बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘नयाँ गठबन्धन बन्न देउवाजीको हठ र ओलीजीको एम्बुसले काम गर्‍यो ’

हाम्रा कुराहरुको उपेक्षा भयो राप्रपा सरकारबाट बाहिरिने ठाउँ छः डा लोहनी
शनिबार, १६ पुस २०७९, १४ : २१
शनिबार, १६ पुस २०७९

राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी पार्टीले राखेका विषयहरु उपेक्षा गरिए राप्रपा सरकारबाट बाहिरिने बताउँछन् । लोहनी कांग्रेस सभापतिको शेरबहादुर देउवाको हठ र एमाले अध्यक्ष केपी ओलीको एम्बुसले सात दलीय गठबन्धनको सरकार बनेको पनि बताउँछन् । उनै लोहनीसँग गरिएको कुराकानीको सम्पादित अंशः 

नयाँ निर्वाचनपछि बनेको गठबन्धनलाई कसरी हेर्नुभएको छ ?

नयाँ गठबन्धन बन्नुभन्दा २ दिन अघिसम्म कांग्रेस नेतृत्वको सरकार जारी रहन्छ, अझ अघि बढेर १५ वर्षसम्म जान्छ भन्ने धुमधाम थियो । तर, नयाँ गठबन्धन बन्नुमा शेरबहादुर देउवाजीको हठ र केपी ओलीजीको एम्बुसले काम गर्यो । त्यसको फाइदा प्रचण्डले लिनुभयो ।

नयाँ गठबन्धन बनेसँगै राप्रपाले अस्पष्ट निर्णयहरु गरेको छ । राप्रपा सरकारमा जाने हो कि होइन ?

चुनाव भएपछि देशलाई स्थिरताको बाटोमा लैजानुपर्छ भन्ने राप्रपाको दृष्टिकोण हो । यही दृष्टिकोणअन्र्तगत सरकार बन्ने कुरालाई समर्थन गरियो । त्यसपछि दोस्रो कुरा छ, सरकारमा जाने कि नजाने ? यसबारेमा हाम्रो पार्टीको कार्यसम्पादन समितिमा बृहद छलफल पनि भयो । त्यो छलफलमा एक पक्षबाट अहिले सरकारमा जाने बेला भएको छैन, गम्भीर विचार गर्नुपर्छ भन्ने धारणा आयो । त्यसमा म, रविन्द्र मिश्रलगायत अरु साथीहरु पनि हुनुहुन्थ्यो । अर्को पक्ष साथीहरु सरकारमा जानुपर्छ र सर्भिस डेलिभरी गर्ने काममा पार्टीका तर्फबाट योगदान पुर्याउनुपर्छ भन्ने हुनुहुन्थ्यो । तेस्रो पक्षमा गएपनि ठिकै छ, नगएपनि ठिकै छ, तपाईहरु विचार गर्नुस् भन्ने धारणा थियो । यो तीनवटा चिन्तनमा बृहत छलफल गर्दा केही शर्तहरु राखेर सरकारमा जाँदा पार्टी र देशको हित हुन्छ भने जाने भनेर निर्णय गरियो ।

तपाईंहरुका माग वा शर्तचाहिँ के–के हुन् ?

होइन, त्यो त रियलस्टिक हुनुपर्यो । हामीले भन्नेबित्तिकै प्रचण्डले दिनसक्ने पनि होइनन् । आखिर कन्स्टेन्ट त सवैको परिधि हुन्छ भन्नेपनि हामीले बुझ्नुपर्छ । किनभने त्यो ठाउँमा त प्रचण्डको साथसाथै ओलीजी हुनुुहुन्छ, देउवाजी हुुनुहुन्छ । उहाँहरुले पृथ्वी नारायण शाहले शोषक, सामन्त, नेपाल सत्यानाश गर्ने प्रतिगमनमको मूर्ति भन्नुभएको थियो । हामीले भनेका थियौँ–नेपालको निर्माता पृथ्वीनारायाण शाह । ५४ वटा टुक्रामा भएको नेपाललाई एक गराउने काम गरेकाले राष्ट्रनिर्माता भन्यौँ । सोही कारण पृथ्वीनारायण शाहको सिम्बोलिक रुपमा जन्मजयन्ती मनाउनुपर्छ, राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्छ र यसमा हामीले कुनै सम्झौता गर्नुुहुँदैन भन्ने पहिलो कुरा हो । दोस्रो कुरा, जव यो संविधान निर्माण हुँदैथियो, त्यसक्रममा जनताको राय बुझ्न भनेर देशभरी सवै माननीय जानुभएको थियो, म पनि गएको थिएँ । मसँगै जाँदा पोष्टबहादुर वोगटी हुनुहुन्थ्यो, उहाँ व्यक्तिगत रुपमा भन्दा असाध्यै सरल र सफा हृदय भएको मान्छे हो । मेरो त गाउँले पनि हो उहाँ । उहाँसँग ठट्टा पनि गरिन्थ्यो, घुमेर प्रश्नहरु सोध्यौँ, उत्तर लेख्यौ र पोको पारेर संसदमा बुझायौँ । त्यो सर्भे किन भन्दा जनताको रायअनुसार तथ्यांक शास्त्रअनुसार राय राख्ने भनिएको थियो । तर त्यो रायको पोको नै खुलेन । यो गल्ती भएको छ र यो सुर्धान त्यो पोको खोलौ भन्ने हाम्रो भनाइमा उहाँहरुले कुरा गर्छौ भन्नुभएको छ । तेस्रो कुरा, नेपालमा अहिले सबैभन्दा ठुलो रोग भ्रष्टाचार हो । २०४६ पछिका नेताहरुदेखि सवैको सम्पत्ति छानविन गर्न नागरिकहरुको आयोग गठन हुनुपर्छ भनेका छौँ । प्रचण्डजीले यसअघि पनि हामी यो गर्न तयार छौँ भनेजस्तो लागेको छ । भ्रष्टाचारकै सवालमा जेसुकै निर्णय पनि अहिले क्याविनेटबाट गर्ने चलन छ, यसलाई रोक्नुपर्छ । साउनको मकैबारीमा साँढे छोडेजस्तो मन्त्रिपरिषदलाई छोड्नुहुँदैन ।

अख्तियारको क्षेत्राधिकारमा के राख्ने कसरी राख्ने, त्यसका मापदण्ड अरु बनाउनु पर्छ  अहिलेको जस्तो राजनीतीकरण गर्नु भएन । एउटा सिस्टम बसालेर पारदर्शी नियुक्ति हुनुपर्यो । तर नियुक्ति गरेर यो अधिकार दिनु पर्यो । नीतिगत भनेर जथाभावी गरेर आँखा चिम्लेर गर्ने हो भने यो भ्रष्टाचारलाई छुट दिएको ठहरिन्छ । जतिसुकै भ्रष्टाचार गर्दिनँ भने पनि भ्रष्टाचार हुन्छ । 

अर्को एउटा चाहिँ राप्रपा नै सरकारमा हुँदा म अर्थमन्त्री हुँदा हामीले यो प्रस्ताव ल्याएका थियौँ । झन्डै यो लागू गरिसकेका थियौँ तर सकिएन । मतलब हामी निस्कियौँ । त्यो के थियो भने एउटा, दुईवटा दफाको ट्रान्सपरेन्सी लको कानुन ल्याउनु पर्यो । त्यसले गर्दा नेपालको सुरक्षासम्बन्धी विषय र अन्य संवेदनशील विषय बाहेक कुनै ठेक्कापट्टा, खरिद सबै कुरामा जुन जुन तहमा निर्णय भएको छ, सहसचिवले लेख्छन्, उपसचिवले लेख्छन्, सचिवले लेख्छन्, मन्त्रीले निर्णय गर्छन् त्यो हेर्ने अधिकार चाहिँ सम्बन्धित व्यक्तिले चाहिँ हेर्न पाउनु पर्छ ।

यो हुनेवित्तिकै तपाईं एउटा सचिव हुनुहुन्छ र त्यसमा सही गर्नुपर्नेछ भने त यसले फाइल हेर्छ, लुकेर त बस्तैन भन्ने तपाईंलाई त डर हुन्छ नि । सूर्यले किटाणु नष्ट गरेजस्तो भ्रष्टाचारको किटाणु नाश गर्ने चाहिँ ट्रन्सपरेन्सी ल हो, यो दुई दफाको ल चाहिँ पास गर्नुपर्यो । त्यसको ड्रफ्ट भएको छ, त्यो तयार भएर पेश गर्ने बेलामा चाहिँ हामी निस्कियौँ । हाम्रो पार्टीको दृष्टिकोण चाहिँ यो ट्रान्सपरेन्सी ल लागू गर्नुपर्यो, अरू पनि मेजर्सहरु छन्, यो ल लागू गर्नुभयो भने आधा भ्रष्टाचार यसै घट्छ । किनभने मन्त्रीले पनि सही गर्दा विचार गर्नुपर्यो नि । भोलि यो फाइल हेर्न पाउने भयो । पिपुलमा जान सक्ने भयो । मेरो आफ्नो पनि र हाम्रो पार्टीको वास्तविक रुपमा क्रान्तिकारी र अग्रगामी काम हुन्छ यो ।

प्रचण्डजी धेरै सङ्घर्ष गरेरै आएको मान्छे हो । जिउज्यानको जोखिम मोलेर आएको मान्छे हो । उहाँले यो ल पास गर्ने हिम्मत देखाउनु पर्यो । 

तपाईंले अहिले जुन बुँदाहरु भन्नुभयो, अरु सहायक बुँदाहरु पनि होलान्, यी कुरामा राप्रपाले स्पष्टता चाह्यो, अब पुस २७ गते पृथ्वीजयन्ती मनाउने कुरा लगभग निर्णय भइसकेको छ, अब त सरकारमा जाने बाटो खुल्यो होला नि ?

मैले त्यो पढेँ, खुसी लाग्यो र यो एउटा काम पूरा भयो । तर, हापुरेमा हामी वार्तामा बस्दाखेरी बाबुरामजी हुनुहुन्थ्यो, म र कमल थापासँगै थियौँ । त्यो बेलमा बाबुरामजीले एक घण्टा त लेक्चर गर्नुभयो । त्यो के भने पृथ्वीनारायण भनेको सामन्ती हो, शोषक हो, यसको नाम नै लिन हुँदैन भनेर भन्नुभयो, त्यसमा उहाँसँग धेरै तर्कहरु भए ।

त्यो स्टेजको माओवादी अहिले आएर पृथ्वीनारायण शाह भनेको नेपालको राष्ट्र निर्माता हुन्, राष्ट्रिय एकताका प्रतीक हुन् भनेर दौरा, सुरुवाल, टोपी ढलक्क ढल्काएर आउनु भयो ।

यसमा म खुसी भन्दा पनि प्रचण्डजीको लचकपनलाई पनि तारिफ नै गर्छु । तर समय परिस्थिति अनुसार परिवर्तन हुनुहुँदो रहेछ नि त । मैले भनेको रिजिड भएर हुँदैन अब । अहिलेको अवस्थामा देशको के आवश्यकता छ, त्यसलाई हेरेर जाने क्षमता चाहिँ राख्नुपर्छ । यदि पुस २७ गते सरकारले पृथ्वीजयन्ती बनाउने निर्णय गरेको हो भने अब सबभन्दा पहिले पृथ्वीनारायण शाहलाई माला लगाएर तिमी राष्ट्र निर्माता हौ, हामी तिमीप्रति कृतग्न छौँ भनेर गोरखाबाट प्रतिनिधित्व गरेको दौरासुरुवालमा ठाँटिएको प्रचण्डजीले गर्नुहुन्छ । बाबुरामजीले गर्नुहुन्छ ।

जे–जे भने पनि अब राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जानका लागि तयार छ । सत्ताकै कारण हिजो कमल थापा नेतृत्वमा हुँदा पार्टी तहसनहस भयो ।  त्यसबाट जोगिऔँ भनेर एउटा सानो त्यान्द्रो टेकौँ भन्ने राप्रपाको कुरा रहेछ हैन ?

मैले त्यसो भनेको हैन । त्यसमा कुरा अर्को के पनि छ भने यदि हामीले भनेको कुरा उपेक्षा नै भयो भने, मानिएन भने पनि राप्रपा त्यसमा टाँसिएर बस्दैन । त्यो पनि एउटा ठूलो आवाज आएको छ ।

न्यूनतम साझा कार्यक्रममा तपाईँले उल्लेख गर्नुभएको विषय पनि राख्नुपर्यो भन्ने छ कि ?

राख्नुपर्यो भन्ने छ । पहिले राख्नु त पर्यो नि । पहिले त्यसलाई स्वीकार त गर्नुपर्यो नि । अनि कार्यान्वयन गर्नुस् भन्न पाइयो । होइन र ?

न्यूनतम साझा कार्यक्रमका आधारमा सरकारमा जाने हो ।

अब कसको नेतृत्वमा जाने हो त ?

कसको नेतृत्वमा जाने त्यसको कुरा त भएको छैन । त्यसको निर्णय होला ।

अध्यक्ष आफैँ त जाँदै हुनुहुन्न ?

मलाई थाहा छैन, अध्यक्षसँग मेरो कुरा भएको छैन ।

राप्रपा सरकारमा जाँदै गर्दा सत्ता केन्द्रित राजनीति नगर्ने भनेर लेखिएको आफ्नै चुनावी घोषणापत्र त भुल्नुभयो नि होइन ?

सत्ता केन्द्रित भएर हामी जाँदैनौँ भनेको हो । सत्ता भनेपछि जे पनि छोडेर जान्छन् भन्ने भएकाले हामी जाँदैनौँ भनेको हो । हामीले छोडेका छैनौँ हाम्रा कुराहरु । सरकारमा जाँदैनौँ भन्ने कुरा परिस्थिति अनुसार नै हुने हो । आखिर हामीले पनि त माग राख्न अरु साथीहरु, अरु पार्टीहरुको सद्भाव र मिलेरै जाने हो नि हैन र ? हामी प्रचण्डजी जसरी बन्दुक बोकेर आउने त होइन । त्यो कन्टेस्टमा हाम्रा मागहरुलाई पनि सिम्पेथेटिक्ली हेरेर एउटा परिवर्तनको शृङ्खलामा उहाँहरु पनि आउनु भएको छ । यसलाई किन सकारात्मक दृष्टिकोणबाट किन नहेर्ने ? एक पटक  प्रयोग गरौँ न भन्ने हो ।

अहिले तपाईंहरुलाई सरकारमा जाने बाध्यताचाहिँ किन आइलाग्यो ?

सरकार नबनेर संसद् विघटनतिर जान चाहिँ हामी जान दिँदैनौँ भन्ने हो । यो देशमा अब बन्ने जुन सरकार हो त्यो अस्थिर नहोस् र अब पाँच वर्षका लागि जनताले जुन आसा गरेका छन् त्यो पूरा होस् भन्ने हो ।  त्यसलाई हामी पूरा गर्छौं भन्ने एउटा अनुभूति दिन र त्यो थिमसँग हाम्रो सहमति छ भन्ने देखाउनका लागि मात्र हो ।

अहिलेको सत्ता गठबन्धनसँग तपाईंहरुको सैद्धान्तिक आधार मिल्ने त केही देखिँदैन ?

प्रचण्डजीको हामीसँग केही मिल्छ त ? मिल्दैन । परिस्थितिले गर्दा हामीले पनि यही संरचनाभित्रबाट यो निर्णय लिनु परेको छ । मैले अहिले यहाँसँग अन्तरवार्ता दिनु परेको छ भने म तपाईंको स्टुडियोमा आउँदिनँ भन्न त पाउँदिन नि ।

सङ्घीयताको विरोध त हो नि राप्रपाको, स्पष्ट छ नि त्यसमा त ?

तपाईंले माइन्ड गर्नुपर्ने एउटा कुरा के छ भने जनतालाई अधिकार हस्तान्तरण गर्नुपर्छ भन्ने सिद्धान्तमा राप्रपाको पूरा सहमति छ । शक्तिको विकेन्द्रीकरण र हस्तान्तरणमा फरक छ । हामीले विकेन्द्रीकरण भनेको होइन, संविधानतः हस्तानतरण भनेका हौँ । विकेन्द्रीकरण पहिला पनि गरेको थियो । तर कार्यान्वयन भएन । अहिले गाउँपालिकामा जानुभयो भने कार्यपालिका पनि छ, न्यायपािलका पनि छ । उसको अधिकारलाई संविधानले ब्याख्या गरिदिएको छ । गाउँपालिका सरकार नै हो । जुन सरकार भारतको लोकल पञ्चायत भन्दा पनि बलियो छ । यसलाई हाम्रो समर्थन छ ।  बीचमा प्रदेशहरु आएका छन्, प्रदेश आउँदा खर्च बढेको छ तर परफमेन्स छैन । यस्तो अवस्थामा यसको उपयोगिता के छ ? रिभ्यु गर्नुपर्यो । मेरो गोरुको बाह्रै टक्का भनेर भएन । फङ्सन नगरेकाले सवै बसेर रिभ्यु गरौँ । नेपालको राजश्वले साधारण खर्च पनि धान्न सकेको छैन । सातवटा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, सांसद यो प्रदेश संरचना थेग्न सक्छ कि सक्दैन भनेर सोचौँ  भन्ने राप्रपाको सकारात्मक सोच हो ।

राप्रपाले प्रदेश संरचना नमानेकै हो ?

प्रदेश हुँदैन भन्नुको अर्थ यसको उपयोगिताका बारेमा छलफल हुनुपर्छ भनेको हो । छलफल गर्दा सात सय त्रिपन्न गाउँपालिका र केन्द्रमात्रै पनि हुँदैन । यो समस्या राप्रपाको मात्रै पनि होइन ।

राजतन्त्र फालेर गणतन्त्र र संघीयता ल्याउने माओवादी, उसैसँग सरकारमा सहभागी भएर संघीयता खारेज गरौँ भन्नु ...?

प्रचण्डजीको बिम्व हेर्नुस् त ! चट्ट दौरासुरुवाल टोपी ! १० वर्ष अगाडि प्रचण्डले लेखेको लेख हेर्नुस् । आर्थिक विकास गर्न स्रोतसाधन कहाँबाट ल्याउनुहुन्छ भन्ने प्रश्नमा नेपालका सामन्तहरुको सम्पत्ति जफत गर्छु र एकाधिकारपुँजीपतिहरुका उद्योग जफत गरेर पैसा ल्याउछु भनेका छन् । आजका सम्माननीय प्रचण्ड के भन्द ैहुनुहुन्छ भने नीजि क्षेत्रलाई अगाडि बढाउनुपर्छ । प्रतिस्पर्धा अघि बढाउनुपर्छ । नेपालको विकासमा निजी क्षेत्रको ठुलो भूमिका हुन्छ भन्नुहुन्छ भने यो परिवर्तन कहाँबाट आयो ? ट्रान्सफरमेसन त भयो नि । त्यसैले हामी पुरानो ह्याङओभरले मात्रै नहेरौँ भन्दैछौ । विकसित देशमा पनि राजसंस्था छन् जसले विकासलाई जोड्न सकेका छन् ।

तपाईँ यो भन्दै हुनुहुन्छ कि राप्रपाको एजेण्डामा प्रचण्ड आइपुग्नुभयो ?

राप्रपाले भनेको प्रतिस्पर्धात्मक अर्थतन्त्र भन्नेमा त आइसक्नुभयो उहाँहरु । कहाँ गयो उहाँहरुको राष्ट्रियकरणको कुरा ? कुन पुँजीपति र सामन्तीको सम्पत्ति राष्ट्रियकरण भयो ? बरु उहाँहरु आफै नवसामन्तवादको अनुहारमा देखिन थाल्नुभयो । नागरिक आयोग गठन गरेपछि उहाँहरुको पनि हेर्ने हाम्रो पनि हेर्ने भनेको हो । त्यसैले राजसंस्थालाई पुरानै आँखाले पनि नहेरौँ, सिम्बोलिक रुपको राजसंस्था जसले बेलायत या जापानमाजस्तो नेपालीको मनोवैज्ञानिक एकतामा लैजान उपयुक्त भएको छ कि भनेर हामीले भनेका हौँ ।  

जसलाई फेरि राजगद्धीमा राख्न खोज्नुभएको छ, तर उनैले चासो दिइराखेका छैनन्, हिजो कमल थापाले त मलाई धोका भयो त्यहाँबाट भनेर निस्किनु भयो नि ?

 यहाँ व्यक्तिसँगको प्रश्न नै होइन । कमलजीले के भन्नुभयो, त्यसको बारेमा टिप्पणी गर्दिनँ । उहाँ एउटा पढेलेखेको मान्छे हुनुहुन्छ, केही बुझेर गर्नुभयो होला । मैले भन्न खोजेको यो व्यक्तिसँगको मतलब नै होइन । संस्थासँगको र नेपालको अहिलेको विशिष्ट भूराजनितिक परिवेशको हो । दुईवटा महाशक्तिको रुपमा आइराखेका छन् भने त्यसमा आफ्नो डिस्टिन्ट आइडेन्टिटी राखेर मानिसलाई जोड्ने शक्ति चाहिन्छ ।  यो जोड्ने शक्तिको रुपमा राजसंस्थालाई उपयोग किन नगर्ने ? आखिर हाम्रो उद्देश्य त यो देशलाई बचाउनु हो ।

तपाईं निर्देशन समितिको अध्यक्ष पनि हुनुन्छ, तर तपाईँको प्रभावकारी भूमिका देखिँदैन नि ?

 मैले धेरै भूमिका पनि किन खोज्ने ? म त निवर्तमान अध्यक्ष हुँ । मेरो उद्देश्य यो पार्टीलाई जसरी भएपनि बनाएर नेपाली जनाताको रुपान्तरण, यो देशको रुपान्तरण गर्ने हो । यसमा राजनितिक यन्त्रको रुपमा यसलाई अगाडि लैजानको लागि मैले गर्नुपर्ने योगदान निवर्तमान अध्यक्षको हैसियतले गर्न म तयार छु । मलाई निर्देशन समितिको अध्यक्ष बनाइएको छ, त्यहाँ पनि मैले खेल्ने भूमिका त्यही हो । म भूमिका नै खोजेर हिँड्ने भएको भए त अध्यक्षमै उठ्थे नि । म राजेन्द्र लिङ्देनलाई जिताउनुस् भनेर किन जान्थेँ ?  

मेरो आशय तपाईँले भूमिका खोल्नुभयो भन्ने होइन, किन ओझेलमा पारिँदै छ भन्ने प्रश्न नि ?

ओझेलमा परेको जस्तो त मलाई लाग्दैन ।  अब अध्यक्ष त राजेन्द्र लिङ्देनजी हो नि त । वास्तवमा पार्टी उहाँको नेतृत्वमा हो । अब पार्टीले के गर्यो, कति पुगेको छैन भन्ने कुरा त जबसम्म हामी प्रथम पार्टी हँुदैनौँ त्यो बेलासम्म सन्तुष्टि हुने कारण नै छैन । सन्तुष्ट छैन म । हामी प्रथम पार्टी भएर यो देशको बाटो हाँक्न सक्ने भएपछि मात्रै लामो सास फेरेर सन्तुष्ट हुन सकिन्छ ।

त्यो त तथ्य नै अगाडि छ, तर समग्र पार्टी संचालनमा तपाई सन्तुष्ट हुनुन्छ ? पार्टीमा आग्रह पूर्वाग्रह भन्नेपनि सुनिन्छ नि...!

त्यस्तो चाहिँ मैले महसुस गरेको छैन। तर, पार्टी भनेको एउटा विधिबाट चल्ने हो । इन्स्टिट्युसनमा कोही मान्छेलाई कारवाही गर्न खोज्दा पहिला स्पष्टीकरण सोध्नुपर्ला । हाम्रो पार्टी विधिअनुसार चल्नुपर्छ । पार्टीका कुनै कार्यकर्ताले मैले यो कुरा बोलेँ कारबाही हुन्छ कि भनेर असुरक्षित महसुस गर्नुहुँदैन ।

सामाजिक सञ्जालमा लेखिए बापत कारबाही भोगियो भन्ने छ नि ?

 छैन छैन ।  त्यहाँ स्पष्ट के भएको छ भने कसैलाई कारबाही गर्नुपर्यो भने वा पार्टीको हितको विपरित गर्यो भन्ने लाग्छ भने स्पष्टीकरण सोधेर, त्यसको केस बनाएर अनि अनुशासन समितिमा पठाएर मात्र कारबाही हुन्छ । त्यहाँ भएको हाम्रो विधि नै त्यही हो । त्यो भन्दा यताउतिचाहिँ यो प्रजातान्त्रिक पार्टी भएकाले हुँदैन।  यसलाई निकाल्दे भनेर के यो श्री ३ को हुकुम शासन हो ? कसले मान्छ ?

त्यसो हो भने हिजोको राप्रपा जुन ढङ्गले चल्यो, अहिले त्यो भन्दा अलि राम्ररी चलेको छ ?

छलफल त गरिराखेको छौँ हामी ।  गर्नुपर्ने त थुप्रै छन् । हाम्रो ग्राउण्ड लेभलमा इकाईहरु भएपनि वास्तवमा संगठित छैनन् ।  संगठन निर्माणका थुप्रै चुनौतीहरु छन् ।

अहिले राप्रपा सरकारमा जाने निर्णय भएको छ । यदि हाम्रा कुराहरुको उपेक्षा भयो भने त्यो बेला निस्कने पनि प्रतिबद्धतासहितको ठाउँ राखेर निर्णय भएको छ ।

अहिले सरकार जस्तो जगमा बनेको छ, यसको भविष्य के देख्नुहुन्छ ?

यो सरकार देउवाजीको हठ र ओलीको एम्बुसमा बनेको हो भनेर मैले भनिसकेँ । अब ओलीजीले अर्को एम्बुस हाल्नु भयो भने त...! यसमा किङमेकर त ओलीजी नै हो । दोस्रो कुरा, नेपाल सानो देश हो, ठूलो देशहरुको स्वार्थ हुन्छ, यसलाई लुकाउने कुरा पनि छैन । बरु त्यसलाई कसरी एउटा रेडलाइनबाट भित्र आउन नदिने भन्नेमा सबै नेपालीको ध्यान जानुपर्छ । तेस्रो कुरा यो सरकारको पर्फमेन्स हो । पर्फमेन्समा प्रचण्डजीले आफूलाई जति हिम्मतिलो भनेर ठान्नुहुन्छ त्यतिनै हिम्मत गरेर भ्रष्टाचारसित लड्नका लागि आँट देखाउने हो भने जनताको समर्थन आउँछ ।

तपाईँ सरकारले भ्रष्टाचारविरोधी अभियान नै सरकारले छेड्नुपर्छ भन्नुहुन्छ, ओली र प्रचण्डबाट यो सम्भव छ ?

यो हुँदैन भने जनताले पनि स्वीकार गर्दैनन् । आर्थिक रुपमा पनि देश खोक्रो भएर गएको छ । भ्रष्टाचारले पनि खोक्रो भएर जाने हो भने त्यही बेलामा विदेशीहरुले खेल्ने ठाउँ पनि पाउँछन् ।

साढे २ वर्षको पावर सेयरिङ भन्ने छ, त्यसमा प्रचण्ड र ओली अडिइराख्ने सम्भावना कति देख्नुहुन्छ ?

गएको रेकर्ड हेर्दा त त्यो आशा गर्ने ठाउँ छैन । एउटा भनाइ छ नि जसले इतिहासको उपेक्षा गर्छ गल्ती पनि उसैले दोहोर्याउँछ । त्यस्तो गल्ती नहोस् भन्ने कामना छ । त्यो त उहाँहरुको विवेकको कुरा पनि हो । जुन स्टेजमा उहाँहरु पुग्नु भएको छ, एकअर्कालाई उत्तरदायी तरिकाले विश्वास गरेर जानुपर्छ । इगो हटाउनु पर्छ ।

देशको आर्थिक सूचकांकहरु खराब अवस्थामा छ भनिन्छ, अहिलेको अर्थमन्त्री वा सरकारले तत्काल गर्नुपर्ने कामहरु के–के हुनुपर्छ ?

पहिलो कुरा यो सरकारले बेइमानी गर्दैन, भ्रष्टाचार सुशासन दिलाउँछ भन्ने विश्वास दिलाउनुपर्छ । सबैभन्दा ठूलो कुरा विश्वास हो । त्यो विश्वास दिलाउने काम प्रधानमन्त्री र अर्थमन्त्रीको हो । उहाँहरुले यो गर्न सक्नुहुन्छ कि सक्नुहुन्छ भन्ने प्रश्न छ ।

विस्तृत अन्तरवार्ता भिडियोमाः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप