शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

धर्मसंकटमा एकीकृत समाजवादी : प्रचण्डलाई विश्वासको मत दिनेबारे विवाद

सोमबार, १८ पुस २०७९, २१ : ०३
सोमबार, १८ पुस २०७९

माओवादी केन्द्र निर्वाचनपछि नयाँ समिकरणमा सामेल हुँदा बर्षदेखि सहकार्य गरेको नेकपा एकीकृत समाजवादी बिलखबन्धनमा परेको छ । यहि बिलखबन्धनका कारण उसले न सरकारलाई खुलेर समर्थन गर्न सकेको छ न विरोध नै ।  कांग्रेसले सहमति अनुसार प्रधानमन्त्री नछोड्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहितको गठबनधनमार्फत गत पुस १० गते प्रधानमन्त्री बनेका थिए ।

प्रचण्ड प्रधानमन्त्री भएपछि सरकारप्रतिको दृष्टिकोण तय गर्न समाजवादीले पार्टी कमिटिका बैठकमै छलफल गरेर स्पष्ट धारणा बनाउने भएको छ । त्यसका लागि २ दिन स्थायी कमिटीको बैठक राखेको सो पार्टीको सोमबारबाट पोलिटव्युरो बैठक सुरु भएको छ । 

प्रचण्ड नेतृत्वको सरकारमा हाल राष्ट्यि स्वतन्त्र पार्टी र एमाले सहभागी छ । राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा ल्याउने प्रधानमन्त्री प्रचण्डको तयारी भइरहेका बेला एकीकृत समाजवादीले भने सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव नै नगरेको दुखेसो गरिरहेको छ ।

‘यो सरकारलाई हेर्ने दृष्टिकोणका बारेमा हामी छलफल गरिरहेका छौँ । सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौँ’, उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा भन्छन्, ‘सरकारमा सहभागिताका लागि औपचारिक प्रस्ताव नै आएको छैन, प्रस्ताव आएपछि त्यो प्रस्ताव लायक छ, छैन । हाम्रा उद्देश्यअनुसार यी सबै कुरा हुन्छन्, हुँदैनन् । हाम्रो प्राथमिकतामा त्यो विषय पर्छ कि पर्दैन भन्ने पछिको कुरा हो ।’

नेता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता प्रचण्ड प्रधानमन्त्री भएसँगै समर्थन गर्ने कि नगर्ने भन्नेमा धर्मसंकटको अवस्था आएको बताए । उनले व्यक्तिगत रूपमा प्रधानमन्त्री प्रचण्डप्रति सद्भाव भए पनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । त्यसबेला एकीकृत समाजवादीले प्रचण्डको पक्षमा मतदान गर्छ वा विपक्षमा भन्ने चासोका साथ हेरिएको छ ।  पोलिटब्युरो बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रचण्डलाई विश्वासको मत दिनुपर्ने धारणा राखेको एक पोलिटब्युरो सदस्यले बताए । 

‘प्रचण्डसँग एकीकृत समाजवादीका धेरै नेताको सहानुभूति नै देखिन्छ । एउटा कम्युनिस्ट पार्टीको नेता, जो जनयुद्धमार्फत आएर अहिले पनि संघर्ष गरिरहेको छ । १७ महिना त हामी सँगै बसेर पनि काम गरेका हौं’,बैठकमा बोल्ने अधिकांश नेताको भनाई थियो । 

‘नेकपा कालमा पनि प्रचण्डसँगै बसियो । त्यसकारणले गर्दा प्रचण्डप्रति हामीले सहानुभूति राख्नुपर्छ, तर उनीहरुको पोलिसीमा सहमत हुन सकिँदैन’, प्रचण्डले पुरानो गठबन्धन छाडेर एक्लै एमालेसँग गएकोमा केही नेताले असन्तुष्टि समेत जनाएका थिए । 

‘नेकपा एकीकृत समाजवादीको विश्वास खोज्ने तर एकीकृत समाजवादीलाई दुश्मनको जस्तो व्यवहार गर्ने केपी ओलीसँग गएर टाँस्सिएपछि हामी किन सजिलै विश्वासको मत दिने ?’, उनीहरुको प्रश्न थियो ।  बाँकी सदस्यहरुले बोलिसकेपछि सो पार्टीको पोलिटब्युरो बैठक मंगलबार सकिँदैछ । स्रोतका अनुसार पोलिटब्युरो बैठकले समेत सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने ठोस निर्णय गर्ने अवस्था छैन ।

‘यसै गर्ने भनेर निर्णय नै त नहोला तर अन्तिम अवस्थामा चक्मा दिनेगरी नेतृत्वले नै निर्णय गर्छ’, माधव नेपाल निकट एक नेताको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप