शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

डाक्टरका कुरा :हार्ई ब्लडप्रेसर केही भ्रम र यथार्थ

बिहीबार, १६ मङ्सिर २०७३, १५ : ०५
बिहीबार, १६ मङ्सिर २०७३

डा. मिलनप्रकाश श्रेष्ठ, मुटुरोग विशेषज्ञ, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल 

बढ्दो आधुनिकीकरणसँगै संसारमा नयाँ–नयाँ समस्या पनि उत्पत्ति हुँदै गएका छन् । कुनै समयमा आक्कलझुक्कल देखिने ब्लडप्रेसर अहिले प्रमुख समस्या नै बन्न थालेको छ । कतिपय २० देखि ३० वर्षका युवाहरूमा यही समस्याले नियमित औषधि खानुपर्ने अवस्था देखिएको छ । ब्लडप्रेसर हुने कारणमध्ये करिब २ देखि ३ प्रतिशतको मात्रै थाहा हुन्छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन ।

बदलिँदो जीवनशैलीसँगै मानिस विलासी भएको महसुस हुन्छ । मीठो मात्र खानुपर्ने, मांसाहारी खानामा जोड दिने, रक्सी, सुर्ती आदिको सेवन गर्नुपर्ने, मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमीजस्ता कारणले ब्लडप्रेसरको समस्या थपिँदै गएको छ । फलस्वरूप हृदयाघात, प्यारालाइसिस (मस्तिष्कघात), मिर्गौला तथा आँखामा क्षतिजस्ता समस्या बढेको पाइन्छ ।

सुन्दा सामान्य, असर भयानक

सामान्य लाग्ने ब्लडप्रेसरको भयानक असरबारे जानकारी ब्लडप्रेसरले प्रत्यक्ष असर पारेका व्यक्ति वा परिवारलाई मात्र थाहा हुन्छ । ब्लडप्रेसरको औषधि खायो भने जिन्दगीभरि खानुपर्छ । साइड इफेक्ट गर्छ भन्ने धेरै किसिमका हल्ला सुनिन्छन् । तर, औषधि नखाई सधैँ हार्ई ब्लडप्रेसर लिएर हिँड्दा झन् खतरा हुन्छ ।

लक्षण नदेखिन सक्छ

ब्लडपे्रसर हार्ई भएका बिरामी सबैलाई लक्षणहरू देखिनैपर्छ भन्ने छैन । कसैलाई माथिको प्रेसर (सिस्टोलिक) १५० पुग्नासाथै टाउको दुख्ने, रिँगटा लाग्ने हुन्छ । तर, कसैलाई माथिको प्रेसर २२० पुग्दा पनि कुनै लक्षण नदेखिने हुन सक्छ । कतिपय अवस्थामा प्रेसर हाई भएर पनि लक्षण नदेखिनु लक्षण देखिने प्रेसरभन्दा खतरनाक हुन सक्छ ।

यस अर्थमा कि लक्षण नदेखिँदा आफूलाई सबै ठीकै छ, म स्वस्थ छु भन्ने पर्छ । कुनै वेला त्यही रक्तचापले ठूलै समस्या गराउन सक्छ । केही लक्षण नदेखिए पनि निरन्तर हाई प्रेसरले शरीरका अंगमा क्षति पुर्‍याउन सक्छ । विशेषगरी मुटु, मिर्गौला, आँखा र मस्तिष्कमा असर पुर्‍याउँछ । लक्षण नदेखिने बिरामीलाई एकैचोटि हृदयाघात, मस्तिष्कघात भइसकेको अवस्थामा भेटिएको छ । त्यसैले ब्लडप्रेसर समय–समयमा देखाइरहनु आवश्यक छ । साथै, प्रेसर हाई भएर लक्षण नदेखिए पनि भविष्यमा हुन सक्ने क्षतिबाट बच्न औषधि सेवन आवश्यक छ ।

के औषधि निरन्तर सेवन गर्नुपर्छ ?

मानिस अरू समस्याका लागि औषधि खान डराउँदैनन्, तर ब्लडप्रेसरको औषधि भनेपछि हच्किहाल्छन् । ब्लडप्रेसरले गर्न सक्ने खतराबारे आवश्यक ज्ञान नभएकाले यस्तो भएको हो । ब्लडप्रेसर त्यति धेरै हाई नभएको अवस्था, पहिलोपल्ट देखिएको ब्लडप्रेसर तथा शरीरका अंगहरूमा क्षति नपुगिसकेको अवस्थामा केही महिना औषधि नखाई अन्य उपाय अवलम्बन गरेर ब्लडप्रेसर घटाउन कोसिस गर्न सकिन्छ । तर, यी उपाय अपनाउँदा पनि ब्लडप्रेसर उच्च नै रहिरहेमा औषधि सुरु गर्न धेरै ढिला गर्नु हुँदैन । अन्य उपाय भन्नाले खानामा नुन कमी गर्ने, चिल्लोको मात्रा कमी गर्ने, दिनहुँ शारीरिक व्यायाम गर्ने, मानसिक तनाव कम गर्ने आदि बुझिन्छ ।

के औषधिले किड्नी खराब गर्छ ?

हामीले सेवन गर्ने अधिकांश औषधिको साइड इफेक्ट हुन्छ । सिटामोल पनि धेरै खायो भने कलेजो, मिर्गौला खराब गर्छ । खानेकुराहरूको पनि आफ्नै किसिमको साइड इफेक्ट हुुन्छ । चिनी, गुलियो धेरै खाएमा मोटोपना बढ्छ, नुन धेरै भएमा प्रेसर बढ्छ । चिल्लो धेरै खाएमा रगतमा कोेलेस्ट्रोल बढ्छ, जसले मुटुरोगको खतरा हुन्छ । तर, यसो भनेर खानेकुरा नै नखाने भन्ने हुँदैन । त्यस्तै, ब्लडप्रेसरको औषधि पनि स्वस्थ रहन खाने हो । यस्ता औषधिको पनि आफ्नै किसिमका साइड इफेक्ट छन् । तर, ती सबै साइड इफेक्ट सधैँ सबैलाई हुन्छ नै भन्ने छैन ।

कुनै साइड इफेक्ट छोटो समयमै देखापर्छ भने कुनै २०–३० वर्ष लगातार औषधि सेवनपछि देखिन्छ । डाक्टरको सम्पर्कमा बसेर नियमित चेकजाँच गरिरहेमा साइड इफेक्ट भए पनि तुरुन्तै पत्ता लाग्छ । साइड इफेक्ट भएको थाहा पाएमा ब्लडप्रेसरको औषधि परिवर्तन गर्न सकिन्छ । तर, साइड इफेक्ट गर्छ भनेर औषधि सुरु नगरी सधैँ ब्लडप्रेसर हाई लिएर बस्दा प्यारालाइसिस, हृदयाघात हुने, मिर्गौला कामै नलाग्ने अवस्थामा पुग्ने, आँखाको ज्योति गुम्नेजस्ता भयानक असरहरू देखापर्न सक्छन् । जुन असरहरूको तुलनामा औषधिको साइड इफेक्ट केही होइन ।

औषधि खाएपछि चुरोट–रक्सी खाँदा हुन्छ ?

रक्सी, चुरोट, सुर्ती सेवनले शरीरका फोक्सो, मुटु, कलेजो, पेट, आन्द्रा, मानसिक स्थिति सबैतिर क्षति गर्छ । धुम्रपान गर्ने मानिसलाई हाई ब्लडप्रेसर, आन्द्रा प्वाल पर्ने, फोक्सोको दम, फोक्सोको क्यान्सर, मुखको क्यान्सर हुनेलगायत हृदयाघात हुने सम्भावना रहिरहन्छ । रक्सीसँग भुटेको, तारेको, पिरो, नुनिलो स्न्याक्स नै चाहिने तथा चुरोट पनि पिउनुको छुट्टै मजा हुने बिरामीहरू बताउँछन् । रक्तचाप बढाउनुमा धुम्रपान तथा रक्सीको पनि उत्तिकै योगदान रहन्छ । त्यसैले ब्लडप्रेसर बिरामीलाई मद्यपान तथा धुम्रपान नगर्नु नै ठीक हो । अधिकांश मानिसमा यो धारणा व्याप्त छ कि, रक्सी भनेपछि ह्विस्की मात्रै हो । तर बियर, वाइन, रम, जिन, भोड्का, ब्रान्डी पनि अल्कोहल हुन् । यस्ता पदार्थबाट सधैँ टाढा रहनुपर्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप