दाम्लोमा बाँधिएका अपाङ्ग अनोजको बिचल्ली, आमाबुवासमेत बेपत्ता
चितवन - टिनको छानोको थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ छ । भित्र दुई छेउमा पुराना खाट । सँगै एउटा बेन्च । चिसो भुइँमा राखिएको थोत्रो सुकुल । त्यसमाथि लडिरहेका एक युवा ।
उनको बायाँ खुट्टाको गोलीगाँठोनजिक दाम्लो लगाइएको छ । पल्लो खाटको खुट्टा नजिकै बाँधिएको छ । नजिकैको चिसो सुकुलमाथि कुपोषित र अपाङ्ग युवा लडिरहेका छन् । निरिहलाई जताबाट पनि ठक्कर भने जस्तै उनी सुस्तःमनस्थितिका पनि छन् । हिँड्डुल गर्न सक्दैनन् । सुतेकै स्थानमा दिशा र पिसाब हुन्छ ।
गएको एक वर्षदेखि यस्तै कष्टकर दैनिकीमा रहेका छन् – चितवनको रत्ननगर–१५ माधवपुरका १७ वर्षीय अनोज वाइवा । आमाबुबाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भन्ने पुरानो उखानको विपरीत एक वर्षदेखि उनलाई बुबाआमाले चटक्कै छाडेर गएपछि बेसहारा जस्तै भएका छन् । उनकै स्याहार गर्न नसकेर बुबाआमाले छाडेको अनुमान स्थानीयवासीको छ ।
घस्रन सक्ने र घर खुला भएकाले बाहिर निस्कन सक्ने चिन्तामा भाइ विशालले उनलाई आमाबुबाले छाडेदेखि बाँधेर राखेका छन् । सात कक्षामा पढ्ने अल्लारे भाइ विशालले उनको रेखदेख गर्दै आएका छन् । तर अल्लारेलाई के खुवाउने, कसरी राख्ने मेसो छैन । त्यसैले उनको स्वास्थ्य कमजोर हुँदै गएको छ । बुबाआमा कहाँ गए कसैलाई पत्तो छैन । काठमाडौँमा बुबाले गाडी चलाउने र आमाले तरकारी बेच्ने गरेको थाहा भएको विशाल बताउँछन् । तर कहाँ छन् भनेर उनलाई पनि थाहा छैन ।
“बेलाबेलामा बुबाआमाले पठाएको पैसा भनेर आउँछ”, विशालले भने, “अनि अरू थाहा छैन ।” “पहिले चार कट्ठा जग्गा रु तीन लाखमा दृष्टिबन्दकी थियो, अहिले त्यो अर्कैले खाइसक्यो रे, उनको उद्धारमा प्रयासरत रहेका स्थानीयवासी आशिष तामाङ भन्छन्, “सुकम्वासी बनेका र बुबाआमाले पनि छाडेर गएपछि दाजुभाइको बिजोग भो ।” आफूले कहीँ दाता पाइन्छ कि अथवा कुनै आश्रमले लान्छ कि भनेर विभिन्न क्षेत्रमा प्रयास गरे पनि सफल नभएको उनको भनाइ छ ।
कुनै आश्रमले उद्धार गरे पुण्य मिल्ने आशिष बताउँछन् । उनकै प्रयासमा अहिले रत्ननगरको लियो क्लब र लायन्स क्लबले केही दिनदेखि खाद्यान्न सहयोग गर्न थालेका छन् । रत्ननगर लियोका अध्यक्ष ज्योति भट्ट अवस्था नाजुक देखेपछि खाद्यान्नलगायत सामग्री सहयोग गर्न थालिएको बताउँछन् ।
यस्तो सहयोगबाट उनीहरुको दैनिकी चल्न मुस्किल छ । आफैँलाई सहारा दिनुपर्ने बेलाका भाइ विशालले दाइको ख्याल गर्न मुस्किल छ । दिनभर स्कुल जाँदा दाइ अनोजको ख्याल गर्ने कोही छैन । समयमा खानपिन पनि हुँदैन उनको ।
भरतपुरका समाजसेवी केशव अधिकारी बुबाआमाले यसरी छाडेर जानु सामाजिक अपराध र पारिवारिक हिंसा नै भएको बताउँछन् । बुबाआमा झिकाएर उनको उद्धार गर्नुपर्ने भनाइ उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण