आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ढुङ्गा र पहिरो झरेपछि फिदिम–राँके सडकखण्ड अवरुद्ध

मङ्गलबार, ११ साउन २०७३, १४ : ००
मङ्गलबार, ११ साउन २०७३
पाँचथर - निरन्तरको वर्षाले सडकमाथिबाट ढुङ्गा र पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–राँके सडकखण्डको फिदिम–२ स्थित साम्दिनमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा अहिले दर्जनौँ सवारी साधन रोकिएका छन् । अहिले सडक खुलाउन नेपाली सेना र सशस्त्र प्रहरी लागिपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा रहेको ढुङ्गा पन्छाउन लोडर चाहिने र लोडर ल्याएर ढुङ्गा पन्छाउँदा आज दिनभर बाटो अवरुद्ध हुन सक्ने जिप्रका पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । यस्तै सरदमुकाम फिदिम–१ स्थित शिवालय मन्दिर छेउबाट पहिरो खस्दा कञ्चनजङ्घा एकेडेमी उमावि तथा त्यहाँ रहेका दुई घर जोखिममा परेका छन् । यसैबीच स्थानीयवासी टेकनाथ बाँस्कोटाको सेफ्टी ट्यांकी र शौचालय पहिराले बगाएको छ । यस्तै उनको घर र जय नेम्वाङको घर पहिराको उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । नेम्वाङका घरमा डेरा गरी बस्ने सन्तकुमार थापाले पालेका दुई खसी पहिराबाट पुरिँदा मरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप