विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
सारांश
- सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोधको शैली परिवर्तन गराउने प्रयास गरे पनि सफल हुन सकेका छैनन्।
- विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको विरोधमा ४० दिनदेखि निरन्तर विरोध गर्दै आएका छन्।
- सभामुखको एक जनाले मात्र बोल्ने आग्रहलाई विपक्षीले नमानेपछि सभामुखले क्रमशः विभिन्न दलका सांसदहरूलाई बोल्न समय दिएका थिए।
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा निरन्तर भइरहेको विपक्षी दलहरूको विरोधको शैली परिवर्तन गराउन प्रयास गरेपनि सफल हुन सकेका छैनन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादबारे दिएको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले ४० दिनदेखि प्रतिनिधिसभा बैठक सुरु हुनासाथ बोल्दै आएका छन्। बिहीबारको बैठकमा सभामुख अर्यालले सबै विपक्षी सांसदले पालैपालो बोल्नुको सट्टा विपक्षीको तर्फबाट एक जनाले मात्रै धारणा राखेर बैठक अघि बढाउन आग्रह गरेका थिए।
‘निरन्तर एउटै विषयमा सबै विपक्षी दलका सांसदहरूले विरोध गर्दै आउनुभएको छ। विपक्षी दलहरूको तर्फबाट एक जनाले कुरा राख्ने र सभालाई अगाडि बढाउने गरौँ,’ सभामुख अर्यालले भने।
उनले विरोधका क्रममा उठाइएको विषयमै केन्द्रित हुन पनि आग्रह गरे।
‘मैले माननीय सदस्यहरूलाई आग्रह गरेबमोजिम नै विरोध गर्ने क्रममा विषयमा मात्रै बोल्नुस्, त्यहाँबाट बाहिर नजानुस् भनेर सभामुखले भनिरहनुपर्ने अवस्था आउनु राम्रो होइन,’ उनले भने, ‘जुन विषयवस्तुको लागि विरोध सुरु गरिएको हो, त्यहीभित्र बसेर आफ्ना भनाइ राख्दा त्यसको औचित्य पनि पुष्टि हुन्छ।’
सभामुखले त्यसअनुसार विपक्षी दलको तर्फबाट नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिए। कामीले धारणा राखिसकेपछि पनि विपक्षी दलहरू एक जनाले मात्रै बोल्ने प्रस्तावमा सहमत भएनन्। उनी बोलिसकेपछि अन्य विपक्षी सांसदहरू पनि आ–आफ्नो ठाउँबाट उठेर बोल्न माग गर्न थाले।
त्यसपछि सभामुख अर्यालले पुनः आग्रह गर्दै भने, ‘सबै माननीय सदस्यहरूलाई विपक्षी बेन्चतर्फ मेरो अनुरोध छ, फेरि पनि एक जना माननीय सदस्यले यहाँहरू सबैलाई प्रतिनिधित्व गर्दै बोलिसक्नु भएको हुनाले हामी दैनिक कार्यसूचीमा प्रवेश गरौँ।’
तर विपक्षी दलहरूले सभामुखको आग्रह मानेनन्। प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ‘भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर विरोध गर्दै आएका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको तथ्य प्रस्तुत गर्नुपर्ने, अन्यथा प्रतिनिधिसभाको रोस्ट्रमबाट उक्त भनाइ फिर्ता लिएर माफी माग्नुपर्ने माग राख्दै आएका छन्।
विरोध लामो समयदेखि एउटै विषयमा केन्द्रित रहेको उल्लेख गर्दै सभामुख अर्यालले अन्तिमपटक पनि आग्रह गरेका थिए।
‘सबै जनाको कुरा सुन्दा विषयवस्तु एउटै नै हुन्छ। यसकारण सभालाई मर्यादित बनाउन र समयको ख्याल गर्न विपक्षी बेन्चको तर्फबाट एक जनाले बोलेर आजको बैठक अगाडि बढाउन सहयोग गर्न अनुरोध गर्न चाहन्छु,’ उनले भने।
तर विपक्षी दल सहमत नभएपछि सभामुखले क्रमशः एमालेकी एसुदा बराल, नेपाली कम्युनिस्ट पार्टीकी भीमकुमारी बुढा, श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बु र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीलाई पनि बोल्न समय दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
-
सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
-
शरीरमा आगो लगाएर आत्मदाह प्रयास
-
यस्तो देखियो गण्डकी–लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण