बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वैदिक कथा : आपत्कालीन धर्म

सोमबार, १८ पुस २०७९, १३ : ००
सोमबार, १८ पुस २०७९

छान्दोग्योपनिषद् (१।१०–११) मा आपत्कालीन धर्मसम्बन्धी एउटा प्रसङ्ग आएको छ । धेरै पहिले एकपटक कुरु प्रदेशमा सात दिनसम्म लगातार परेको असिनापानीले अन्नबाली तथा रुखबिरुवा लगायत सारा वनस्पति सखाप पार्‍यो । लगाएको बालीनाली त यसै पनि गए नै वनस्पतिसमेत समाप्त भएकाले फलफूल तथा जङ्गली कन्दमूल खोजेर खाने अवस्था पनि रहेन । गाउँमा भयङ्कर अनिकाल परेकाले सक्नेजति घरगाउँ छाडेर हिँड्न थाले नसक्ने जति त्यहीँ बसेर मृत्युको प्रतीक्षा गर्न लागे । 

गाउँ छाडेर जानेमा एक विद्वान् ब्राह्मण दम्पती पनि थिए । चारै वेदका ज्ञाता ब्राह्मणको नाम उषस्ति र ब्राह्मणीको नाम आटिकी थियो । धर्मशास्त्रका ज्ञाता थिए, निष्ठाकर्ममा रहन्थे । षड्दर्शन र छवटै वेदाङ्ग कण्ठै थियो । उनले लामो समयसम्म तैपनि प्राण बचाउने कुनै विधाता भेटिन्छन् कि भनेर त्यस्तो स्थानको खोजी गरे तर जता गए पनि भने जस्तो भएन । आखिर सबै उस्तै समस्यामा परेका थिए भने सहयोग गरुन् पनि कसले । निकै दिनपछि एउटा वृद्ध सन्यासीको घरमा पुगे । उनीहरू पुग्दा सन्यासी थालीमा केही खिचडी राखेर खाँदै रहेछन् ।

उषस्तिले उनको आगाडि हात पसार्दै अलिकति खिचडी मागे । विचरा सन्यासी धर्मसङ्कटमा परे । उनीसँग बाँकी खिचडी थिएन । जो भएको एकैसाथ पस्केर खान सुरू गरिसकेका थिए । त्यसैले अप्ठ्यारो मान्दै भने– 
‘माफ गर्नुहोला ब्राह्मण देवता ! बाँकी खिचडी छैन । जो भएको यति नै हो, जुन जुठो हालिसकेको छु । घरमा आएका अतिथि देवता समान हुन्छन् । जुठो खिचडी दिएर कसरी अपमान गरौँ ।’
उनको कुरा सुनेर उषस्थिले विनम्रतापूर्वक भने– 

‘गाह्रो नमान्नुस् महाशय ! त्यही भने पनि अलिकति दिनुस् । अन्न पेटमा नपरेको तीन दिन भइसक्यो प्राणै जाला जस्तो भइसकेको छ ।’
सन्यासीले उनको दुःख देख्न सकेनन् र त्यसैबाट आधा निकालेर दिए । उषस्तिले त्यसबाट आधाजति पत्नी आटिकीलाई दिए र बाँकी एकैसासमा प्रेमपूर्वक सिनित्त पारे । आटिकीले भने केही समय यत्तिकै रहन सक्ने भएकाले जरुरत परेको बेला खानुपर्ला भनेर झोलामा राखिन् । उषस्ति खिचडी खाइसकेपछि यताउता हेर्न लागे । सन्यासीलाई पानी खोजेका होलान् भन्ने लाग्यो र आफैँले खाएको पानीको लोटा अघि सार्दै भने– 
‘पानी खोज्नुभएको जस्तो लाग्यो । लिनुस् यसैमा छ केही पानी ।’ 

तर आश्चर्य । उषस्तिले अप्ठ्यारो मान्दै भने– 
‘माफ गर्नुहोला महाशय ! यो जुठो पानी खान सक्दिनँ ।’ 

उनको कुरा सुनेर सन्यासीको आश्चर्यको सीमा रहेन । भरखरै जुठो खिचडी मागेर खाइरहेका छन्, अहिले पानीलाई जुठो भनिरहेका छन् । के हो यो ? कतै बुढा बौलाउन त लागेनन् ? यस्तैयस्तै सोच्दै टोलाउन लागे । उनी टोलाएको देखेर उषस्तिले सोधे– 

‘किन टोलाउन लाग्नुभयो नि ? के प¥यो त्यस्तो ? कतै अर्काको उपकार गर्दा आफ्नो पेट भोको भयो भन्ने चिन्ता त परेन ?’
सन्यासीले हात जोर्दै भने– 

‘होइन महाशय ! त्यस्तो कुरा नगर्नुस् । आपद परेकालाई सहयोग गर्न पाउनु वा सक्नु सौभाग्यको कुरा हो तर भरखरै जुठो खिचडी पे्रमपूर्वक खानु भयो त्यो पनि मागेर तर पानीलाई जुठो भनेर आनाकानी गर्दै हुनुहुन्छ । यसैको रहश्य बुझ्न नसकेर आश्चर्य मानेको हुँ ।’
त्यसपछि उषस्तिले सम्झाउँदै भने–

‘कुरो के भने संसारमा प्राणभन्दा ठूलो अर्को छैन । अरू चीज पटक पटक पाइन्छ प्राण पाइँदैन । त्यसैले प्राण बचाउनका लागि यसो गरेको हुँ । यो भनेको आपत्कालीन धर्म हो । आपद् परेको बेला यसो उसो भन्ने हुँदैन । अन्य अवस्थामा खान पान तथा रहन सहन यावद कुरामा ध्यान दिनुपर्छ । अन्यथा दोष लाग्छ । प्राणै जान लागेकाले जुडो खिचडी खाएँ, जुन अर्को पाइने अवस्था थिएन तर पानी त अन्त पनि खोजेर खान सकिन्छ ।’

यति भनेर ब्राह्मण दम्पती हिँडे । त्यो रात त्यत्तिकै बित्यो । भोलिपल्ट नित्य कर्म सकेपछि उषस्तिले ब्राह्मणीसँग भने–
‘आटिकी ! हिजो खाएको खिचडीको तागत सकियो के गर्ने होला । पेटमा अलिकति चारो हाल्न पाए केही पर यस देशका राजाले ठूलो यज्ञ गरिरहेका छन् । त्यहाँसम्म पुग्न सकिन्थ्यो ।’
पतिको कुरा सुनेर ब्राह्मणीले हिजोको बासी खिचडी दिँदै भनिन्– 

‘लिनुस् यहाँ हिजोको बाँकी खिचडी छ । तपाईँ हिँडनै नसक्ने अवस्थामा हुनुहुन्थ्यो र खानुभयो । म केही समय खप्न सक्ने अवस्थामा भएकीले खाएकी थिइन ।’
उषस्तिले त्यो बासी खिचडी पनि प्रेमपूर्व खाए र राजाका यज्ञमा गए । यज्ञमा उनको भव्य स्वागत भयो । राजाले यज्ञ गराउन पहिले उनैलाई खोजेका रहेछन् । उनलाई फेला नपारेर मात्र अरूलाई लगाएका रहेछन् । राजालाई ढुङ्गो खोज्दा देवता मिलेजस्तो भयो । उनले यज्ञको आचार्य बन्न आग्रह गरे । उनले पनि यज्ञमा वरण भएका अन्य ब्राह्मणलाई हटाउन नपाइने शर्तमा आचार्यत्व स्वीकार गरे ।
यज्ञ समाप्त भयो । सबैले आ–आफ्नो धर्म निर्वाह गरे । बिस्तारै सबै ठीक हुँदै गयो र सबै पहिले जस्तै सुखपूर्वक रहन लागे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप