बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

बालबालिकामा कार्टुन मोह : कतै हिंसात्मक मनोविज्ञान त सिकाउँदै छैन ?

मङ्गलबार, २२ चैत २०७३, ११ : ४१
मङ्गलबार, २२ चैत २०७३

सुधिरमान सिंह बि.के.खाती

प्रसिद्ध अमेरिकी बैङ्कर हिदी स्टेनलीले सन् १९९० तिर रचित कृति ‘कलेज फ्रेसमेन’मा लेखेकी छिन्– “टिभी एउटा यस्तो पार्क हो, जहाँ हामी विद्यालय समयपछि सधैँ रमायाँै” । आज भोलिका बालबालिकाहरु हिदी स्टेनलीजस्तै स्कुलबाट घर आउने बित्तिकै टिभी (कार्टुन) मा नरमाउने सायदै कम होलान् । हालैका वर्षहरुमा बालबालिकाहरुका लागि कार्टुन मनोरञ्जनको प्रमुख साधनको रुपमा स्थापित भइरहेको छ । गृहिणी महिलाहरुका माझ हिन्दी सिरियल अति लोकप्रिय भएजस्तै बालबालिकाका लागि कार्टुन लोकप्रिय भएको छ । कार्टुन हेर्ने संस्कारकै कारण बालबालिकाद्वारा दिनभर टिभी वा युटुबमा समय बिताउने कुरा हाम्रो लागि अब नौलो रहेन । बिहान उठनासाथ र राति सुत्नुअघि बालबालिकाहरु कार्टुनमा रमाउँछन् । विद्यालयको गृहकार्य गर्ने समयमा पनि कतिपय बालबालिकालाई कार्टुन लगाइदिनुपर्छ । अन्यथा स्कुलको गृहकार्य गर्दिन भनेर घुर्की लगाउँछन् । यस्तो अवस्थामा अधिकांश अभिवाक कार्टनु हेर्न दिनु नै उत्तम ठान्दछन् । तर ती बालबालिकाहरुले हेर्ने कार्टुन कतिको बालमैत्री छ वा छैन यस बारे अभिभावकको ध्यान बिरलै जाने गर्दछ ।

त्यसैगरी कतिपय घरहरुमा अभिभावकले टिभीमा प्रसारित हत्या, हिंसा, युद्ध, अपराध र यौनजन्य कार्यक्रम हेर्दैगर्दा छेउमा बसेर सो कार्यक्रम नियालिरहेका कलिला बालबालिकाहरुमा के कति नकारात्मक असर पर्न सक्ला भनेर लेखाजोखा नभएको अवस्था छ । गम्भीर विषयवस्तुलाई सही ढङ्गले लेखाजोखा नगर्नु नेपाली समाजका लागि सामान्य हुन सक्छ । तर संयुक्त राज्य अमेरिकाको सिनसिनाटी क्षेत्रमा कार्यरत मनोविज्ञ डायना फिसरले आफ्ना ८ र १० वर्षका छोराहरुद्वारा कसैलाई मारपिट गर्ने गोप्य योजनाबारे चालपाउना साथ एउटा कुरा सम्झिन् । जुन उनले भुलवश ती बालकहरुका लागि हिंसात्मक कार्टुन ल्याइदिएकी थिइन् । आफ्ना दुई छोराहरुले हेरिरहेको हिंसात्मक टिभी कार्यक्रम अकस्मात बन्द गर्दै डायाना फिसरले भनिन् “हाम्रो घरमा कुनै किसिमको हत्या, हिंसाजन्य मनोरञ्जनात्मक टिभी कार्यक्रम बन्देज छ ।”

नेपालमा लोकप्रिय कार्टनुहरु

नेपालमा कलिला बालबालिकाले अत्यधिक रुचाउने कार्टुनहरु क्रमशः ‘मोटु और पत्लु’, ‘सिवा’ र ‘क्रिस’ हुन् । यी कार्टुन भनेपछि हाम्रा बालबालिका हुरुक्कै हुन्छन् । यी कार्टुनप्रतिको क्रेज दिन दुइ गुणा र रात चार गुणा बढ्दो छ । कार्टुनमा बोलिने हिन्दी शब्द र देखिने चित्रहरुले बालबालिकामा अमिट छाप पार्न गएको छ । केही अभिभावकले राष्ट्रिय पत्रपत्रिकामा आफ्ना बालबच्चाहरुले कार्टुन हेरी नेपाली भाषा भन्दा विदेशी भाषा बोल्न सिकेको भन्ने कुरा व्यक्त गर्दै आएका छन् । अतः कुनै पनि कार्टुन हाम्रो देशमा लोकप्रिय हुनु र बालबालिकाले औधी मनपराउनु आफैमा सराहनीय कुरा हो । तर ती कार्टुनले कालान्तरमा पार्ने प्रभावबारे अमेरिकी मनोविज्ञ डायाना फिसर जस्तै अभिभावक चनाखो हुन जरुरी छ । अन्यथा धेरै ढिलो भइसकेको हुनेछ । सारमा यी कार्टुनद्वारा नैतिक शिक्षाको पाठ पढाए पनि यिनमा राखिएका ७० देखि ९० प्रतिशत हिंसात्मकदृश्य र अन्तक्रियाले के कस्तो नकारात्मक असर पार्न सक्दछ । यसबारे हामी अभिभावक अहिले जागरुप नभए कहिले हुने ?

नैतिकताको पाठ सिकाउने नाममा क्रिस र सिवा जस्ता कार्टुनहरुले प्रत्येक ६० सेकेन्डमा हिंसा र द्वन्द्वको सहारा लिएको छ । कार्टुन क्रिसमा गुरु कंश र चेला क्रिसबीच उन्नत समयसम्म चलिरहने मारपिट, छलकपटका घटनालाई प्रस्तुत गरिएको छ । अर्कोतर्पm कार्टुन सिवामा एउटा अद्भूत बालक ‘सिवा’लाई मुख्य पात्र बनाइएको छ । जोसँग एउटा चामत्कारिक साइकल हुन्छ । जसलाई सिवा गुडाउन र उडाउन दुवै सक्दछ । यस कार्टुनमा सिवाले प्रहरीद्वारा गर्न नसक्ने असम्भव काम गरी प्रहरीलाई मद्दत गरिरहन्छ । तर सो कार्यका लागि पनि चर्को रुपमा हिंसालाई नै प्रश्रय दिएको छ ।

अब कुरा गरौँ मोटु और पत्लुको । यस पङ्क्तिकारले अघिल्लो हरफहरुमा उक्त कार्टुनको लोकप्रियता बारे जानकारी गराइसकेको छ । यो कार्टुन बालबालिकाले रुचाइएको यस्तो कार्टुन हो जसमा एकजना पनि बाल कलाकार पाइँदैन । अर्थात सम्पूर्ण कलाकार वयस्क मात्र छ ।

विशेषगरी दुई साथी मोटु र पत्लुले आफ्नो गाउँ फुरफुरी नगरमा भए गरेका अपराधजन्य घटनाहरुलाई निस्तेज पार्न हरसम्भव प्रयासरत रहन्छन् । अपराधीहरुसँग लड्ने भिड्ने कार्यमा पनि यी दुई पात्रहरुलाई नै मुख्य भूमिका दिइएको छ । समोसा खाएपछि असमान्य शक्ति प्राप्त गर्ने मोटु र जस्तो सुकै अप्ठ्यारो परिस्थितिमा आइडिया (दिमाग) लगाउन सक्ने पत्लु बीचको केमेस्टी (जोडी) अद्भुत रुपमा प्रस्तुत गरिएको छ । यसका बाबजुत यो कार्टुनले पनि अत्यधिक हिंसाजन्य घटनालाई नै उच्च प्राथमिकता दिएको पाइन्छ । सिवा र क्रिसस जस्तै मोटु और पत्लुले नैतिक शिक्षा दिने नाममा हिंसालाई नै विकाउ र प्रभावकारी माध्यम बनाएको छ ।

हिंसाजन्य कार्टुनको विकल्प

आफ्ना बालबालिकालाई चरम हिंसाजन्य कार्टुनको कुलतबाट छुट्टाउन हामीसँग अनेकौँ विकल्पहरु छन् । मोटु और पत्लु, सिवा र क्रिसस जस्ता कार्टुन हेरिरहेका बालबालिकालाई अकस्मात उक्त कार्यक्रममाथि बन्देज लगाउँदा बालबालिका अवस्य असतुष्ट हुन्छन् । केही दिन वा हप्ता अभिभावकहरुले बालबालिकाबाट अप्ठ्यारो परिस्थितिको सामना गर्नु पर्दछ । तर हिंसाजन्य कार्टुनबाट उनीहरुलाई मुक्ति दिलाउन सकिन्छ ।

जुन प्रत्येक अभिभवाकको कर्तव्य हो । यसको अर्थ बालबालिकामाथि सबै कार्टुन बन्देज लगाउनु होइन । हामीले आफ्ना बालबालिकालाई कम हिंसाजन्य निन्जा हतौडी, हेनरी, ओगी एन्ड कोकरोजेज, सन् द सिप, लार्भा र चार्ली जस्ता कार्टुन हेर्न प्रेरित गर्नु श्रेयकर हुनेछ ।

यी कार्टुनमध्ये पनि निन्जा हतौडी बालबालिकाको लागि सर्वोत्तम कार्टुनकै श्रेणीमा राख्दा खासै फरक नर्पला । यस कार्टुनको प्रमुख विशेषता भनेको मुख्य पात्र बाल कलाकार हुनु । पारिवारिक एवम् विद्यालय परिवेशलाई प्राथमिकता दिनु । बालबालिकाहरुलाई नैतिक शिक्षा दिनु तर हिंसाजन्य घटनालाई अत्यन्त कम प्राथमिता दिनु हो । ‘मासा एन्ड वियर’ यो कार्टुन विश्वका २५ प्रमुख भाषाहरुमा ट्रान्सलेसन गरिएको र १००औँ देशहरुमा प्रसारण हुन्छ । बालबालिकाहरुका लागि रोचक लाग्ने यस कार्टुनका मुख्य दुई कलाकार मासा र वियर हुन ्। ‘मासा’ रसियन केटी हुन् । यिनी जङ्गलको छेउमा बस्छिन् । यी पात्रको स्वभाव दयालु, चतुर र चकचके हुन्छ । प्रायः यिनको चकचके स्वभावकै कारण यिनले कामहरु विगारि रहन्छन् । ‘वियर’यस कार्टुनको दोस्रो पात्र हुन् । निकै ठूलो शरीरको यी भालु अति नै भलादमी र उदार दिलका हुन्छन् । यिनले मासाद्वारा विगारेका सम्पूर्ण कामहरुलाई बनाउने गर्दछन् । कतिपय अवस्थामा वियरले मासालाई उदार गर्ने क्रिसममा अप्ठ्यारो अवस्थाको सामना गर्नुपर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप