फुटबलको महासङ्ग्राम : इंग्ल्याण्ड-अर्जेन्टिना दुश्मनीको कथा कहाँबाट सुरु भयो ?
सारांश
- इंग्ल्याण्ड र अर्जेन्टिना बीचको फुटबल दुश्मनीको इतिहास झन्डै दुई शताब्दी पुरानो छ, जसमा मैदानमा छ दशकयता चरम प्रतिस्पर्धा रहेको छ।
- सन् १९६६ को विश्वकपमा इंग्ल्याण्डले अर्जेन्टिनालाई १-० ले हराएको खेललाई अर्जेन्टिनामा 'शताब्दीकै ठुलो चोरी' भनियो, जसमा अर्जेन्टिनी कप्तान र्याटिनलाई मैदानबाट निकालिएको थियो।
- सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाले 'भगवानको हात' र 'शताब्दीकै उत्कृष्ट गोल' बाट अर्जेन्टिनालाई इंग्ल्याण्डमाथि २-१ को जित दिलाएका थिए।
विश्वकप फाइनल प्रवेशका लागि इंग्ल्याण्ड र अर्जेन्टिना भिड्दै छन्। के फुटबल खेल योभन्दा ठुलो हुन सक्छ ?
यी दुई देशबिच झन्डै दुई शताब्दी लामो र रक्तपातपूर्ण इतिहास छ। छ दशकयता मैदानमा पनि उनीहरूबिच चरम दुश्मनी छ। जसमा नाटक, विवाद र केही जादुमयी क्षणहरू मिसिएका छन्।
बुधबार एट्लान्टामा हुने भिडन्तको महत्त्वलाई शब्दमा वर्णन गर्न गाह्रो छ। यी दुई शक्तिशाली टोली २१ वर्षपछि पहिलोपटक आमनेसामने हुँदै छन्।
सन् २००५ मा जेनेभामा भएको पछिल्लो मैत्रीपूर्ण खेलमा १८ वर्षीय लियोनल मेस्सी निलम्बनमा परेका थिए। उक्त खेलमा इंग्ल्याण्डले २-१ ले पछि परेको स्थिति उल्टाउँदै अन्तिम समयमा ३-२ को जित निकालेको थियो। यसपटक साविक विजेतालाई फेरि फाइनलमा पुर्याउने लक्ष्यमा रहेका विश्वकपका सर्वाधिक गोलकर्ता मेस्सीमाथि सबैको नजर हुनेछ।
यी राष्ट्रहरूबिचको फुटबलको जरा धेरै गहिरो छ। अर्जेन्टिनामा रेकर्ड गरिएको पहिलो खेल सन् १८६७ मा बेलायती रेलवे कामदारहरूले खेलेका थिए। नेवेल्स ओल्ड ब्वाइज र रोजारियो सेन्ट्रलजस्ता प्रख्यात पुराना क्लबहरू विदेशी (बेलायती) हरूले स्थापना गरेका थिए। रिभर प्लेट र बोका जुनियर्सको नाम पनि अङ्ग्रेजी भाषाबाटै प्रभावित छ।
वेम्बली स्टेडियममा पूर्ण अन्तर्राष्ट्रिय खेलमा इंग्ल्याण्डको सामना गर्ने स्कटल्याण्डपछिको दोस्रो देश अर्जेन्टिना थियो। सन् १९५१ मा भएको उक्त खेल आयोजक इंग्ल्याण्डले २-१ ले जितेको थियो।
तर सुरुवाती मित्रता पछि गएर चरम दुश्मनीमा परिणत भयो। यो दुश्मनी पुस्तौँपुस्ता हस्तान्तरण हुँदै आएको छ। वर्तमान अर्जेन्टिनी समर्थकहरू यस विश्वकपमा पनि प्यारापिटबाट इंग्ल्याण्डविरुद्ध गीत गाइरहेका छन्।
तर यो सबै कहाँबाट सुरु भयो त ? आउनुहोस्, उनीहरूको दुश्मनीको इतिहासका केही उत्कृष्ट क्षणहरू फर्केर हेरौँ:
- सन् १९६६ : इंग्ल्याण्ड १-० अर्जेन्टिना
विश्वकपमा उनीहरूको पहिलो भेट वास्तवमा सन् १९६६ मा भएको थिएन। त्योभन्दा चार वर्षअघि चिलीमा भएको थियो। रान्कागुवामा भएको समूह चरणको खेलमा इंग्ल्याण्डले ३-१ को महत्त्वपूर्ण जित हात पारेको थियो। गोलअन्तरका आधारमा अर्जेन्टिनालाई पछि पार्दै इंग्ल्याण्ड क्वार्टरफाइनलमा पुगेको थियो। यद्यपि, अन्तिम आठमा इंग्ल्याण्ड पछि उपाधि विजेता बनेको ब्राजिलसँग ३-१ ले पराजित भयो।
त्यो खेल बिनाकुनै विवाद सम्पन्न भएको थियो। तर चार वर्षपछिको भेटका बारेमा भने त्यसो भन्न सकिँदैन।
वेम्बलीमा भएको क्वार्टरफाइनल भिडन्तलाई अर्जेन्टिनामा ‘शताब्दीकै ठुलो चोरी’ (एल रोबो डेल सिग्लो) को संज्ञा दिइयो। १० खेलाडीमा सीमित अर्जेन्टिनाविरुद्ध आधाभन्दा बढी समय खेलेको इंग्ल्याण्ड १-० ले विजयी भएको थियो। यस खेलपछि दक्षिण अमेरिकी टोलीविरुद्ध षड्यन्त्र भएको दाबी गरिएको थियो।
अर्जेन्टिनाको सुस्त गतिले इंग्ल्याण्डको खेललाई अवरुद्ध पारिरहेको थियो। निरन्तरको फाउलका कारण जर्मन रेफ्री रुडोल्फ क्रिटलिन निकै व्यस्त बने। आधा घण्टाको खेल नबित्दै स्थिति तनावपूर्ण बन्यो।

अर्जेन्टिनाका कप्तान एन्टोनियो र्याटिनले विपक्षी खेलाडी बबी चार्लटनलाई लडाएपछि चेतावनी पाए। त्यसको तीन मिनेट नबित्दै उनले फेरि चेतावनी पाए। पेनाल्टी बक्सबाहिर फ्रिकिकका बेला १० यार्ड पछाडि नहटेको भन्दै आफ्ना साथी खेलाडीलाई चेतावनी दिएपछि उनले रेफ्रीसँग विवाद गरेका थिए।
भाषा नबुझेका कारण समस्या भएको अर्जेन्टिनीहरूको दाबी छ। र्याटिनले मैदान छाड्न मानेनन्। उनी अनुवादक चाहियो भन्दै बसे। जसका कारण खेल आठ मिनेट रोकियो। मैदानको छेउमा छलफल भयो। उक्त छलफलमा इंग्ल्याण्डका फिफा रेफ्री सम्पर्क अधिकृत केन एस्टन पनि सहभागी थिए। पछि उनकै पहलमा सन् १९७० को विश्वकपदेखि मौखिक चेतावनीको सट्टा पहेँलो र रातो कार्डको नियम ल्याइयो।
प्रहरी अधिकारीहरूले र्याटिनलाई मैदानबाहिर निकाल्नुपर्यो। बाहिरिने क्रममा उनले बेलायतको झन्डा अङ्कित कर्नर फ्ल्यागलाई निमोठे। त्यति मात्र होइन, उनी महारानी एलिजाबेथका लागि ओछ्याइएको रातो कार्पेटमा गएर बसे। यस घटनाले घरेलु दर्शकलाई झनै रुष्ट बनायो।
८९ वर्षको उमेरमा र्याटिनको निधन भएको शनिबार मात्र घोषणा गरिएको थियो। अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई हराउनु केही घण्टाअघि यो खबर आएको थियो। उक्त खेलमा खेलाडीहरूले हातमा कालो पट्टी बाँधेका थिए।
यस विवादमा इंग्ल्याण्ड पनि पूर्ण रूपमा निर्दोष थिएन। उनीहरूले खेलभर ३० वटा फाउल गरेका थिए। राइट-ब्याक रोबर्टो फेरेरोमाथि खराब ट्याकल गर्दा पनि जिओफ हर्स्टले चेतावनी पाएनन्। तिनै हर्स्टले मार्टिन पिटर्सको क्रसमा हेडरमार्फत खेलको एक मात्र गोल गरे। तर अर्जेन्टिनीहरू उक्त गोल अफसाइड भएको दाबी गर्थे।
अन्तिम सिठ्ठी बजेपछि फेरेरो रेफ्रीमाथि खनिए। रेफ्रीलाई मैदानबाट बाहिरिन प्रहरीको स्कर्टिङ आवश्यक परेको थियो। रेफ्रीको जर्सी च्यातेपछि फेरेरोलाई तीन खेलको प्रतिबन्ध लगाइयो। फिफा उपाध्यक्ष ह्यारी काभानलाई थुकेको आरोपमा एर्मिन्दो ओनेगाले पनि प्रतिबन्ध भोगे।
खेलको अन्त्यमा जर्सी साटासाट गर्ने परम्परा थियो। तर इंग्ल्याण्डका प्रशिक्षक अल्फ राम्सेले आफ्ना खेलाडीलाई रोक्न मैदानमै दौडिए। खेलपछिको पत्रकार सम्मेलनमा उनले अर्जेन्टिनीहरूलाई ‘जनावर’ को संज्ञा दिए।
- सन् १९८६ : इंग्ल्याण्ड १-२ अर्जेन्टिना
सन् १९७४ र १९७७ मा यी दुई देशबिच तनावपूर्ण मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गिएका थिए। सन् १९८० मा वेम्बलीमा भएको अर्को मैत्रीपूर्ण खेल इंग्ल्याण्डले ३-१ ले जित्यो। यही खेलमा डिएगो म्याराडोनाले पहिलोपटक इंग्ल्याण्डको सामना गरेका थिए।
विश्वकपमा उनीहरूको दोस्रो भेट सन् १९८६ को क्वार्टरफाइनलमा भयो। मेक्सिको सिटीको एज्टेका स्टेडियममा यो खेल खेलिएको थियो। चार वर्षअघि मात्र फकल्याण्ड टापु (जसलाई अर्जेन्टिनीहरू ‘लास माल्भिनास’ भन्छन्) को विषयलाई लिएर दुई देशबिचको तनाव चुलिएको थियो। दक्षिण एट्लान्टिकमा रहेको बेलायती भूमिमा अर्जेन्टिनी सेना प्रवेश गरेपछि ७४ दिनसम्म युद्ध चलेको थियो। युद्धमा दुवैतर्फ गरी ९ सयभन्दा बढीले ज्यान गुमाए र अन्ततः अर्जेन्टिनाले आत्मसमर्पण गर्यो।
अर्जेन्टिना मेक्सिको सिटीको मैदानमा त्यसको बदला लिन चाहन्थ्यो। उनीहरूले ऐतिहासिक र विवादास्पद तरिकाले त्यो बदला लिए पनि।
दोस्रो हाफको छैटौँ मिनेटमा खेल गोलरहित बराबरीमै थियो। हावामा उडिरहेको बललाई नियन्त्रणमा लिन म्याराडोना पेनाल्टी बक्सभित्र दौडिए। उनले अगाडि बढिरहेका गोलकिपर पिटर सिल्टनलाई छक्याउँदै हातले बललाई जाली चुमाए।
इंग्ल्याण्डका खेलाडीहरूले विरोध जनाए। तर गोलले मान्यता पायो। म्याराडोनाले पछि त्यसलाई ‘भगवानको हात’ (द ह्यान्ड अफ गड) भनेर बयान गरे।

पहिलो गोल भएको चार मिनेटपछि अर्को गोल भयो। जसलाई पछि ‘शताब्दीकै उत्कृष्ट गोल’ (गोल अफ द सेन्चुरी) भनेर चिनियो। म्याराडोनाले आफ्नै हाफबाट बल अगाडि बढाए। उनले इंग्ल्याण्डको रक्षापङ्क्तिलाई छक्याउँदै उत्कृष्ट दौड लगाए। ११ सेकेन्डमा ११ पटक बल छोएका उनले पाँच जना खेलाडीलाई बिट गरे। अन्ततः सिल्टनलाई पनि छक्याउँदै बक्सको दायाँ भागबाट उत्कृष्ट गोल गरे।
खेलको अन्त्यतिर ग्यारी लाइनकरले इंग्ल्याण्डका लागि एक गोल फर्काए। यो यस प्रतियोगितामा उनको छैटौँ गोल थियो। इंग्ल्याण्डले उत्कृष्ट पुनरागमनको प्रयास गरे पनि अर्जेन्टिना अघि बढ्यो। र, अन्ततः आफ्नो दोस्रो विश्वकप उपाधि उचाल्यो।
- सन् १९९८ : इंग्ल्याण्ड २-२ अर्जेन्टिना (पेनाल्टीमा अर्जेन्टिना ४-३ ले विजयी)
सन् १९९१ मा अर्जेन्टिनाले ११ वर्षपछि पहिलोपटक इंग्ल्याण्डको भ्रमण गर्यो। वेम्बलीमा भएको उक्त मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले २-० ले पछि परेको स्थिति उल्टाउँदै बराबरी खेल्यो।
उनीहरूबिचको अर्को प्रतिस्पर्धात्मक भेट फ्रान्समा आयोजित सन् १९९८ को विश्वकपमा भयो। सेन्ट इटियनमा भएको अन्तिम १६ को उक्त खेल निकै रोमाञ्चक थियो।
खेलको सातौँ मिनेटमै गाब्रिएल बाटिस्टुटाले पेनाल्टीमार्फत अर्जेन्टिनालाई अग्रता दिलाए। तर चार मिनेटपछि किशोर खेलाडी माइकल ओवेनले पेनाल्टी जिते। जसमा एलन सियररले गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसपछि १७ औँ मिनेटमा ओवेनले मैदानको मध्यभागबाट बल अगाडि बढाउँदै उत्कृष्ट सोलो गोल गरेर खेलको दिशा नै परिवर्तन गरिदिए। तर पहिलो हाफको अन्त्यतिर जाभियर जेनेटीले चलाखीपूर्ण फ्रिकिकमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।

दोस्रो हाफ सुरु भएको केही बेरमै खेलको मोड फेरियो। मिडफिल्डमा डिएगो सिमोनीले इंग्ल्याण्डका डेभिड बेकह्यामलाई लडाए। बेकह्याम मैदानमा घोप्टो परेर लडिरहेका थिए। त्यसै बेला अर्जेन्टिनी खेलाडीले उनको टाउकोको पछाडि बिस्तारै हाने। त्यसको झोँकमा तत्कालीन म्यानचेस्टर युनाइटेडका खेलाडी बेकह्यामले लडिरहेकै अवस्थामा सिमोनीको पिँडुलामा लात्ती हाने। सिमोनी मैदानमा लडे। डेनिस रेफ्री किम मिल्टन-निल्सनले बेकह्यामलाई रातो कार्ड दिए। यस घटनापछि बेलायती सञ्चारमाध्यमले बेकह्यामको चर्को आलोचना गरे।
१० खेलाडीमा सीमित इंग्ल्याण्डले कडा सङ्घर्ष गर्यो। अन्तिम समयमा सोल क्याम्पबेलको हेडर गोलमार्फत उनीहरूले खेल जितेको महसुस गरेका थिए। तर गोल हुनुअघि सियररले गोलकिपर कार्लोस रोआमाथि फाउल गरेको भन्दै गोललाई मान्यता दिइएन। अन्ततः पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले ४-३ ले खेल जित्यो। गोलकिपर रोआले पल इन्स र डेभिड ब्याटीको पेनाल्टी रोक्दै अर्जेन्टिनालाई अघिल्लो चरणमा पुर्याए।

- सन् २००२ : अर्जेन्टिना ०-१ इंग्ल्याण्ड
सन् २००० मा वेम्बलीमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुङ्गियो। त्यसपछि सन् २००२ को विश्वकपमा इंग्ल्याण्ड र बेकह्यामले बदला लिने पहिलो अवसर पाए।
जापानको सापोरोमा भएको समूह चरणको यो भेट निकै महत्त्वपूर्ण थियो। इंग्ल्याण्डले आफ्नो पहिलो खेलमा स्विडेनसँग बराबरी खेलेको थियो र अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन जित्नैपर्ने दबाबमा थियो।
पहिलो हाफ सकिनै लाग्दा माउरिसियो पोचेटिनोले ओवेनलाई बक्सभित्र लडाए। त्यसपछि प्राप्त पेनाल्टीमा बेकह्यामले संयमता अपनाउँदै सिधै बिचमा बल प्रहार गरेर गोल गरे।
यसपटक सिमोनी र बेकह्याम दुवैले पूरा ९० मिनेट मैदानमा बिताए। खेलकै बिचमा उनीहरूले हातसमेत मिलाए। अन्तिम समयमा अर्जेन्टिनाले तीव्र दबाब दिए पनि इंग्ल्याण्डको रक्षापङ्क्ति बलियो रह्यो। यस जितसँगै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गर्यो। उता, अर्जेन्टिना भने समूह चरणबाटै बाहिरियो। सन् १९६२ पछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिएको यो पहिलो र एक मात्र घटना थियो, जहाँबाट यो सबै (दुश्मनी) सुरु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लालीबजार’ को धेरै आम्दानी, अरु फिल्मले कति कमाए ?
-
गगन थापाको घर अगाडि पार्किङ गरिएको गाडी कसको हो ?
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न थप तीन दिनको अनुमति
-
विश्वकप फाइनल खेलाइने मैदानको घाँसका टुक्रा बिक्री गर्दैछ फिफा
-
कुन सहकारीका बचतकर्ताले कति रकम फिर्ता पाउँदैछन् ?
-
पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण