अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
चितवन । सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा ठूलो क्षति पुगेको छ ।
पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका सयौँ मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ ।
रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका अनुसार वडा नं ११ अन्तर्गत पन्कन्या सामुदायिक वन क्षेत्रस्थित मनिखोला र वडा नं ९ को लालपर्सामा राखिएका मौरीघार बाढीले बगाएको तथा मौरीगोला नष्ट गरेको हो । अधिकांश घारमा मह निकाल्ने समय भइसकेकाले थप आर्थिक क्षति भएको उनले बताए ।
मनिखोला क्षेत्रमा शङ्कर भट्ट (रत्ननगर–१२) का २५० घार, रोशन विक (रत्ननगर–४) का ७० घार र दिनेश ढकाल (भरतपुर–१४) का ९५ घार गरी ४१५ घार प्रभावित भएका छन् । यस क्षेत्रमा केही घार सुरक्षित अवस्थामा फेला पर्ने सम्भावना रहे पनि अधिकांश मौरीगोला नष्ट भएको लामाले बताए ।
त्यसैगरी लालपर्सा क्षेत्रमा लोकप्रसाद पराजुली (खैरहनी)का ९० घार, दीपक थापा (रत्ननगर–४) का ९० घार र एकबहादुर गुरुङ (रत्ननगर–३) का ९० घार गरी २७० घार प्रभावित भएका छन् । तीमध्ये करिब २५० घार बाढीले पूर्ण रूपमा बगाएको र केही घारमात्रै भेट्टाएर सुरक्षित स्थानमा सारिएको प्रमुख लामाले जानकारी दिए। पानीको बहाव उच्च भएकाले सबै घार रहेको स्थानमा पुगेर एकिन विवरण सङ्कलन गर्न अझै कठिनाइ भइरहेको उनको भनाइ छ ।
“बाढीपछि केही घार भेटिए पनि अधिकांशका मौरीगोला नष्ट भइसकेका छन् । लालपर्सामा प्रभावित २७० घारमध्ये करिब २५० घार बाढीले बगाएको छ । एउटा घारको औसत मूल्य करिब रु १० हजार पर्छ । अधिकांश घारमा मह निकाल्ने समय भएकाले प्रतिघार चारदेखि पाँच किलोग्रामसम्म मह उत्पादन हुने अवस्थामा थियो । घारसँगै मौरीगोला र उत्पादन हुन लागेको महसमेत नष्ट हुँदा किसानलाई प्रारम्भिक रूपमा कम्तीमा रु ६० लाखबराबरको क्षति भएको अनुमान गरेका छौँ”, प्रमुख लामाले भने ।
नगरपालिकाले प्रभावित क्षेत्रको थप स्थलगत अनुगमन गरी विस्तृत क्षतिको विवरण सङ्कलन गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण