हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
सारांश
- हाइटीमा संयुक्त राष्ट्रसङ्घ समर्थित गिरोह दमन बलमा श्रीलङ्काली सुरक्षा टोली सहभागी भएको छ।
- यो बलले राष्ट्रिय प्रहरीलाई सशस्त्र गिरोह नियन्त्रणमा सहयोग गर्नेछ।
- मानवीय सहायतामा अन्तर्राष्ट्रिय समुदायको उदासीनताको आलोचना भएको छ।
काठमाडौँ । गिरोह हिंसाले वर्षौंदेखि सङ्कटग्रस्त बनेको हाइटीमा संयुक्त राष्ट्रसङ्घ समर्थित नयाँ अन्तर्राष्ट्रिय गिरोह दमन बल (जिएसएफ) मा श्रीलङ्काको सुरक्षा टोली सहभागी भएको छ । संयुक्त राष्ट्रसङ्घ समर्थित उक्त बलले हाइटीको राष्ट्रिय प्रहरीलाई सशस्त्र गिरोहमाथि नियन्त्रण कायम गर्न सहयोग गर्नेछ ।
जिएसएफका एक प्रवक्ताका अनुसार श्रीलङ्काली टोली बुधबार राति पोर्ट–अउ–प्रिन्स पुगेको हो । परिचालन सुरक्षाका कारण टोलीको सदस्य सङ्ख्या सार्वजनिक नगरिएको उनले बताए । बलको क्षमता विस्तार गर्ने योजनाअन्तर्गत आगामी केही सातामा थप सुरक्षा टोली पनि परिचालन गरिने जनाइएको छ ।
पूर्ण रूपमा सञ्चालनमा आएपछि उक्त बलमा पाँच हजार पाँच सय वर्दीधारी सुरक्षा कर्मचारी तथा ५० जना नागरिक कर्मचारी रहने लक्ष्य राखिएको छ । यसको मुख्य जिम्मेवारी राजधानी पोर्ट–अउ–प्रिन्सको ठुलो भाग र प्रमुख सडकहरू नियन्त्रणमा लिएका सशस्त्र गिरोहविरुद्ध हाइटी राष्ट्रिय प्रहरीलाई सहयोग गर्नु, रणनीतिक पूर्वाधारको सुरक्षा गर्नु, सार्वजनिक सुरक्षा पुनः स्थापित गर्नु तथा निर्वाचनका लागि आवश्यक वातावरण तयार गर्नु हो ।
हाइटीमा शक्तिशाली आपराधिक गिरोहहरूले हत्या, बलात्कार, लुटपाट र अपहरणका घटना बढाएपछि देश लामो समयदेखि गम्भीर सुरक्षा सङ्कटमा फसेको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कका अनुसार सन् २०२६ को पहिलो छ महिना मात्रै गिरोह हिंसामा कम्तीमा दुई हजार तीन सय जनाको मृत्यु र एक हजार एक सय जना घाइते भएका छन् । उहाँले गत महिना नयाँ सुरक्षा बलको परिचालन अत्यन्त आवश्यक रहेको बताउनुभएको थियो ।
गत वर्ष संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्णयअनुसार गठन गरिएको जिएसएफले सीमित स्रोत र जनशक्तिका कारण प्रभावकारी हुन नसकेको बहुराष्ट्रिय सुरक्षा सहयोग मिसन (एमएसएस) लाई क्रमशः प्रतिस्थापन गर्नेछ । हालसम्म यस बलमा चाड, मङ्गोलिया, जमैका, ग्वाटेमाला, एल साल्भाडोर र श्रीलङ्कासहित छ देशका एक हजारभन्दा कम सुरक्षाकर्मी सहभागी भएका छन् ।
यसैबिच पोर्ट–अउ–प्रिन्सबाट करिब २० किलोमिटर दक्षिणस्थित केन्स्कफ नगरमा बुधबार भएको गिरोह आक्रमणमा धेरै सर्वसाधारणको मृत्यु हुनुका साथै दर्जनौँ घरमा आगजनी भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
हाइटीमा बिग्रँदो सुरक्षा अवस्थाका कारण सन् २०१६ यता कुनै पनि निर्वाचन हुन सकेको छैन । उता, हाइटीका लागि संयुक्त राष्ट्रसङ्घले सन् २०२६ का लागि छुट्याएको ८० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता योजनामा हालसम्म एक चौथाइभन्दा कम रकम मात्रै जुटेको छ । गत जुनमा हाइटी भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय समुदायले हाइटीप्रति देखाएको उदासीनताको आलोचना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण