शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विकास खर्च बढाउन यातायात मन्त्रीलाई नेपाल उद्योग परिसंघको आग्रह

मङ्गलबार, १९ पुस २०७९, १४ : ४५
मङ्गलबार, १९ पुस २०७९

काठमाडौं । नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई भेटेर विकास खर्च बढाउन आग्रह गरेको छ ।

परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिनुहुँदै विकास खर्च बढाउन आग्रह गरे । पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको उनले बताए । पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको उनले बताए । 

अध्यक्ष अग्रवालले निर्माण व्यवसायीहरूलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन एवं बजेट छुट्टाएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिइनुपर्ने सुझाव दिए । उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा उपप्रधानमन्त्री श्रेष्ठ समक्ष पेश गरे । 

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्त्वपूर्ण रहेको बताए । उनले समस्याहरूको समाधान गर्दै अगाडि बढ्ने बताए । ‘जहाँ समस्या छन्, समाधान गर्ने । जहाँ कमजोरी छन् त्यसलाई सच्चाउने, जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक इन्टरभेन्सन गर्ने प्रक्रियामा अगाडि बढ्नेछौं,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप