बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केहीले ठाउँ नपाएर सरकारको विरोध गर्दै छन् : प्रम

मङ्गलबार, २८ वैशाख २०७३, १६ : ४७
मङ्गलबार, २८ वैशाख २०७३

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अप्ठ्यारा र बाधा एवम् विरोधमा नअल्झिकन देशका लागि सही कामको अगुवाइमा अघि बढ्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको प्रथम वार्षिक स्मृतिसभामा प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका भ्रम र अन्योल चिर्दै मिलेर संविधानको कार्यान्वयन र राष्ट्रिय एकता आजको आवश्यकता भएकाले त्यस दिशामा लाग्न सबैमा आग्रह पनि गरे ।

उनले भने, “केहीले ठाउँ नपाएर सरकारको विरोध गरेका छन्, अनेक अभद्र गाली गर्ने संस्कारमा आफूलाई सीमित राखेका छन् तर सरकार सानातिना हल्काफुल्का रुपमा होइन, देशका लागि साँचो र सही बाटोबाट अघि बढ्न चाहन्छ ।”

उनले लोकतन्त्रमा बाधा र अवरोधलाई सामान्य मान्नुपर्ने बताउँदै त्यसलाई पन्छाउँदै सरकार देशलाई सबल बनाउन लागिरहेको स्पष्ट गरे । सरकार भारत र चीन दुवै छिमेकीसँगको सुमधुर सम्बन्ध, पारस्परिक लाभ र सम्मानसहित एक्काइसौंँ शताब्दीअनुकूल सम्बन्ध विस्तारमा लागिरहेको पनि उनले बताए ।

प्रधानमन्त्रीले आफू जेल जीवनबाट बाहिर आएदेखि (२०४४) थापासँग निरन्तर सम्पर्क र सम्बन्धमा रहेकाले उनी परिचय, पहिचान र स्थान भएको देशको अभिभावकीय व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । देश र जनताको हितका प्रश्नमा थापाको सधैँ चिन्ता रहेको पनि ओलीले बताए ।

विसं १९८४ चैत ८ मा जन्मेका थापाको २०७२ वैशाख २ मा निधन भएको थियो । पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरु डा प्रकाशचन्द्र लोहनी, दीपक बोहरा, बुद्धिमान तामाङ, स्व थापाका छोरा सुनिलबहादुर थापा लगायतले थापाले लामो समय नेपालको राजनीतिमा दिनुभएको योगदानबारे चर्चा गरेका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप