बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
स्वास्थ्य

मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने

बुधबार, ०३ असार २०८३, २० : ३०
बुधबार, ०३ असार २०८३

सारांश

  • स्वास्थ्य मन्त्री निशा मेहताले औषधिको मूल्य समायोजन गर्ने जानकारी दिएकी छिन्।
  • औषधिको सहज आपूर्ति सुनिश्चित गर्न मूल्य समायोजन स्वचालित प्रणाली निर्माण गर्न एक हप्ताभित्र औषधी परामर्श परिषद्को बैठक बस्नेछ।
  • मन्त्री मेहताले क्यान्सर उपचारमा प्रयोग हुने औषधी लगायतका केही औषधीहरूको मूल्य एक दशकभन्दा बढी समयदेखि समायोजन नभएको र हाल विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण बजारमा देखिएको अभावप्रति मन्त्रालय गम्भीर रहेको बताइन्।

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधिको मूल्य समायोजन गर्ने जानकारी दिएकी छिन्। प्रतिनिधि सभामा बुधबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री मेहताले औषधिको मूल्य समायोजनका लागि एक हप्ताभित्र औषधि औषधी परामर्श परिषद्को बैठक बस्ने बताएकी हुन्।

मेहताले औषधिको सहज आपूर्ति सुनिश्चित गर्न मूल्य समायोजन स्वचालित प्रणाली (अटोमेटिक प्राइसीङ सिस्टम) निर्माण गर्न एक हप्ताभित्र औषधी परामर्श परिषद्को बैठकबाट अगाडी बढाइने बताइन् । 

मेहताले भनिन्, ‘क्यान्सर उपचारमा प्रयोग हुने औषधीको अभावबारे उठाउनुभएको सवालप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयलाई सरकारले प्राथमिकतामा राखेको छ । औषधि ऐन २०३५ को दफा २६ बमोजिम नेपाल सरकारबाट हालसम्म जम्मा एक सय १७ प्रकारका औषधिहरूको अधिकतम खुद्रा मूल्य निर्धारण गरिएको छ । जसअन्तर्गत क्यान्सर उपचारमा प्रयोग हुने कार्वोप्लाटीन, सिसप्लाटीन र अक्जीप्लाटीन लगायतका आवश्यक औषधीहरू समेत समावेश छन् । विगत एक दशकभन्दा बढी समयदेखि यी औषधिहरूको मूल्य समायोजन नभएको अवस्था र हाल विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण बजारमा देखिएको केहि औषधिहरूको अभावप्रति मन्त्रालय एकदमै गम्भीर छ । यस समस्याको दीर्घकालीन समाधान गर्दै औषधिको सहज आपूर्ति सुनिश्चित गर्न मूल्य समायोजन स्वचालित प्रणाली (अटोमेटिक प्राइसीङ सिस्टम) निर्माण गर्न एक हप्ताभित्र औषधी परामर्श परिषद्को बैठकबाट अगाडी बढाउने व्यहोरा अवगत गराउन चाहन्छु ।’

हाल विश्व बजारमा कच्चापदार्थको मूल्य वृद्धि, अन्तर्राष्ट्रिय द्वन्द्व तथा आपूर्ति शृङ्खलामा देखिएको अवरोधका कारण उल्लेखित औषधीको आयात तथा आपूर्तिमा देखिएको अवरोध व्यवस्थापन गर्न औषधी व्यवस्था विभागमार्फत आयातकर्ता, तथा अस्पतालबाट दैनिक मौजुदा विवरण सङ्कलन गर्ने व्यवस्था गरिएको बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप