बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेशसभा बैठक

प्रदेश सांसदलाई नै थाहा छैन कर्तव्य, बागमती प्रदेशसभामा जे देखियो...

मङ्गलबार, १९ पुस २०७९, ११ : ५७
मङ्गलबार, १९ पुस २०७९

मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा केही रोचक प्रसङ्ग देखिए । प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको उक्त बैठकले सभामुखको निर्वाचनको मिति तय गर्नुको साथै ५ वटा अध्यादेश सदनमा टेबुल गरेको छ भने समामुख र उपसभामुको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेको छ ।

सदस्यहरुको मनोनयन गर्नुपूर्व सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य ढुंगानाले प्रदेशसभा नियमावली २०७४ लाई अनुमोदनका लागि सभामा प्रस्तुत गरे । रोचक त के थियो भने ज्येष्ठ सदस्य ढुंगानाले उक्त प्रस्ताव निर्णयार्थ पेस गर्दै गर्दा केही सांसदले आसनबाट उठेर विरोध गरे ।

२०७४ फागुन १४ गते जारी प्रदेशसभाको नियमावली २०७६ भदौ १० मा पहिलो संशोधन गरिएको थियो । सभामा अनुमोदनका लागि निर्णयार्थ पेस गरिएको उक्त नियमावली अध्ययन गर्न पाउनु पर्ने मागसहित केही सांसदले आसनबाट उठेर विरोध गरेका हुन् ।

त्यसो त सो नियमावली अनुमोदनका लागि सभामा पेस गर्ने र पास गर्ने विषयमा सोमबार नै भएको सर्वदलीय बैठकमा सहमतिसमेत भएको थियो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ वटै दलका  नेताहरुको उपस्थितिमा सर्वदलीय बैठकले नियमावली पास गर्ने सहमति गरेको थियो । तर, उनीहरुले त्यस विषयमा सम्बन्धित दलका सांसदहरुलाई जानकारी नै नगराउँदा केही सांसदले अध्ययन गर्न पाउनुपर्ने मागसहित विरोध गरेका थिए ।

नियमावली अध्ययनका लागि समय माग गर्दै आसन छोड्ने पहिलो सांसद हुन् राप्रपाका महामन्त्री भुवन पाठक । ज्येष्ठ सदस्यले नियमावली पास गर्न रुलिङ गर्दै गर्दा आसनबाट उठेर उनले विरोध गरेका थिए । राप्रपाबाट निर्वाचित कुमारी तामाङ पनि नियमावली अध्ययनको माग गर्न समय माग गर्दै थिइन् ।

sabha (1)

यता बैठकमा उक्त नियमावली पास गर्ने विषयमा प्रदेशसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस नै विभाजित देखिन्थ्यो । नियमावली अध्ययन गर्न पाउनुपर्ने मागसहित आसनबाट उठेर विरोध गर्दै आफ्नो धारणा राख्न खोज्नेहरुमध्ये एक थिए कांग्रेसबाट निर्वाचित दोलखाका कुन्दनराज काफ्ले ।

ज्येष्ठ सदस्य ढुंगानाले सभाबाट अनुमोदनका लागि ‘उक्त नियमावलीको पक्षमा हुने माननीयहरुले हुन्छ भन्नु होला’ भन्दै गर्दा राप्रपाका महामन्त्री आसनबाट उठेर माइक समात्न पुगेका थिए । माइकबाट आवाज नआएपछि उनी उभिएर ज्येष्ठ सदस्यको रुलिङलाई रोक्न हातले इशारा गरे । उनको इशारालाई बेवास्ता गर्दै ज्येष्ठ सदस्य अघि बढ्न खेज्दा कांग्रेसका काफ्ले उठेर माइक समाते । उनको पनि माइक बन्द देखिएपछि नियमावली नपढी कसरी पास गर्ने भन्दै कराउन थालेका थिए ।

त्यति भन्दै गर्दा ज्येष्ठ सदस्यले ‘नियमावली अनुमोदनको पक्षमा हुनेहरुले हुन्छ भन्नु’ भन्दै रुलिङ गरे । कांग्रेससहित राप्रपाका सांसदले टेबुल ठोक्दै हुन्छ भने । ज्येष्ठ सदस्यको यहाँसम्मको रुलिङ चल्दैगर्दासम्म काफ्ले, पाठक र तामाङ पालोपालो गर्दै अध्ययनको मागसहित आसनबाट उठिरहेका थिए । उनीहरुको हर्कतपछि ज्येष्ठ सदस्यले दलीय सहमति भइसकेकाले बस्न रुलिङ गरे र नियमावली बहुमतसहित पास भएको घोषणा गरे ।

sabha (4)

त्यसो त प्रदेश सांसदले आफ्नो जिम्मेवारी पहिले नै जानकारी लिनु पर्ने हो । तर, प्रदेशसभाको उक्त बैठकमा सांसदहरुलाई आफ्नो क्षेत्राधिकार, जिम्मेवारी र कर्तव्यको विषयबारे नै जानकारी नभएको प्रस्ट देखियो । प्रदेशसभाको नियमावली अध्ययनका लागि प्रदेशसभा सचिवालयले आफ्नो वेबसाइटमा नै राखिदिएको छ । सांसदहरुमा आफ्नो अधिकार र जिम्मेवारीका विषयमा स्वअध्ययन समेत नरहेको यस प्रसङ्गबाट प्रस्ट हुन्छ ।

राप्रपाकी सांसद लक्ष्मी घिमिरेका अनुसार करिब एक महिना अघि नै निर्वाचन जितेका सांसदहरुले आफ्नो जिम्मेवारीका बारेमा अध्ययन गर्नुपर्ने थियो । तर, सांसदहरुमा संसदीय अभ्यास र अध्ययनको अभाव देखिएको उनले बताइन् ।

प्रदेशसभा सचिवालयले पनि केही कमी कमजोरी गर्दा संसदीय प्रक्रियामा समस्या हुने गरेको उनको भनाइ छ । सचिवालयले कार्यसूची अग्रिम जानकारी नगराउँदा सांसदहरुले आफ्नो प्रस्तुतिमा कमजोरी गरेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप