भोट हाल्न आतुर मनमैजुका जनता
बुधबार, २७ वैशाख २०७४, ०९ : ३८
काठमाडौँ - राजनीतिक अस्थिरताका कारण लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको दिन प्रतीक्षा गरिरहेका मनमैजुका जनता भोट हाल्न आतुर देखिएका छन् ।
राजनीतिक अन्योलताका कारण मुलुकको आर्थिक र सामाजिक विकासमा देखिएको गत्यावरोध अन्त्य गर्न यो निर्वाचन महत्वपूर्ण हुने यहाँका मतदाताको बुझाइ छ, त्यसैले पनि उनीहरु मतदानको व्यग्र प्रतीक्षामा छन् । आफ्नो मतदाता नामावलीमा आफ्नो नाम हेर्न आएकी ५४ वर्षीया मतदाता कमलादेवी पन्त आफूले पहिलोपटक स्थानीय तहमा मतदान गर्न लागेको बताए । उनले भने “मताधिकार व्यक्तिगत अधिकार हो, यो प्रयोग गर्न पाउनु अवसर हो । यो अवसरको सदुपयोग गर्न म आतुर छु ।”
साँच्चै उनी जस्तै कैयौँ नागरिकले यसपटक पहिलो पटक मतदान गर्दै गदैछन् ।
सङ्घीय गणतन्त्र नेपालको स्थानीय तहको निर्वाचनमा सबै नागरिकले पहिलो पटक भाग लिँदैछन् । त्यसले गर्दा यो निर्वाचन मुलुक र जनताका लागि ऐतिहासिक हो ।
मनमैजु अर्थात् तारकेश्वर नपा–९ काठमाडौँको उत्तरपश्चिम क्षेत्रमा पर्ने ऐतिहासिकस्थल हो । यो महर्जनहरुको थातथलोमा आफ्नै समुदायले बाजी मार्ने दाबी गर्नुहुन्छ चङ्खलाल महर्जन । उनी भन्छ, “यहाँको रीतिरिवाज तथा विकासमा आफ्नै समुदायको नेता चाहिन्छ, उसैलाई मतदान गर्छु ।”
मनमैजुको प्रख्यात अजिमा ‘इन्द्रायणी’ काठमाडौँ उपत्यकामै प्रख्यात मन्दिर हो । पाँच दिनसम्म निकालिने इन्द्रायणी जात्रा यहाँको परम्परादेखि मनाइँदै आएको प्रमुख पहिचान हो । यहाँ गाईजात्रा, इन्द्रजात्रा, दसैँ जात्राजस्ता परम्परागत प्रचलन वर्षौंदेखि कायम छन् ।
यस्ता परम्परा धान्ने प्रतिबद्धता व्यक्त गर्दै आफूले पहिलेजस्तै निर्वाचनमा बाजी मार्ने माहोल आएको नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका कान्छा महर्जनको पनि दाबी छ । उनले २०४८ र २०५४ सालमा पनि बाजी मारेका थिए ।
आफ्नो वडाको चौतर्फी विकास गर्ने प्रतिबद्धतासहित घरदैलो अभियानमा व्यस्त नेकपा एमालेका युवानेता बलराम सिटौलामा युवापुस्ताले आफूलाई जिताउने विश्वास छ । आफ्नो क्षेत्रको सरसफाइ, स्वच्छ वातावरण, खानेपानीको व्यवस्थापन तथा स्रोतको आधुनिकीकरणजस्ता विषयलाई प्राथमिकतामा राखेर आफूले जनताको सेवा गर्ने सिटौलाले प्रतिबद्धता व्यक्त गरे ।
मनमैजुको केन्द्रमा गणेश थान, मनमैजु मन्दिर, चारघरे, वासुकी नाग टोल, पाचने टोल, इन्द्रायणी, शान्तिटोललगायत स्थान यस वडाका महत्वपूर्ण स्थान हुन् । यी स्थानको विकासमा आफ्नो प्रतिबद्धता रहेको बताउनुहुन्छ नेकपा ९माओवादी केन्द्र०का वडाध्यक्ष उम्मेदवार पार्वती थापा पाण्डे । एक वर्षभित्रमा बाँकी भएको बाटो–घाटो र ढल निर्माण गर्ने, बस्तीलाई सरसफाइ गर्ने, नेवारी समुदायको संस्कृति, भाषा र स्थानीय जात्रालाई सुव्यवस्थित गर्ने, बालबालिका तथा वृद्धवृद्धाका लागि हेरचाह केन्द्र निर्माण गर्ने विषयलाई उनले विशेष प्राथमिकता दिने बताए ।
परिवर्तन र विकासका लागि युवालाई नेतृत्व दिनुपर्छ भन्ने नारामा अगाडि बढेका छन् नेपाल मजदुर किसान पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार ई। सबिन महर्जन । उनले स्थानीय जनताको मनोभावनाअनुसार आफूले विकासका कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
यहाँका उम्मेदवारलाई नयाँ पुस्ता, नयाँ परिस्थिति र नयाँ नेपालमा परम्परागत रीतिरिवाज तथा परम्परालाई निरन्तरता दिँदै जनताको मन जित्नुपर्ने चुनौती छ । विगतमा भएका गल्ती कमजोरीलाई सच्याएर स्थानीय जनताको घरदैलोमा पुग्ने नेतालाई नै मत दिने सोच बनाउनुभएको छ, यहाँका युवा लक्ष्मण महर्जन लक्षुले । उनी भन्छन्, “पार्टीको निर्देशनभन्दा पनि यहाँको समुदायलाई सम्मान गर्ने नेतालाई मत हाल्छु ।”
विगतको प्रतिबद्धता स्मरण गर्दै यहाँका ६३ वर्षीय मतदाता राधेश्याम महर्जनले भने जुन नेता आए पनि उस्तै त हो नि, भूकम्पले भत्काएका घर अझै निर्माण गर्न सकिएको छैन भने ।
पक्कै पनि निर्वाचित हुने जनप्रतिनिधिको जिम्मेवारी काठमाडौँको ऐतिहासिकस्थल मनमैजु, यहाँको परम्परा र मन्दिरको संरक्षण र जनताको दैनिक जीवन सहज बनाउनु नै मुख्य कार्यभार हुने विश्वास गरिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण