बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सहकारीले बचत फिर्ता गर्न नसकेपछि.........

आइतबार, ०९ जेठ २०७३, ०७ : ३९
आइतबार, ०९ जेठ २०७३

म्याग्दी – सर्वसाधारणबाट संकलन गरेको बचत फिर्ता गर्न नसकेपछि बेनीको एक सहकारी संस्थाको कार्यालय एक सातादेखि बन्द भएको छ ।

बेनी नगरपालीका–७ कोटभण्डार टोलमा रहको सम्बृद्ध कृषि सहकारी संस्था कमजोर ब्यवस्थापन, सञ्चालकहरुबीच बिवाद, सेयर सदस्यहरुको वेवास्ता, सहकारी सम्बन्धि अनुभवको कमीका कारण घाटामा गई बन्द भएको हो ।

बिना सूचना एक हप्तादेखि सहकारीको कार्यालय बन्द भएपछि सहकारीमा बजार प्रतिनिधि मार्फत दैनिक बचत गरेका सर्वसाधारणहरु बचतकर्ताहरु मर्कामा परेका छन् । सहकारीमा दैनिकजसो बचतकर्ताहरु आफूले राखेको रकम फिर्ता लिन आउने गरेपनि बन्द भएकाले रित्तै फर्कन बाध्य भएका छन् । सहकारीमा रकम बचत गरेका बेनी न्युरोडका ब्यवसायी राजु बानियाले बिना सूचना सहकारी बन्द भएको, कर्मचारी र सञ्चालक सम्र्पकमा नरहेकाले बचतकर्ताहरु चिन्तित भएका बताए । वि.स २०७१ मा स्थापना भएको सहकारीको कार्यालय २०७३ को जेठ महिनाको सुरुदेखिनै बन्द भएको हो ।

सञ्चालक र कर्मचारीले सहकारी बन्द भएको बारे कसैलाई पनि कुनै सूचना दिएका छैनन् । संस्थाले दश प्रतिशतका दरले ब्याज दिने भनेर बचत संकलन गरेको थियो । गणेशटोलका बचतकर्ता लोकनाथ सुवेदीले सहकारीमा रहेको पैसा फिर्ता लिन जाँदा संस्था बन्द भएकाले रित्तै फर्किएको बताए ।

सहकारी डिभिजन कार्यालय बागलुङको अभिलेख अनुसार ८६ जना सेयर सदस्यले दश हजार रुपैयाँका दरले संकलन गरेर संस्था स्थापना गरेका थिए । उक्त सहकारीमा बेनी बजारका एक सय जना भन्दा बढीको तीन लाख रुपैया भन्दा बढी बचत रहेको छ । संस्थाले सहकारी ऐन बिपरित गैर सेयर सदस्यहरुसंग पनि कारोबार गरेको छ ।

संस्थाको आन्तरीक समस्याका कारण बचतकर्तालाई फिर्ता दिने पैसा नभएकाले ब्यवहार मिलाउनका लागि बन्द गरिएको सञ्चालक समितिका कोषाध्यक्ष रेशम रामदामले बताउनुभयो । ‘नयाँ थपिएका सेयर सदस्यको रकम कार्यालय व्यवस्थापन गर्दा, घरभाडा तिर्दा र कर्मचारीलाई आठ महिनाको तलब दिदाँ सकियो’ रामदामले भने, ‘लगानीमा रहेको पैसा भनेको समयमा उठ्न नसक्दा बचत कर्तालाई फिर्ता दिन सकिएको छैन् ।’

धेरैजना बचतकर्ता एकैपटक बचत फिर्ता लिन आएकोले भुक्तानी दिन समस्या भएको दावी गर्दै उनले पुरानो समितिले तिन लाख रुपैया घाटा गराएको आरोप लगाए । सञ्चालकहरुले सेयर सदस्यहरुबाट पैसा उठाएर भएपनि बचतकर्ताको पैसा फिर्ता दिने प्रतिवद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप