बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

मोटोपन घटाउने तरिका गलत हुन सक्छ

बुधबार, २३ चैत २०७३, १० : २९
बुधबार, २३ चैत २०७३
प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ, वीर अस्पताल शरीर अनावश्यक रूपमा मोटाउनाले आजभोलि धेरै मानिस चिन्तित हुने गर्छन् । जसले गर्दा आफ्नो शरीरको तौल कम गर्न विभिन्न उपाय अपनाउने गर्छन् । मोटोपन घटाउन कतिपय मानिस विभिन्न औषधि पनि प्रयोग गर्ने गर्दछन् । तर, यसरी जुन पायो त्यही औषधि सेवन तथा भोकै बस्ने बानीले शरीरलाई हानि पु¥याउन सक्छ । आफ्नो शरीरमा भएको मोटोपनलाई स्वस्थ तरिकाले हटाउने उपायबारे वीर अस्पतालका मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीका सुझाब  यस्ता छन्: आफ्नो शरीर घटाउने बहानामा भोकै बस्ने बानी धेरैको हुन्छ । यसबाट विभिन्न विकृति उत्पन्न हुन सक्छ । हप्तामै एक किलोग्रामभन्दा बढी तौल घटाउने प्रयास गर्नु हुँदैन । उसिनेको भोजन मात्रै खानुपर्छ भन्ने धारणा पनि गलत हो । त्यसलाई स्वादिस्ट बनाउन केही मरमसला प्रयोग गर्न सकिन्छ । नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ । बिहान–बेलुकाको मुख्य खानाको सुरुवात सुपबाट गर्नु उत्तम हुन्छ । सुप खाएपछि पेट चाँडै भरिन्छ । जसले अरू खाद्य पदार्थ कम खाइन्छ । सुपमा चिल्लो भने हाल्नु हुँदैन । कुनै पनि खाद्य पदार्थलाई राम्रोसँग चपाएर झोल बनेपछि मात्र निल्नु बेस हुन्छ । दैनिक तीन–चारपटकभन्दा बढी खानु हुँदैन । नियमित रूपले निश्चित मात्रामा खाद्य पदार्थको सेवन गर्नुपर्छ । एकैपटक धेरै खाना खानु फाइदाजनक हुँदैन । शरीरमा भोक लागिरहेको अवस्थामा कम क्यालोरी भएका परिकार खान सकिन्छ । त्यसका लागि गाँजर, काँक्रो, कागतीको सर्बत आदि प्रयोग गर्न सकिन्छ । बेलुकाको खाना ७ बजेभित्र खानु उपयुक्त हुन्छ । खाना खानेबित्तिकै सुतिहाल्नु हानिकारक हुन्छ । तौल घटाउनका लागि उचित व्यायाम पनि खानाजत्तिकै महत्वपूर्ण छ । त्यसकारण बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित नुहाउनुपर्छ । यसले शरीरलाई स्वच्छ र फुर्तिलो बनाउँछ । योगासन र प्राणायमबाट पनि तौल घटाउन सकिन्छ । डाइटिङ सुरु गरेको केही हप्तासम्म छटपटी लाग्ने हुन्छ । त्यस्तै मिठो, अत्यधिक क्यालोरी दिने खाद्य पदार्थ खान मन लाग्ने, निद्रा नपर्ने, पेट पोल्ने, अमिलो आउने लक्षण देखापर्न सक्छन् । यी लक्षणलाई आत्मबलले दबाउनुपर्छ । तौल घटाउने दृढसंकल्प लिएमा यस्ता सानातिना समस्यालाई सजिलै निराकरण गर्न सकिन्छ । पेटभित्रको अम्ललाई प्रशस्त पानी पिएर जित्न सकिन्छ । आवश्यक परे एसिडिटी घटाउने औषधि सेवन गरे हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप