली भारत पुगेसँगै आज भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्ने स्वागत कार्यक्रममा सरिक हुनेछन् । यस्तै प्रधानमन्त्री ओली फागुन ८ गते राष्ट्रपति भवनमा हुने विशेष स्वागत समारोहमा सरिक हुनेछन् र उनले सेनाको सलामीको निरीक्षण गर्नेछन् । त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धान्जलि अर्पण गर्नेछन्। सोही दिन प्रधानमन्त्री ओलीले हैदरावाद भवनमा भारतीय प्रधानमन्त्रीसँग आपसी हितका विषयहरुमा औपचारिक बैठक गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग भेटवार्ता गर्नेछन् । यस्तै भारत सरकारका केही वरिष्ठ सदस्यहरुले पनि प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नेछन् । ओलीले सप्रु भवनमा आयोजना हुने भारतीय विश्व सम्बन्ध परिषद्का साथसाथै भारतीय व्यापारिक समुदायको एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् । प्रमुख भारतीय सञ्चार माध्यम र नेपाली समुदायसँगको एउटा अन्तक्र्रिया कार्यक्रममा पनि उनी सहभागी हुनेछन्। प्रधानमन्त्री ओलीले उत्तराखण्डको तेहरी जलस्रोत परियोजनाको पनि निरीक्षण गर्नेछन्। त्यसैगरी, उनले गुजरातको भुज पुगेर त्यहाँ भूकम्पपछि थालिएको पुनःनिर्माणका कार्यहरुबारे जानकारी लिनेछन् । उनले महाराष्ट्र राज्य मुम्बईका प्रतिष्ठित व्यापारीहरुसँग पनि भेटघाट गर्नेछन् । उनको फागुन १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । भारतमा रहँदा उनी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा राजकीय पाहुनाका रुपमा बस्नेछन् ।

को को छन् भ्रमण टोलीमा ?

प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य छिन् । यस्तै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल पनि टोलीमा छन् ।

यसैगरी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापिका–संसद्का सदस्यहरु, नेपाल सरकारका मुख्यसचिव र सचिवहरु तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधिहरु पनि भ्रमण दलमा रहेका छन् । दुई जनाद्वारा नाम फिर्ता यसैबीच भ्रमण दलमा रहेका दुई जनाले भ्रमण टोलीबाट आफ्नो नाम फिर्ता लिएका छन् । नाम फिर्ता लिनेहरुमा संघीय समाजवादी फोरम नेपालका सांसद डा सिबजी यादव र नेपाल सद्भावना पार्टीका सांसद डिप्पल झा रहेका छन् । उनीहरुले आफूहरु मधेस आन्दोलनमा व्यस्त रहनु परेकाले नाम फिर्ता लिएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप