बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

अफगानिस्तानमा भएको बम आक्रमणमा युएईका राजदूतसहित ५ कुटनीतिज्ञ मारिए

बुधबार, २७ पुस २०७३, १३ : ४८
बुधबार, २७ पुस २०७३

कान्दाहार – अफगानिस्तानको कान्दाहारमा भएको बम आक्रमणमा आफ्नो देशको राजदूतसहित ५ जना कुटनीतिज्ञको मृत्यु भएको संयुक्त अरब एमिरेट्स (युएई) ले बताएको छ । घटनामा ११ जना मारिएका थिए भने १७ अन्य घाइते भएका थिए ।

युएईको सरकारी समाचार एजेनसी डब्लुएएमका अनुसार कुटनीतिक अधिकारीहरु त्यस क्षेत्रमा शिक्षा र विकासको योजना लिएर पुगेका थिए ।

मंगलबार अफगानिस्तानका तीन सहरमा श्रृंखलाबद्ध बम विस्फोट भएको थियो । जसमा कम्तिमा ५० जनाको मृत्यु तथा १ सयभन्दा बढी घाइते भएका थिए ।

त्यो बेलमा युएईको डेलिगेसन कान्दाहारको भ्रमणमा रहेको बताइएको छ । उनीहरुले त्यहाँ युएईको लगानीमा शुरु हुन लागेको विभिन्न परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

उनीहरुको श्रद्धाञ्जलीमा संयुक्त अरब एमिरेट्सका सबै सरकारी कार्यालयमा तीन दिनसम्म झण्डा आधा झुकाउन निर्देशन दिइएको छ ।

यसको आरोप तालिवानमाथि लगाइए पनि उनीहरुले यसको जिम्मा लिएका छैनन् । तालिवानले यो घटनालाई आन्तरिक प्रतिस्पर्धाको कारण भएको बताएको छ ।

कान्दाहारबाहेक काबुलमा भएका दुई बम आक्रमणको भने तालिवानले जिम्मा लिएको छ । जसमा ३० जनाको मृत्यु भएको थियो ।

अर्को घटना दक्षिणी हेलमान्द प्रान्तमा भएको थियो जहाँ ७ जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप