बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

यस्ता छन् भ्याकुमका मोडल, तपाईंलाई कस्तो उपयुक्त ?

बुधबार, १६ चैत २०७३, ११ : ४१
बुधबार, १६ चैत २०७३
बाबाराजा श्रेष्ठ, सञ्चालक, इस्ट अफ काठमाडौं इलेक्ट्रोनिक्स प्रालि धुलो नउडाई सजिलै घरका हरेक कुनाको पनि सरसफाइ गर्न सकिने कारण भ्याकुम क्लिनर अहिले हरेक घर तथा कार्यालयमा अनिवार्य नै भएको छ । अग्लो घरमा पनि सहजै पहुँँच पुग्ने भएकाले, झ्याल–ढोका, सोफाको कुनाको धुलो पनि सफा गर्न भ्याकुम उपयोगी हुन्छ । यसमा जडान गर्न मिल्ने फरक खालका ब्रस तथा टुल्सको माध्यमद्वारा कम्प्युटरको किबोर्डजस्ता सामान पनि सफा गर्न सकिन्छ । आवश्यकताअनुसार धुलो तान्ने वा उडाउने विधि प्रयोग गरेर घर तथा कार्यालय सफा गर्न भ्याकुम उपयुक्त हुन्छ । यसको प्रयोग गर्ने व्यक्ति धेरै निहुरिनुनपर्ने हँुदा सजिलो पनि हुन्छ । ग्राहकको आवश्यकताअनुसार अहिले बजारमा तीन प्रकारका भ्याकुम पाइन्छन् । नर्मल ब्याग, ब्यागलेस भ्याकुम र ड्रम भ्याकुम प्रचलनमा छन् । नर्मल ब्याग भ्याकुम यो सबैभन्दा धेरै चल्ने पुरानो मोडलको भ्याकुम हो । भ्याकुमभित्र सानो थैलामा फोहोर जम्मा हुने कारण यसलाई ब्याग भ्याकुम भनिएको हो । यो भ्याकुम बजारमा १३ सय वाटदेखि दुई हजार वाटसम्मको छनोट गर्न पाइन्छ । यो मोडलको भ्याकुम प्रयोग गर्दा करिब १० मिनेट चलाएपछि केही समय आराम दिनुपर्छ । अन्यथा भ्याकुममा प्रयोग गरिएको मोटर तात्छ । जसले गर्दा भ्याकुल जलेर बिग्रन सक्छ । भ्याकुम प्रयोग गरिसकेपछि यसको ब्याग र फिल्टर राम्रोसँग सफा गर्नुपर्छ । सो ब्यागलाई सफा गर्ने भन्दैमा धुन भने मिल्दैन । टकटक्याएर सफा गर्नुपर्छ । ब्याग धेरै पुरानो भएमा परिवर्तन गर्नुपर्छ । यस्तो ब्याग इलेक्ट्रोनिक पसलमा सजिलै पाइन्छ । ब्यागलेस भ्याकुम ब्यागलेस भ्याकुममा फोहोर जम्मा गर्न थैलोको स्थानमा प्लास्टिकको बट्टा राखिएको हुन्छ । यो भ्याकुम पनि १४ सय वाटदेखि दुई हजार वाटसम्म बजारमा पाइन्छ । तुलनात्मक रूपमा यस्तो भ्याकुमबाट सफा गर्न सजिलो हुन्छ । फोहोर जम्मा हुने बट्टा पखाल्न मिल्ने कारण सफा राख्न सहज हुन्छ । आफ्नो आवश्यकताअनुसार धुलो तान्ने र उडाउने गरी दुइटै सुविधा भएको भ्याकुम पनि पाइन्छ । यो भ्याकुम पनि निरन्तर लामो समय चलाउनुहँुदैन । केही समय चलाएपछि केही बेर आराम दिनुपर्छ । ड्रम भ्याकुम अन्य भ्याकुमभन्दा पावरफुल परफर्मेन्स भएको भ्याकुम हो ड्रम भ्याकुम । यो मोडलले सुक्खा तथा चिसो फोहोर पनि सजिलै सफा गर्न सकिन्छ । यो भ्याकुम १८ सय वाटदेखि २४ सय वाटसम्ममा उपलब्ध हुन्छ । तर, धेरै नै भिजेको फोहोर सफा गर्न भने यस्तो मेसिन प्रयोग गर्नुहँुदैन । यसको भित्रपट्टि फोहोर जम्मा गर्ने ब्यागको साइज पनि ठूलो हुन्छ । यो पनि हावा फाल्ने र फोहोर तान्ने मोडलमा पनि उपलब्ध छ । विशेषगरी यो मोडल घरायसीभन्दा ठूला भवन तथा कार्यालयमा प्रयोग गरिन्छ । थप टिप्स —भ्याकुम चलाउँदै गर्दा फिल्टरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । फिल्टरमा फोहोर जम्मा भए भ्याकुमले राम्रोसँग काम गर्न सक्दैन । —फिल्टर सफा गर्न मेसिनबाट निकालेर घाममा केही समय सुकाउने, त्यसपछि टकटक्याएर ब्रसले राम्रोसँग सफा गर्न सकिन्छ । —सामान्यतया सबै ब्रान्डका भ्याकुममा एक वर्षको वारेन्टी सुविधा हुन्छ । टुटफुटबाहेक सबै उपकरण बिग्रिएमा कम्पनी वारेन्टी अवधिभित्र मर्मत गरिदिन्छ । —क्षमताअनुसार मूल्य फरक हुन्छ । सामान्य घरायसी प्रयोजनका लागि भने ब्रान्डअनुसार पाँच हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । —भ्याकुम क्लिनर खरिद गर्दा मूल्यलाई मात्र आधार मान्नुहुँदैन । केही महँगो भए पनि ब्रान्डेड उपकरण छनोट गर्नु फाइदाजनक हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप