सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिनावारीसम्बन्धी स्टाफ नर्सको संघर्ष

शुक्रबार, ०५ चैत २०७२, १३ : १८
शुक्रबार, ०५ चैत २०७२

सबैलाई नमस्कार । म आज यहाँहरूसमक्ष बोल्ने मौका पाएकीमा ज्यादै खुसी छु । यो सुनौलो अवसर जुटाइदिने मार्टिन चौतारी र कर्णाली–२०२० लाई विशेष धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु ।

आज यहाँ मैले महिलाको महिनावारीे विषयमा बोल्न लागेकी छु । जुन कुरा मेरो आफ्नै भोगाइदेखि देखेका, सुनेका र अध्ययन अनुसन्धानमा आधारित रहेका छन् । महिलाले महिनावारी हुँदा झेल्नुपर्ने विभिन्न समस्याबारे यहाँ चर्चा गरिनेछ ।

खासगरी महिनावारी भनेको के हो ? यसको ऐतिहासिक पृष्ठभूमि के छ ? अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा यसको के–कस्तो अभ्यास छ भन्ने विषयमाथि आजको प्रस्तुतीकरणमा प्रकाश पारिनेछ ।

महिलाको पाठेघर जहाँ बच्चा बन्ने गर्छ, बच्चा हुने अवस्था नरहेको बेला त्यो भाग फुटेर रगत निस्कने गर्छ । जसलाई नेपाली भाषामा महिनावारी भनिन्छ । यो एकदमै शुद्ध रगत हो । एचआईभीलगायत अन्य कुनै यौनरोग नलागेको अवस्थामा र शरीरभित्र रहँदासम्म यो रगत शुद्ध मानिन्छ । बाहिर निस्केपछि धूलो र फोहोर कपडाका कारणमात्र दुषित हुन पुग्छ । १२ देखि ४५ वर्षका महिलालाई महिनावारी हुने गर्छ । महिनामा सामान्यतया पाँचदेखि सात दिनसम्म रगत बग्ने गर्छ । जसलाई सामान्य मान्न सकिन्छ । महिनावारीका विषयलाई लिएर थुप्रै भनाइ, विचार र सिद्धान्त आएका छन् । नेपालको हकमा हेर्ने हो भने महिनावारीको विषयमा आजसम्म कुनै ठूलो अध्ययन अनुसन्धान भने गरिएको छैन । पीएचडी गरेका कुनै–कुनै विद्यार्थीले भने विशेषगरी छाउपडीप्रथालाई लिएर सानातिना थेसिस गरेको भेटिएको छ । कुनै–कुनै एनजीओले पनि सानातिना अध्ययन गरेका छन् । गुणात्मक हिसाबले भने यस विषयमा कसैले पनि कुनै सर्वेक्षण या अध्ययन गरेको भेटिएको छैन ।

महिनावारीबारे इतिहास के भन्छ ? प्राचीनकालदेखि नै हेर्ने हो भने महिनावारी हुँदा बग्ने रगतलाई फोहोर, दूषित, अशुद्ध र रोगसँग जोडेर हेरिने गरिन्थ्यो । कसैले महिनावारी हुँदा यौनसम्पर्क नै गर्नुहुन्न पनि भनेका छन् भने कसैले शरीरभित्रको फोहोर रगत बगेको हो भनेर पनि व्याख्या गरेका छन् । पछि मेडिकल साइन्सले महिनावारी हुनु भनेको शरीरभित्रको मेनोटक्सिन निस्कने प्रक्रियामात्र हो फोहोर, अशुद्ध त्यस्तो केही होइन भनी व्याख्या गर्यो । सन् १९३० भन्दा अगाडि त पाठेघरको कामबारे कुरै गरिएको थिएन । त्यतिबेला समाजशास्त्र, मानवशास्त्र या मेडिकल साइन्सले पनि महिलाको शरीरलाई अध्ययनको विषय नै बनाएनन् । पुरुषका शरीरबारे मात्र अध्ययन अनुसन्धानका विषय बने । सन् १९२० मा मेडिकल साइन्सले महिलाको शरीर र महिनावारीका विषयमा पहिलोपटक एउटा किताब निकालेको थियो । जसमा महिलाको महिनावारीका विषयमा सामान्य जानकारीमात्र थियो । पछि सेनेटरी प्याड, नेप्किन प्रयोगमा आउन थालेपछि मेडिकल साइन्सले महिला, पाठेघरको काम र शरीरभित्र हार्मोनका भूमिकाबारे अध्ययन गरिन थाल्यो । प्राचीन समयमा युरोप, अमेरिका र अस्ट्रेलियाका ४० देशमा महिनावारीबारे जुनखालको अभ्यास गरिन्थ्यो त्यो आज बल्ल हाम्रो देशमा अभ्यास गर्ने सुरुवात गरिएको छ । महिनावारी भएका महिलामाथि हुने गरेको घटनाका विषयमा आधारित रहेर एक अनुसन्धान गरिएको छ । त्यस्तै महिनावारी बारिने कारणले गर्दा के–कस्ता घटना भए भन्नेबारे लेखिएको किताबमा के भनिएको छ भने नेपालका २१ जिल्लामा छाउपडीप्रथा कायम छ । मानवअधिकारको दृष्टिकोणबाट हेर्ने हो भने महिनावारी बार्ने चलनले गर्दा महिला उपस्थित हुने हरेक क्षेत्र प्रभावित हुने गरेका छन् । जसमा विशेषगरी स्कुल, कलेज र कार्यालय पर्छन् । त्यस्ता ठाउँमा सफा पानी, शौचालय र साबुने व्यवस्था नहुँदा महिलाको स्वास्थ्यमा प्रतिकूल असर परेको पाइएको छ । नेपालको संविधानमा पनि महिलाको स्वास्थ्यबारे स्पष्ट भनिएको छ । लैंगिक हिसाबले भेदभाव गर्न पाइँदैन भनिएको छ भने धारा १६ ले गौरवको कुरा गरेको छ, धारा १७ ले हिँडडुल गर्न पाइन्छ भनेर व्याख्या गरेको छ । त्यस्तै धारा २४ ले छुवाछूतबारे कुरा गरेको छ भने धारा २९ ले शोषणका विषयमा, धारा ३० ले स्वास्थ्यबारे त्यस्तै धारा ३५ ले महिनावारी हुँदा राम्रो आवास व्यवस्था हुनुपर्छ भनेको छ । धारा ३८ मा भने समानताको हकबारे बताइएको छ । अहिलेको संविधानले प्रस्ट रूपमा महिलाको स्वास्थ्यबारे भनेको छ । अहिले भर्खरै जेनेभामा विद्यार्थीले महिलाको महिनावारीबारे एउटा अन्तर्राष्ट्रिय रिपोर्ट बनाएका छन्, नेपालको तर्पmबाट पनि रिपोर्ट बुझाइयो । जसको बुँदा नम्बर ३५ र १९७ मा नेपालमा हुने छाउपडीप्रथाको कुरा गरिएको छ । यस्तो प्रथालाई हानिकारक प्रचलन भनेर व्याख्या गरिएको छ ।

नेपालमा महिनावारी बारिने चलन नेपालका विभिन्न समुदायमा अहिले पनि महिनावारी बारिने चलन रहेको छ । नेपालमा मात्र होइन, विश्वमा नेपाली जहाँ–जहाँ छरिएर बसेका छन्, त्यहाँ उनीहरूले महिनावारी बारेको पाइएको छ । तरिका फरक–फरक होलान् तर बार्नलाई जता पनि बार्छन् । कसैले थोरै कसैले धेरै गरेका होलान् तर बार्छन् । कतिपय ठाउँमा महिनावारी हुँदा खानेकुरा पनि बारेको पाइएको छ । माछा, मासु र फलफूल, दूधदेखि लिएर यसबाट बन्ने परिकार नखाने गर्छन् । त्यस्तै सागसब्जी र भगवान्लाई चढाएको प्रसाद पनि खाँदैनन् । घरको जग छुँदैनन् र यौनसम्पर्कबाट टाढै बस्छन् । कर्णालीतिर त महिनावारी हुँदा खाना पनि खान हुँदैन भन्दारहेछन् । तराईतिर भने अचार र अमिलो परिकार नखाने र छुँदै नछुने पनि गर्दा रहेछन् । त्यस्तै महिनावारी हुँदा छुन हुने र नहुने कुरामा लोग्नेमान्छे, शिशु, बोटविरुवा र कुनै पनि धार्मिक किताब छुँदैनन् । कतिपय हकमा त किताब सरस्वतीको रूप हो भनेर सामान्य किताब र कार्यालयमा प्रयोग हुने रजिस्टर पनि छुँदैनन् । छिर्न नै नहुने ठाउँमा चाहिँ कुनै मठमन्दिरदेखि कुनै पनि सामाजिक, सांस्कृतिक, भेला समारोह र चाडबाड मनाइरहेका ठाउँ रहेछन् । त्यस्तै घरभित्रै नछिर्ने, भान्सामा नजाने गरेको त हामीमध्ये सबैले देखेभोगेकै कुरा हो । सरसर्ती हेर्दा कर्णालीमा के छ भने हिजोआज छाउपडीप्रथा नभनेर छुइप्रथा भन्दारहेछन् । जुन अहिले पनि अभ्यासमा छ । त्यहाँ ९५ प्रतिशत घरमा छुइप्रथा अभ्यास गर्छन् ।

महिनावारीमा कस्तो हुन्छ महिलाको प्रकृति ? हामीले गरेको अध्ययनअनुसार महिनावारी भएका ८२ प्रतिशत महिलालाई आत्महत्या गर्ने मन लाग्ने हुन्छ । कतिलाई म किन केटी भएर जन्मिएँ होला भनेर ग्लानि र हीनताबोध हुने गरेको पाइएको छ । त्यस्तैगरी, महिनावारी हुँदा आमाबुवालगायत घरका अग्रज सदस्यलाई छुन हुँदैन भन्ने चलन छ । त्यस्तै धामी, झाँक्री, पण्डित र धार्मिक गुरुहरूलाई छुँदैनन् । उनीहरूलाई छोएमा देवता चढेर काम्छन् भन्ने अन्धविश्वास रहेछ । कर्णालीमा माओवादीको द्वन्द्वकाल चलिरहँदा महिनावारी नबारेका रहेछन् । पछि भने फेरि बार्न थालेछन् ।

केही राजनीतिक पार्टीले महिनावारी नबार्नुलाई धर्मविरुद्ध हो भनेर पनि व्याख्या गरेको पाइएको छ । मैले देखेका कतिपय गाउँ, जहाँ मन्त्रीले भ्रमण गरेका छन् । त्यस्ता गाउँमा महिनावारी बार्न छाडिसकेकाले पनि मन्त्रीका कुरामा आएर फेरि झन् कट्टर भएर बार्न थालेको भेटिएको छ । कतिपय गाउँमा महिनावारी हुँदा घरभित्र पस्न दिँदैनन् । पाँच दिनसम्म महिलालाई गोठमा रात गुजार्र्नुपरेको हुन्छ । कतिका घरमा भुइँतलामा गोठ बनाइएका हुन्छन् भने कतिपयले घरनजिकै छुट्टै गोठ बनाउँछन् । कतै सहर–बजारमा पाँचतले घर हुँदाहुँदै पनि महिनावारी हुँदा महिला राख्ने भनेर छुट्टै घर बनाउँछन् । जग्गा नहुनेले भने टोलसँग मिलेर सबैका लागि हुनेगरी टोलमा एउटा सानो घर बनाएर महिनावारी भएकी महिलालाई राख्ने गर्छन् । खाना पनि छुट्टै खानुपर्ने र खान, बस्न छुट्टै भाँडाकुँडा प्रयोग गर्नुपर्नेहुन्छ ।

महिनावारी बार्दा को–को समस्यामा ? सामान्यतया महिलाले महिना दिनमा पाँच दिन छुट्टै बस्नुपर्ने हुन्छ । पाँच दिन नभई देउता पुज्न पाइँदैन भने खाना पकाउनसमेत वञ्चित गरिन्छ । शास्त्रमा पनि महिनावारी भएको बेलामा पाँच दिन नबारे इन्द्र भगवान् रिसाउँछन् भनेरै लेखिएको छ । कतै त नौ दिन पनि बारिएको पाइएको छ । महिलाले महिनावारी बार्ने चलन हुँदा पुरुष पनि समस्यामा परेका छन् । महिला बच्चा जन्माएको पाँच महिनापछि महिनावारी हुन्छन् । आमाले महिनावारी बार्दा दूध खाने बच्चासमेत आमासँगै गोठमा सुत्छन् । एक महिनामा पाँच दिनको हिसाब गर्दा वर्षमा दुई महिना त बच्चाले समेत गोठमै सुत्नुपर्ने हुन्छ । कहिले आमा, कहिले श्रीमती, कहिले छोरी त कहिले बुहारीले महिनावारी बार्दा पुरुष पनि समस्यामा परेका हुन्छन् । कहिले त महिला घरमा श्राद्ध परेको दिन महिनावारी हुँदा महिनावारी भइदिन्छन् र सारा कामकाज पुरुषमाथि थोपरिन्छ । यसरी पूरै घर समाज महिनावारी बार्ने चलनले प्रभावित भएको छ ।

महिनावारी बार्दा देखिने परिणाम महिनावारी बार्दा अल्पकालीन र दीर्घकालीन परिणाम के–के हुन सक्छन् भनेर विश्लेषण गर्न सकिन्छ । तुरुन्तै देखिने परिणामभन्दा त यस्तो अवस्थामा महिला कमजोरीजस्ता देखिने, तर्सिने र कसैलाई त आत्महत्या गरौंझंै लाग्ने हुन्छ । महिनावारी हुने दिन नजिक आउँदा उकुसमुकुस भई के गरौं, कता जाउँजस्तो हुने र ढाड तथा कम्मर दुख्ने समस्या आइपर्छ । लामो समयसम्म एउटै कपडा प्रयोग गर्ने, कसैले त चार दिनमा नुहाउँदामात्र कपडा फेर्ने गरेको देखिएको छ । कतै त एउटै कपडा घरका सबै महिलाले प्रयोग गर्ने गरेको पनि भेटिएको छ । त्यस्ता कपडा घाममा राम्ररी नसुकाई प्रयोग गर्नाले पाठेघरसम्बन्धी विभिन्न रोग लागेको देखियो । महिनावारी हुँदा महिलाले गोठमा बस्नुपर्ने हुनाले उनीहरूमाथि घरका साना पुरुषले पनि हेपाहा दृष्टिकोणले हेर्छन् । यस्तो हुँदा महिनावारी हुने महिला स्वयम्को आत्मबल कम हुने, आफूलाई आफ्ना साना भाइभन्दा पनि कमजोर सोच्ने, आत्मविश्वास घट्दै जाने समस्या देखिएका छन् । महिनावारी हुँदा स्कुल नजाने । अथवा स्कुल गए पनि स्कुलमा प्याड, पानी र साबुन व्यवस्था नहुँदा समस्या हुने गरेको छ । त्यस्तै महिनावारी भएको थाहा पाउँदा कक्षामा केटा र पुरुष शिक्षकले समेत जिस्काउने समस्याबाट बच्न महिला स्कुल जाँदैनन् । चाडबाडमा परिवारसँग बस्न नपाउने हुँदा निराश भएकाहरू थुप्रै भेटिए । कतै त गाउँघरमा हुने बैठकमा भाग लिन पनि आउँदैनन् । किन भनेर बुझ्दा हस्ताक्षर गर्ने रजिस्टर छोइन्छ भनेर नआउँदारहेछन् । सामान्यभन्दा सामान्य टोलसुधारका कामका लागि हुने बैठकमा जाने काममा पनि यस्तो चलनले प्रभावित पारेको देखियो । कतिपय ठाउँमा त महिनावारी हुँदा बार्नेक्रममा गोठमा बसिरहेका महिलाको हत्या भएको घटना पनि पाइएको छ । बलात्कार गर्ने उद्देश्यले आउँदा त्यस्ता घटना भएजस्ता देखिन्छन् तर पुष्टि भने भएको छैन । कति गाउँमा त गोठमा बस्दा कार्बोनमोनोअक्साइड धेरै भएर या कोही चिसोले कठ्यांग्रिएर मृत्युको भएको अनुसन्धानले देखाएको छ भने फोहोर गोठमा बसेका कारण गुप्तागंमा इन्फेक्सन भई विभिन्न रोगलगायत बाँझोपन र स्वगर्भपतन भएको पनि भेटियो ।

त्यस्तै महिनावारी हुँदा स्कुल नजाँदा सानो कक्षाको पढाइमा एकदमै राम्रो भएका, कक्षामा पहिलो, दोस्रो हुने पनि पछि वर्षैपिच्छे फेल हुने, जसका कारणले स्कुल जान छाडिदिने अनुसन्धानले देखाएको छ । यस्ता कारणले गर्दा कतै जागिर नपाई आर्थिक अवस्था गिर्ने, यसैलाई कारण बनाएर परिवारले हेप्ने गरेको छ । त्यसैले महिनावारी महिलाको शक्ति, हिंसा न्यायसँग जोडिएको छ । थाहै नपाई मन्द विषका रूपमा फैलिसकेको छ । यसले बिस्तारै द्वन्द्वको रूप पनि लिँदै गएको छ । एक त महिनावारी हुने व्यक्ति आफैंभित्र द्वन्द्व गराइदिएको छ भने अर्को परिवार र समाजभित्र पनि यसले छुट्टैखालको द्वन्द्व ल्याई शान्ति निर्माणमा बाधक बनेको छ । महिनावारी बार्ने चलनका कारण मानवअधिकार हनन गर्नेदेखि लिएर महिला सशक्तीकरणसम्ममा बाधा पुर्याउने गरेको देखिएको छ । गोठमा बस्न जानुपर्दा महिला आफूलाई घरका अरू पुरुषभन्दा कमजोर ठानी आत्मविश्वास गुमाउने अनि पुरुषचाहिँ यस्तै कुरालाई लिएर आफूलाई झन्झन् बलियो र बहादुर ठानी महिला हिंसा गरेको देखिएको छ । महिनावारी बार्ने चलनले घर र समाजमा असमानता फैलाएको छ । जसले सिंगो महिला विकासमै असर पुगेको छ ।

नेपालमा महिनावारी र यसले निम्त्याएका समस्याबारे अध्ययन अनुसन्धान र काम गर्ने थुप्रै संघ–संस्था र निकाय छन् । तर, प्रभावकारी ढंगबाट भने काम गरेको भेटिएको छैन । पहिलो चरणमा महिलाले घरबाटै महिनावारी बार्ने गर्छन् भने कतिपय हकमा धामीझाँक्री, पण्डित र धार्मिक गुरुहरूको दबाबमा आएर यसको अभ्यास गर्छन् । कतिपय समुदायले त देखासिकीकै भरमा पनि महिनावारी बारेको भेटिएको छ ।

महिनावारीले व्यक्तिको शरीर, परिवार र समाजलाई मात्र कहाँ असर गरेको छ र ? यसले त महिलाको मनोविज्ञानमा पनि उत्तिकै नकारात्मक असर पुर्याएको छ । महिनावारी हुँदा घरभित्रै गुम्सिएर बस्ने महिलाले बाहिर र ज्ञानगुनका कुरा सिक्न नपाउँदा, समाजका धार्मिक कुराबारे मात्र ज्ञान हुन्छ । जसले जे गर्दा पनि भगवान् रिसाउलान् कि भनेर डरमात्र पाल्ने मनस्थिति देखिएको छ । कतिपय हकमा महिनावारी हुँदा महिला खुसी भएको पनि देखिएको छ । पाँच दिन भए पनि खाना पकाउनेलगायत घरका अरू कामकाज गर्न नपर्ने, आराम लिन पाइने र गाउँका महिनावारी भएका दिदीबहिनी भेला भएर गफगाफ गर्न पाइन्छ भन्ने कुरा उल्टोबाट बुझेर उनीहरू खुसी हुन्छन् । घरपरिवार र समाजमा कसैले पनि त्यस्तो अभ्यासविरुद्धमा नबोल्ने, महिलाले पनि सानातिना समस्यामात्र हो भनेर चुपचाप सहने कुराले महिनावारी बार्ने चलनले समाज झन्झन् गाँजिदै गइरहेको छ । स्कुलमा पनि महिनावारीबारे राम्ररी पढाएको देखिएको छैन । म आफैंले पनि स्कुल छँदासम्म महिनावारीबारे राम्ररी बुझिनँ । मेरो आफ्नै अनुभवमा भन्नुपर्दा मेरो स्कुलमा ३० वर्षदेखि रहेका प्रिन्सिपलले म महिनावारी बार्न हुँदैन भन्ने विषयमा बोल्दा तैंले धर्मको विरोधमा बोल्दै छस्, राम्रो होइन भनेर गाली गर्थे । गाउँमा महिनावारीकै विषयमा तालिम सञ्चालन गर्दा उहाँ र मबीच झगडा हुन्थ्यो । यसरी शिक्षा दिने मुख्य मानिसका त यस्ता सोच छ भने हामीले अरूबाट के अपेक्षा गर्ने र खै ? समाजलाई अघि बढाउन मिडियाको पनि भूमिका हुन्छ नै तर मिडियाले पनि महिनावारीका विषयमा खासै समाचार र लेख लेखेको भेटिएको छैन । आए पनि कसैले सशक्त ढंगबाट गरेका छैनन् । मानवअधिकार, विकास र शान्तिबारे काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकायले पनि यस विषयमा प्रभावकारी ढंगबाट काम गरेको देखिएको छैन । नीति नियम पनि कार्यान्वयन भएको देखिएको छैन । महिनावारी बार्दा महिलालाई गोठमा राख्नेलाई के गर्ने र कसरी यस्ता समस्या हल गर्ने भन्ने विषयमा स्पष्ट नीति नियम छैन । सामान्य एउटा निर्देशिकामात्रै छ । गोठमा बस्दा महिलामाथि हुने दुव्र्यवहार, बलात्कार र हिंसा नघटी कुनै पनि मुद्दा रिपोर्ट नै हुँदैनन् । सरकारले पनि ऋषिपचञ्मीका दिन सार्वजनिक बिदा नै दिएर यस्ता कुरीतिलाई बढावा दिएको छ । अहिलेसम्म यस विषयमा ठूलो अनुसन्धान नै भएको छैन । डकुमेन्टेसन पनि हुने गरेको छैन । इन्टरनेट साइडमा पनि नेपालको महिनावारीको विषयमा केही खोज्नुपर्यो भने केही भेटिँदैन विदेशका भने थुप्रै भेटिन्छन् ।

महिलासम्बन्धी काम गर्ने नै समस्यामा समस्या त महिला अधिकारकर्मीमा पनि छ । कतिपय यस्ता कार्यालयमा त महिला अधिकारकर्मी कार्यालयको क्यान्टिनमा गएर खाजा खाँदैनन् । कारण सोध्दा त्यहाँ महिनावारी भएका महिला आएर सबै छोइदिएका हुन्छन्, खानुहुँदैन भनेको पनि सुनिएको छ । त्यस्तै स्वास्थ्यकर्मी पनि उस्तै छन् । कतिपय स्वास्थ्यकर्मी त महिनावारी बार्न हुँदैन भनेर तालिम गर्छन्, बेलुका घरमा गएर आफैं महिनावारी बारेको पनि भेटिएका छन् । महिला अधिकारसम्बन्धी काम गर्ने गैरसरकारी निकायमा पनि यस्तै समस्या छ । एउटा निकै चर्चित संस्था जसकोबारेमा नसुनेका धेरै कम होलान् । महिलाका मुद्दामा काम गरेकै कारण अन्तर्राष्ट्रिय पुरस्कार पनि थापिन् । उनीसँग एक दिन कतै जाने मौका मिलेको थियो । त्यतिबेला हामीसँग सभासद्, मिडियाकर्मी र थुप्रै महिला अधिकारकर्मी थिए । मैले महिनावारी बार्ने चलनको विरोधमा बोल्दा तिमी महिलाअधिकारकर्मीले सबै मानिसका अगाडि मेरो आलोचना गरिन् । त्यहाँ हामीबीच केही समय भनाभन भए र सम्बन्ध नै बिग्रनेखालको वातावरण सिर्जना भयो । जो मानवअधिकारका विषयमा बोल्छन् र आफूलाई वरिष्ठको उपनाम दिन्छन्, उनीहरूबाटै यस्तो अभ्यास रोकिएको छैन भने हाम्रो समाज कहिले उकालो लाग्ला त ? समस्या गाउँमा छैन, समस्या त हामी शहरीवासी र शिक्षितमै छ । जसले आजसम्म महिनावारी बार्ने अभ्यास गरिरहेका छन् र खुलेर विरोध गर्न डराइरहेका छन् । गाउँमा कतिपय यस्ता पनि भेटिन्छन्, जो महिनावारी बार्नेको विरोधमा बोलिरहेका हुन्छन् । समाजबाट यस्ता कुरीति हटाउन आफ्नो कदम अघिसारेका छन् । त्यस्ता व्यक्ति मिडियाको पहुँचबाट टाढा छन् । उनीहरूलाई अगाडि ल्याएर बोल्न लगाउने हो भने उनीहरू अझ प्रेरित भई यस्ता काममा अझ अग्रसर हुन सक्ने सम्भावना छन् । महिनावारी बार्ने चलन हटाउनुलाई मानवअधिकारको विषय, शान्तिको अभिन्न अंग र विकासको खुड्किलोका रूपमा व्याख्या र काम गर्न आवश्यक छ । यस्ता समस्या हटाउन पहिलो घर–घर र समुदाय जाग्न पर्यो । घरमा पुरुषबाटै यस्ता विषयमा बोल्न पर्यो । महिला मान्दैनन् भने पुरुषले पे्ररित गर्न पर्यो अनि मात्र यस्ता समस्या राष्ट्रिय रूपमै समाधान हुँदै जान्छन् । राष्ट्र, समुदाय, अधिकारकर्मी, स्वास्थ्यकर्मी र मिडियाकर्मी सशक्त ढंगबाट अघि बढेमा यस्ता समस्या पार लाग्नेमा शंकै छैन । धार्मिक ग्रन्थलाई पुनः परिमार्जित गर्नु एकदमै आवश्यक छ । समस्याको जरा नै पुराणमा छन्, जसलाई हामीले अन्धो भएर पछ्याइरहेका छौं । धर्मको विरोधमा जाउँ भन्ने अर्थ नलागोस् तर धर्म, संस्कृति मानिस विकासको बाधक बन्नु भएन भन्ने मेरो निष्कर्ष हो । कुनै एक ठाउँबाट मात्रै कदम चालेर यस्ता समस्या समाधान हुने सम्भावना छैन । व्यक्ति, परिवार, समुदाय, विभिन्न निकायदेखि राष्ट्रसम्मबाट पहल भएमात्र यस्ता समस्याको जरो उखेलिन सक्छ । विभिन्न धर्मगुरु र धामीझाँक्रीले पनि अब यस विषयमा कदम चाल्नुपर्छ । आफ्ना प्रवचन र उपचार पद्धति परिवर्तन गरेर अघि बढ्नुपर्छ ।

मेरो अनुभव मैले त आफ्नो बाल्यकालदेखि नै यस्ता कुराको विरोध गरें । घरमा मेरी आमा महिनावारी भएको मैले म करिब आठ वर्षकी हुँदा थाहा पाएँ । हाम्रो गाउँघरतिर पन्छिने भन्थे । मैले थाहा पाउँथें मेरी आमा महिनावारी हुँदा धन्सारमा गएर सुत्थिन् । गाउँघरका दिदी भाउजूहरू पनि महिनावारी हुँदा धन्सारमै आएर बस्थे । त्यस्तै ऋषिपञ्चमीमा पनि उहाँहरूलाई समस्या भएको मैले देखें । मैले त्यतिखेरै मचाहिँ महिनावारी बार्दिनँ भनेर सोचें । म पहिलोपटक महिनावारी भएदेखि नै मैले बारिनँ । न त घैंटेपूजा लगाएँ न ऋषिपञ्चमीमा खोला गएर नुहाएँ । मैले नर्सिङ क्याम्पस पढें । महिनावारीसम्बन्धी सबै बुझें । त्यसपछि म आफू महिला भएकोमा गौरव महसुस गरें । हामी महिलाले आफ्ना लागि भन्दा पनि समाज अघि बढाउनका लागि बच्चा जन्माउँछौँ । तर, महिनावारी नभई बच्चा जन्मदैन । समाज अघि बढ्दैन । अनि किन महिनावारी भएकी महिलालाई समाजले अवहेलना गर्छ । पछि मैले आफ्नो घरमा आएर महिनावारीबारे सबै बुझाएँ । बिस्तारै हाम्रो घरबाट महिनावारी बार्ने चलन हटेरै गयो । मैले यसै विषयमा गहन अध्ययन गरें । यसलाई हटाउन मैले घरदेखि समाजसँग लडाइँ लडिरहेकी छु । कति ठाउँमा त मैले गोठमा बस्दा कति अप्ठ्यारो हुँदोरहेछ भनेर गोठमै बसेर पनि आफ्नो अनुसन्धानको विषय बनाएँ । आमाको मृत्यु हुँदा पनि म महिनावारी भएकी थिएँ । तर, मैले काजकिरिया सबै गरें । मेरो यात्रा अहिले पनि निरन्तर छ । अध्ययन अनुसन्धानकै क्रममा छु । धन्यवाद (नोट : गत मगंलवार मार्टिन चौतारीमा आयोजित एक कार्यक्रममा नर्स राधा पौडेलले मन्तव्यको सम्पादित अंश ।) प्रस्तुति : फातिमा बानु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप