बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?

बिहीबार, २५ असार २०८३, १४ : ११
बिहीबार, २५ असार २०८३

सारांश

  • मोरक्कोका मुख्य प्रशिक्षकले विश्वकप जित्न सक्ने अभिव्यक्ति दिएका छन्, जुन कतार २०२२ को सेमिफाइनल यात्रापछि अझ बलियो भएको छ ।
  • नेदरल्यान्ड्स र क्यानडाविरुद्धको प्रभावशाली प्रदर्शनले मोरक्कोको टोली विश्व च्याम्पियन बन्न आवश्यक गुणहरू देखाएको छ ।
  • मोरक्कोको टोली बलियो रक्षाका साथै मध्यपङ्क्तिमा बल नियन्त्रण, छिटो आक्रमण र बेन्च खेलाडीको उत्कृष्ट प्रदर्शनले विश्वकप जित्ने सम्भावना बढेको छ ।

फिफा विश्वकप २०२६ सुरु हुनुअघि मोरक्कोका मुख्य प्रशिक्षक मोहम्मद ओहबीसँग राष्ट्रिय टोलीको लक्ष्यबारे प्रश्न गरिएको थियो । उनको जवाफ साहसी, स्पष्ट र केही हदसम्म चुनौतीपूर्ण थियो, ‘हामी विश्वकप जित्न सक्छौं ।’

जब मैले पहिलो पटक यो भनाइ सुनेँ, मलाई लाग्यो उनले अलि सावधानीपूर्वक शब्द छनोट गर्न सक्थे ।

फुटबलमा हरेक प्रशिक्षकले आफ्ना खेलाडीलाई आत्मविश्वासी बनाउन खोज्छन् भन्ने कुरा सबैलाई थाहा छ । तर विश्वकप यस्तो प्रतियोगिता हो, जहाँ अत्यधिक आत्मविश्वासपूर्ण भविष्यवाणी धेरै पटक उल्टै महँगो साबित भएको छ । कठिन समूह, कठिन नकआउट चरण र शक्तिशाली प्रतिद्वन्द्वीबीच उनको यो अभिव्यक्तिले पछि उनलाई नै अप्ठ्यारोमा पार्न सक्छ भन्ने लागेको थियो ।

तर समूह चरणका तीन खेल र त्यसपछि दुई नकआउट खेलपछि म केवल उनको भनाइ दोहोर्‍याइरहेको छैन, अझ एक कदम अगाडि बढेर भन्न सक्छु, ‘मोरक्कोले विश्वकप जित्न सक्छ । अझ आगामी धेरै वर्षसम्म विश्व फुटबलमा आफ्नो प्रभुत्वसमेत कायम गर्न सक्छ ।’

  • कतार २०२२ पछि जन्मिएको ठूलो सपना

फुटबलले कहिलेकाहीँ सपना देख्नेहरूलाई अप्रत्याशित सफलता पनि दिन्छ । सन् २०१८ को रूस विश्वकपमा क्रोएसियाको फाइनल यात्रा त्यस्तै उदाहरण थियो । त्यस्तै, मेरो आफ्नै देश मोरक्कोले कतार विश्वकप २०२२ मा अप्रत्याशित रूपमा सेमिफाइनल पुगेर इतिहास रचेको थियो ।

त्यो उपलब्धिले मोरक्कोलाई एक दिन अफ्रिका र अरब विश्वकै पहिलो विश्वकप विजेता बनाउने राष्ट्रिय सपना अझ बलियो बनायो । साथै देशभित्र २०२६ मै विश्वकप जित्न सकिने विश्वास पनि बढायो ।

अब अमेरिकामा भइरहेको विश्वकप क्वार्टरफाइनल चरणमा प्रवेश गर्न लाग्दा मेरो विश्वास झन् बलियो भएको छ । किनभने यो टोलीले प्रतियोगिताभर विश्व च्याम्पियन बन्न आवश्यक पर्ने लगभग सबै विशेषता देखाइसकेको छ । यस वर्षको विश्वकपमा सबैलाई चकित पार्ने विजेता बन्ने क्षमता यही टोलीसँग छ ।

  • नेदरल्यान्ड्समाथि प्रभावशाली नियन्त्रण

राउन्ड अफ ३२ मा विश्व वरीयताको आठौं स्थानमा रहेको नेदरल्यान्ड्सलाई हराउनु मोरक्कोका लागि प्रतियोगिताकै सबैभन्दा ठूलो सफलता थियो । डच टोलीले आफ्नो प्रसिद्ध ‘टोटल फुटबल’ शैली त्यागेर रक्षात्मक रणनीति अपनाउन बाध्य भयो । यसले अहिले विश्व फुटबलका शक्तिशाली राष्ट्रहरूले पनि मोरक्कोलाई कति सम्मान गर्न थालेका छन् भन्ने स्पष्ट देखाउँछ ।

Morrocooo444

मोरक्को सुरुआतमै पछि परेको थियो । तर अन्तिम समयमा बराबरी गोल गर्दै निर्धारित समय १–१ मा टुङ्ग्यायो । अतिरिक्त समयमा पनि जित्न सक्ने अवसर थियो । अन्ततः दुवै टोलीका खेलाडीहरूले धेरै पेनाल्टी चुकाएको असामान्य पेनाल्टी सुटआउटमा मोरक्को ३–२ ले विजयी भयो ।

त्यस खेलको सबैभन्दा महत्वपूर्ण तथ्याङ्क भनेको बलमाथिको नियन्त्रण थियो । विश्व फुटबलकै सबैभन्दा आक्रामक टोलीमध्ये एक नेदरल्यान्ड्सविरुद्ध मोरक्कोले ७० प्रतिशत बल नियन्त्रण राख्दै अधिकांश समय खेल आफ्नो नियन्त्रणमा राख्यो ।

  • सह–आयोजक क्यानडाविरुद्धको परिपक्व प्रदर्शन

नेदरल्यान्ड्समाथिको जित ठूलो उपलब्धि थियो भने अन्तिम १६ मा सह–आयोजक क्यानडामाथिको ३–० को जित अझ महत्त्वपूर्ण थियो । यस्ता खेलहरूले राम्रो टोली र महान टोलीबीचको फरक देखाउँछन् ।

यदि मोरक्कोले फ्रान्सलाई हरायो भने त्यो केवल कतारको पीडा मेटाउने विषय हुने छैन । त्यो विश्व फुटबलको अभिजात वर्गमा आफ्नो स्थान स्थायी रूपमा स्थापित गर्ने उपलब्धि हुनेछ । स्पेन र बेल्जियमलाई त यसले कतार विश्वकपमै हराइसकेको थियो ।

मोरक्कोले अत्यन्त प्रभावकारी रूपमा अवसर सदुपयोग गर्‍यो । प्रशिक्षकको रणनीति उत्कृष्ट थियो ।

बेन्चबाट आएका खेलाडीहरूले खेलको दिशा परिवर्तन गरे । धैर्य, अनुशासन र सामूहिक समझदारीले तीव्र गतिका, शारीरिक रूपमा बलिया तथा संघर्षशील क्यानडाली टोलीलाई पूर्ण रूपमा निष्प्रभावी बनायो ।

Morrooo2222

यी सबै गुण विश्वकप विजेता टोलीमा पाइने विशेषता हुन् । अझ उल्लेखनीय कुरा के भने, मोरक्को हरेक खेलसँगै तीव्र गतिमा अझ बलियो बन्दै गएको छ ।

कतारमा मोरक्को मुख्यतः रक्षात्मक खेलका आधारमा इतिहास रचिरहेको थियो । तर अहिले यो टोली आफ्नो खेलकै माध्यमबाट इतिहास लेखिरहेको छ ।

  • केवल रक्षा होइन, अब खेल नियन्त्रण पनि

निस्सन्देह बलियो रक्षाविना विश्वकप जित्न सकिँदैन । मोरक्कोको रक्षात्मक अनुशासन अझै पनि यसको पहिचान हो । तर अहिले टोली त्यसमा मात्र सीमित छैन । मध्यपङ्क्तिले बल नियन्त्रणमा धेरै आत्मविश्वास देखाएको छ ।

रक्षाबाट आक्रमणमा रूपान्तरण छिटो र प्रभावकारी भएको छ । आक्रमणमा विविधता आएको छ । अब यो टोली केवल प्रतिआक्रमणमा निर्भर छैन । आवश्यक पर्दा उच्च प्रेसिङ गर्न सक्छ । आवश्यक पर्दा धैर्यपूर्वक अवसरको प्रतीक्षा पनि गर्न सक्छ । अर्को ठूलो परिवर्तन भनेको टोलीको गहिराइ हो ।

चार वर्षअघि पहिलो रोजाइका ११ खेलाडीमाथि लगभग सम्पूर्ण जिम्मेवारी थियो । तर अहिले बेन्चमा रहेका खेलाडीहरूले पनि निर्णायक भूमिका खेलिरहेका छन् । क्यानडाविरुद्धको तेस्रो गोल त्यसको उत्कृष्ट उदाहरण थियो । बेन्चबाट आएका चेम्सदिन ताल्बीले आक्रमण सुरु गरे । ब्राहिम डियाजले त्यसलाई अघि बढाए । अर्का वैकल्पिक खेलाडी सुफियान रहिमीले गोल पूरा गरे ।

  • फ्रान्सः अब सबैभन्दा कठिन परीक्षा

अब विश्वकप ट्रफी उचाल्न मोरक्कोले अझ तीन खेल जित्नुपर्छ । मलाई प्रशिक्षक ओहबीजस्तै विश्वास छ कि यो सम्भव छ । तर यो विश्वासको सबैभन्दा ठूलो परीक्षा क्वार्टरफाइनलमा विश्वकपको दाबेदार तथा पूर्व उपनिवेशवादी शक्ति फ्रान्सविरुद्ध हुनेछ ।

Morrocoooo

धेरैले यसलाई कतार २०२२ को सेमिफाइनलको बदला भन्नेछन् । म भने त्यसरी हेर्दिनँ । बदला राम्रो शीर्षक बन्न सक्छ ।

तर वास्तविक प्रश्न अर्कै हो । के मोरक्कोले फ्रान्ससँगको स्तरको ग्याप वास्तवमै घटेको प्रमाणित गर्न सक्छ ? यदि मोरक्कोले फ्रान्सलाई हरायो भने त्यो केवल कतारको पीडा मेटाउने विषय हुनेछैन । त्यो विश्व फुटबलको अभिजात वर्गमा आफ्नो स्थान स्थायी रूपमा स्थापित गर्ने उपलब्धि हुनेछ ।

  • त्यसपछि स्पेन वा बेल्जियम

यदि मोरक्को फ्रान्सलाई हराउन सफल भयो भने सेमिफाइनलमा स्पेन वा बेल्जियममध्ये एक टोलीसँग खेल्नेछ । तर यीमध्ये कुनै पनि टोली अब मोरक्कोको लागि डराउनै पर्ने प्रतिद्वन्द्वी होइनन् ।

कतार विश्वकपमा मोरक्कोले स्पेनलाई अन्तिम १६ मा तथा बेल्जियमलाई समूह चरणमै हराइसकेको थियो । ती जितहरूले टोलीको सोच नै परिवर्तन गरिदिए । अब मोरक्को युरोपेली शक्तिशाली राष्ट्रसँग आश्चर्यजनक नतिजाको अपेक्षा गरेर मैदानमा उत्रिँदैन ।

उनीहरू समान स्तरमा प्रतिस्पर्धा गर्न मैदानमा उत्रिन्छन् ।

  • सम्भावित फाइनल

यदि मोरक्को फाइनल पुग्यो भने सम्भावित प्रतिद्वन्द्वी अर्जेन्टिना, इङ्ग्ल्यान्ड, नर्वे वा स्विट्जरल्यान्ड हुन सक्छन् । अर्जेन्टिनासँग ठूलो अनुभव छ । तर केप भर्डेविरुद्धको संघर्षपूर्ण खेल तथा इजिप्टविरुद्धको विवादास्पद पुनरागमन जितले साविक विजेताको कमजोरी पनि देखाइसकेको छ । रणनीतिक हिसाबले भने इङ्ग्ल्यान्ड मोरक्कोका लागि सबैभन्दा अनुकूल प्रतिद्वन्द्वी हुन सक्छ ।

मोरक्कोको सुदृढ रक्षा र तीव्र आक्रमण रूपान्तरणले इङ्ग्ल्यान्डको कहिलेकाहीँ देखिने सिर्जनात्मक कमजोरीको फाइदा उठाउन सक्छ । निस्सन्देह यी सबै कारणले मात्र उपाधि सुनिश्चित गर्दैनन् । विश्वकप कहिलेकाहीँ पूर्ण रूपमा अप्रत्याशित हुन्छ ।

ब्राजिल नर्वेसँग हार्ला वा जर्मनी पाराग्वेसँग पराजित होला भनेर कसले सोचेको थियो ? तर एउटा समय यस्तो आउँछ, जब विश्वास केवल भावनाले होइन, प्रमाणले पनि बलियो हुन्छ ।

  • उज्ज्वल भविष्य

धेरै वर्षसम्म मोरक्कोले विश्व फुटबलका महाशक्तिसँग बराबरीमा प्रतिस्पर्धा गर्ने सपना देख्यो । कतारमा एटलस लायन्सले आफू त्यस स्तरको टोली भएको प्रमाणित गर्‍यो । तर अहिले उनीहरूसामु त्योभन्दा पनि ठूलो अवसर छ । त्यो हो, विश्व फुटबलमा लामो समयसम्म प्रभुत्व जमाउने । कतारमा हामीले विश्वलाई चकित पारेका थियौं । अब हाम्रो लक्ष्य विश्वलाई पराजित गर्नु हो ।

त्यसैले आज र चार वर्षअघिको सबैभन्दा ठूलो अन्तर केवल रणनीतिमा होइन, मानसिकतामा छ । जब प्रशिक्षक मोहम्मद ओहबीले ‘मोरक्कोले विश्वकप जित्न सक्छ’ भनेका थिए, मलाई लाग्यो उनी हामीलाई विश्वास गर्न प्रेरित गरिरहेका छन् । तर आज आएर मैले बुझेको छु, उनी केवल आफ्नो अगाडि उभिएको विश्वस्तरीय टोलीको वास्तविक परिचय दिइरहेका थिए । त्यो टोली, जो विश्व च्याम्पियन बन्न सक्छ ।

(अली एल गर्नी युरोपेली तथा उत्तर अफ्रिकी फुटबलबारे जानकार २० वर्षभन्दा बढी अनुभव भएका खेल पत्रकार हुन् । अलजजिराबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली एल गर्नी
अली एल गर्नी
लेखकबाट थप