बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

म्याग्दीको स्लेटको अन्तर्राष्ट्रिय बजारमा माग

सोमबार, १० जेठ २०७३, ०९ : ५४
सोमबार, १० जेठ २०७३

म्याग्दी– म्याग्दी जिल्लाको रुम गाविस–५ मा रहेको खानीबाट निकालिएको स्लेटको अन्तर्राष्ट्रिय बजारबाट माग भएको छ ।

अमेरिका र बेलायतबाट स्लेटको माग भएको खानी सञ्चालक हर्कमान दर्जीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारबाट माग भए पनि प्रविधिको अभावमा आपूर्ति गर्न नसकिएको दर्जीको भनाइ छ ।

“गाउँघरबाट आएका माग पूरा गर्न त सकिएको छैन” दर्जीले भने, “विदेशबाट माग भए पनि प्रविधिको अभावमा कम ढुङ्गा निकाल्ने गरिन्छ ।” घन र छिनाको प्रयोगबाट स्लेट निकाल्दा समस्या भएको छ ।

यो खानीबाट वार्षिक करिब छ हजार मिटरको अनुपातमा स्लेट निकालिने गरिएको सञ्चालकले बताएका छन् । सो खानीको स्लेट जिल्लाका रुम, ओखरबोट, निस्कोट, देवीस्थान, दरबाङ, बाबियाचौर, बेनी, ज्यामरुककोटलगायतका गाविसमा खपत हुने गरेको छ ।

बागलुङ, पर्वत, कास्की, चितवन, धादिङलगायतका जिल्लाबाट घरको छाना छाउनका लागि स्लेटको माग भएको दर्जीले बताए । नयाँ बनेका र बन्दै गरेका घरका भुइँमा स्लेट बिछ्याउने चलन छ ।

खानीबाट भएको आम्दानी राष्ट्रिय माध्यमिक विद्यालय सञ्चालनका लागि खर्च हुने गरेको छ । पहिले रु दुई लाख ८१ हजार ६५० मा सम्झौता भए पनि दुई वर्षपछि ठेकेदारले घाटा परेको भन्दै नयाँ सम्झौता गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप