सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा ९ जनाको मृत्यु

सोमबार, २९ असार २०८३, १५ : ०४
सोमबार, २९ असार २०८३

सारांश

  • भारतको पुणे सहर नजिकै फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा ९ जना कामदारको मृत्यु भएको छ ।
  • भारी वर्षाका कारण ल्यान्डफिल अस्थिर बनेपछि हजारौँ टन फोहोर खसेर प्रशासनिक भवनमा क्षति पुगेको थियो ।
  • घटनामा १४ जनालाई जीवितै उद्धार गरिएको छ र संरचनागत तथा सुरक्षा जाँच पूरा नभएसम्म केन्द्रको सञ्चालन रोकिएको छ ।

नयाँ दिल्ली । भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा भारी वर्षापछि फोहोरको थुप्रो खस्दा ९ जना कामदारको मृत्यु भएको छ । केन्द्रका सञ्चालकले सोमबार जारी गरेको विज्ञप्तिमार्फत घटनाबारे जानकारी दिएका हुन् ।

भारतमा जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुन अवधिमा भारी वर्षाका कारण भवन तथा पूर्वाधारसम्बन्धी दुर्घटनाहरू हुने गरेका छन् । लामो समयको वर्षाले कमजोर संरचना भत्किने वा पहिरो जाने जोखिम बढाउने गर्छ ।

गत बुधबार पुणे सहरको बाहिरी क्षेत्रमा रहेको ‘एन्टोनी वेस्ट’ फोहोर प्रशोधन केन्द्रमा दुर्घटना भएको हो । नजिकै रहेको ल्यान्डफिल (फोहोर विसर्जन स्थल) बाट हजारौँ टन फोहोर खस्दा प्रशासनिक भवनमा रहेका २३ जना व्यक्ति पुरिएका थिए ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा निरन्तरको वर्षाका कारण ल्यान्डफिल अस्थिर बनेपछि फोहोर खसेर भवनमा क्षति पुगेको उल्लेख गरिएको छ । घटनामा नौ जनाको मृत्यु भएको र १४ जनालाई जीवितै उद्धार गरिएको कम्पनीले जनाएको छ ।

उद्धार टोलीले वर्षाका कारण कठिन परिस्थितिमा काम गर्नुपरेको र भग्नावशेषमुनि फसेकाहरूको उद्धारमा चुनौती भएको अधिकारीले बताएका छन् । संरचनागत तथा सुरक्षासम्बन्धी जाँच पूरा नभएसम्मका लागि केन्द्रको सञ्चालन अस्थायी रूपमा रोकिएको छ ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण भारतमा अतिवृष्टि, गर्मी तथा अन्य चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ्दै गएको छ । मौसमविद्हरूले यस वर्ष सम्भावित शक्तिशाली ‘एल निनो’ मौसमी प्रभावले भारतको सामान्य मौसमी चक्रमा समेत असर पार्न सक्ने बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप