बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

भूकम्पपीडितको नागरिकता र लालपूर्जा बनाउन घुम्ती शिविर

आइतबार, ०९ जेठ २०७३, १७ : ४४
आइतबार, ०९ जेठ २०७३

गोरखा– भूकम्पले घर भत्केपछि नागरिकता, लालपूर्जालगायत महत्वपूर्ण काजगात पुरिएकाले सेवाग्राहीको सुविधालाई ध्यान दिँदै गोरखाको तीनवटा निर्वाचन क्षेत्रमा घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।

आउँदो जेठ १४ गते सिम्जुङ गाविसको बालुवा बजारमा, १७ गते थुमी गाविसको आर्खेतमा र २१ गते घैरुङ गाविसको बतासेमा घुम्ती शिविर आयोजना गर्ने निर्णय भएको स्थानीय विकास अधिकारी नारायण आचार्यले जानकारी दिए । “नागरिकता र लालपूर्जा नहुँदा भूकम्पपीडित लाभग्राहीले अनुदान रकम पाएनन्”– उनले भने, “भूकम्पपीडित जनताको घरदैलोमा सरकारी सेवा उपलब्ध गराउन लागेका हौँ ।” घुम्ती शिविर सञ्चालनका लागि सरकारले रु एक लाख ५० हजार बजेट पठाएको उनको भनाइ छ ।

शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला पशु विकास कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालयलगायतका कार्यालयका कर्मचारी उपस्थित भई सेवाग्राहीको काम गर्ने आचार्यले बताए ।

तीनवटै ठाउँमा दुई दिनका दरले घुम्ती शिविर सञ्चालन हुन्छ । भूकम्पले घर भत्केपछि महत्वपूर्ण कागजात पनि पुरिएको थियो । राहत एवम् पुनःनिर्माणको काममा नागरिकता र लालपूर्जा अनिवार्य भएपछि सेवाग्राहीलाई गाउँमै पुगेर सेवा दिन लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

गाउँगाउँका भूकम्पपीडितले नागरिकता, लालपूर्जा नहुँदा अनेक खालका समस्या खेप्नुपरेको गुनासो गरेपछि घुम्ती शिविर गर्न लागिएको हो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप