आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
पासपोर्ट बनाउन सकस

राहदानी विभागको ‘सफ्टवेयर इरर’ कि सरकारलाई असहयोग गर्ने कर्मचारीको नियत ?

सेवाग्राही भन्छन्, ‘यसरी त कसरी हुन्छ ?’
बुधबार, २० पुस २०७९, १७ : १९
बुधबार, २० पुस २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेलगत्तै पासपोर्ट र लाइसेन्स वितरणका लागि हुने भीड हटाउने गरी काम गर्न मातहत मन्त्रालय र सचिवहरूलाई निर्देशन दिए । मन्त्रिपरिषद्को पहिलो निर्णय नै सोही विषयमा केन्द्रित रहेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले समेत राहदानी विभागमा अनुगमन गरे । 

प्रधानमन्त्रीको निर्देशनपछि पनि राहदानी विभागमा भएको लाइन हट्न सकेन । दैनिकरुपमा पासपोर्ट बनाउन आउने सेवाग्राहीको सङ्ख्या बढेपछि लाइन थप चर्को बन्यो ।  दैनिक १ हजार ८ सयलाई सेवा दिन सक्ने क्षमता भएको राहदानी विभागमा दैनिक ६ हजारको हाराहारीमा सेवा लिन खोज्नेहरू आएपछि विभागमा भीड बढेको विभागकी निर्देशक दुरपदा सापकोटाले बताइन् ।

प्रधानमन्त्रीले मंगलबार मात्रै पनि नेपाल सरकारका सचिवहरूलाई ३० बुँदे निर्देशन दिएर समस्या कहाँ छ ल्याउन र आवश्यक परे नीतिगत सुधारको योजना समेत बनाउन निर्देशन दिए । सोही क्रममा प्रधानमन्त्री दाहालले राहदानी विभागमा सेवाग्राहीको लामो लाइन लागेको र सेवाग्राहीले दुख पाइरहेको कुरा दोहोर्‍याए । विभागीय सचिवलाई निर्देशन दिँदै तत्कालै लाइन लाग्न नपर्ने व्यवस्था गर्न निर्देशन दिए ।

तर प्रधानमन्त्री प्रचण्डले सचिवहरूलाई निर्देशन दिएकै दिन साँझ राहदानी विभागकी निर्देशक सापकोटा हस्ताक्षरमा एक सार्वजनिक सूचना जारी भयो । सिस्टममा समस्या आएको कारण राहदानी छपाई तथा वितरणमा समस्या आएको कारण समयमै पासपोर्ट उपलब्ध गराउन नसकिने ब्यहोराको सूचना जारी भएपछि सेवाग्राहीमा अन्योल र आक्रोश निम्तियो । सरकारले थप निर्देशन दिएकै दिन ‘सिस्टम डाउन’ गराएको आरोप लाग्यो । 

 

Passport Notice old

सञ्चार माध्यमहरूमा ‘अनिश्चितकाका लागि राहदानी सेवा अवरुद्ध’ लगायतका शीर्षकमा समाचार सम्प्रेषण भएपछि धेरैले सरकारले अनावश्यक दबाब दिएको कारण कर्मचारीहरूले सिस्टम डाउन गरिदिएको आशङ्का गरे । 

राहदानी विभागमा सेवाग्राहीको भीड हुनुको कारण र जिम्मेवार कर्मचारी नै हुन् भन्ने आरोप लगाउने प्रकृतिको प्रचारबाजी भएको र सरकारले पनि अनावश्यक दबाब दिएको कारण सिस्टम डाउन गरिदिएको आशय आउने गरी समाचारहरू प्रकाशन भएपछि विभागले मंगलबार नै अर्को सूचना जारी गर्दै राहदानी विभागले अनिश्चितकाका लागि राहदानीको सेवा बन्द गरेको नभई सिस्टममा आएको समस्याका कारण छपाई गर्न नसकिएको भन्दै स्पष्ट पार्ने कोसिस गर्‍यो । 

Passport Notice

राहदानी विभागले जारी गरेको सूचनामा अन्य सबै काम नियमितरुपमा भइरहेको तर भ्यालिडेसन गर्ने समयमा इरर आएको भन्दै अन्य कुनै पनि काम नरोकिएको स्पष्ट पारेको छ । सेवाग्राहीले फारम भरेपछि भ्यालिडेसन चेक गरी अप्रुभ गर्नुपर्ने भएपनि त्यहाँ अप्रुभ गर्न नसक्दा पासपोर्ट छपाई र वितरण गर्न नसकिएको विभागको भनाइ छ । 

भएको के थियो ?

प्रवक्ता सापकोटाका अनुसार पुस १७ गतेदेखि राहदानी विभागको पासपोर्ट छपाई र तथ्यांक विवरण रहने सफ्टवेयरमा समस्या आएको थियो । अन्य काम सजिलै भएपनि विवरण चेक गरी अप्रुभ गर्ने भ्यालिडेसनको सिस्टममा समस्या देखिएको थियो । भ्यालिडेट गरेपछि मात्रै पासपोर्ट छपाइको काम सुरु हुने भएपनि मंगलबार भ्यालिडेसनको काम नै हुन नसकेको रिजेक्ट हुने वा घुमिरहने मात्रै भएपछि सूचना निकालेर समयमै पासपोर्ट दिन नसकिने भनिएको प्रवक्ता सापकोटाले बताइन् । 

इ–पासपोर्ट प्राप्त गर्नका लागि पहिले सेवाग्राहीले आफै अपोइन्टमेण्ट लिनुपर्ने हुन्छ । आफ्नो विवरण भरी अपोइन्टमेण्टको मिति प्राप्त गरेपछि सो मितिमा गएर जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा राहदानी विभागमा गएर, राहदानी दस्तुर बुझाउने, बायोमेट्रिक दिने लगायतको काम गर्नुपर्ने हुन्छ । त्यहाँ सबै विवरण दिइसकेपछि सम्बन्धित कार्यालयले विवरण चेक गरी भ्यालिडेट गर्ने र छपाइका लागि पठाउने गर्छन् । 

कहिलेकाहीँ इलाका प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालयले भ्यालिडेट गरेर पठाएपछि पनि राहदानी विभागले विवरण नमिलेको भन्दै रिजेक्ट गर्नसमेत सक्छ । सामान्यतः पहिले नै राहदानी लिइसकेका र हाल नवीकरणका लागि आवेदन दिएका आवेदकहरुको पहिलेको विवरणसँग नयाँ विवरण नमिलेको अवस्थामा विभागकै सिस्टमले रिजेक्ट गर्ने गर्छ । सबै कुरा ठीक भएमा विभागले पुनः भ्यालिडेट गरी अप्रुभ गरेपछि पासपोर्ट छपाइका लागि जान्छ ।

 

तर विभागले अप्रुभ गर्ने सफ्टवेयरमा विगत ३ दिनदेखि समस्या आएको विभागकी प्रवक्ता सापकोटाको भनाइ छ । सापकोटा भन्छिन्, ‘राहदानी वितरणसम्बन्धी सफ्टवेयरको एउटा महत्वपूर्ण भाग भनेको भ्यालिडेसन पनि हो । अन्य स्थानमा कुनै समस्या नभएपनि छपाइका लागि अप्रुभल दिने भ्यालिडेसन खण्डमा समस्या आएको छ । पुस १७ गतेदेखि समस्या आएको थियो र मंगलबार (पुस १९ गते) अलि बढी नै समस्या आयो । भ्यालिडेसनमा बारम्बार इरर देखिएपछि हामीले पासपोर्ट छपाइका लागि अप्रुभ गर्न सकेनौँ । पुस १४ गतेदेखि फारम भरेर बायोमेट्रिक गरिसकेका सेवाग्राहीलाई पनि हामीले पासपोर्ट दिन पाएका छैनौँ । आजबाट कहिलेकाहीँ चलेको छ, तर एकदमै सुस्त चलेको छ ।’

सापकोटाका अनुसार बुधवार कहिलेकाहीँ भ्यालिडेसनको सिस्टम खुलेपनि कहिले खुल्ने र कहिले बन्द हुने भइरहेको छ । सापकोटाले रातोपाटीसँग भनिन्, ‘मंगलबार रातको समयमा केही समय चलेको थियो । बुधवार बिहान ८ बजेतिर पनि सुस्त चलेको थियो । तर बुधवार दिउँसो कहिले चल्ने र कहिले नचल्ने गरिरहेको छ । सुस्त चलेको समयमा पनि भ्यालिडेट गर्न लामो समय लाग्ने गरेको छ । जसका कारण हामीले समयमै सेवा दिन सक्ने अवस्था छैन । सिस्टममा देखिएको समस्या समाधान भएपछि पहिलेकै जस्तो गरी सेवा सुचारु गर्नेछौँ ।’

समस्या पत्ता लाग्न सकेन

पुस १७ गतेदेखि नै पासपोर्ट फारम भर्नेदेखि छपाइ गर्नेसम्मको सिस्टममा समस्या आएको भएपनि ४ दिन बित्दासमेत समस्या समाधान हुन सकेको छैन । भ्यालिडेसनको समस्या इ–पासपोर्टको सफ्टवेयरमा हो कि नेपाल सरकारको डाटा सेन्टरमा रहेको विवरणमा हो भन्ने कुरा अझै पत्ता लागेको छैन ।

अहिले इ–पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । त्यसैगरी पुरानो पासपोर्ट भए त्यसको सिस्टम वा अन्य तथ्यांकसँग पनि मिलाउनुपर्ने भएको कारण समस्या कहाँ रहेको हो अझै पत्ता लाग्न नसकेको हो । 

प्रवक्ता सापकोटाका अनुसार अहिले नेपालमा इ–पासपोर्ट छपाइको जिम्मेवारी पाएको फ्रान्सेली कम्पनी आइडिइमिया र नेपालको गभरमेण्ट इन्टिग्रेटेड डाटा सेन्टर (जिआइडीसी) का इञ्जिनियरहरुले समस्या समाधानका लागि काम गरिरहेका छन् । यद्यपि समस्या कहाँ भन्ने कुराको पत्ता लाग्न नसकेको र उक्त समस्या समाधानको काम भइरहेको विभागले जनाएको छ । 

प्रवक्ता सापकोटाका अनुसार फ्रान्सेली कम्पनी र नेपालका इञ्जिनियरहरुले समस्या समाधानका लागि काम गरिरहेका छन् । अब बिहीबारदेखि नै नियमितरुपमा काम गर्ने गरी तयारी भइरहेको सापकोटाले बताइन् । यद्यपि समस्या समाधान हुन नसकेको अवस्थामा भने पहिलेको जस्तै गरी सेवा दिन सम्भव नभएको सापकोटाले बताइन् । सापकोटाले भनिन्, ‘हामी त छिटै सेवा सुचारु गर्न चाहन्छौँ । तर सिस्टममा देखिएको इरर समाधान नभएसम्म पूर्ववत अवस्थामा सेवा दिन सक्ने अवस्था छैन ।’

सरकारले लाइन हटाउन दबाब दिएकै कारण कर्मचारीले सिस्टम डाउन गरिदिएको आरोप छ नि भन्ने रातोपाटीको प्रश्नमा त्यसमा कुनै सत्यता नभएको बताइन् । उनले भनिन्, ‘बाहिर कसले के के भन्छन् भनेर खोजीनीति गर्ने कुरा पनि भएन । न सरकारले हामीलाई दबाब दिएको छ, न हामीले सिस्टम डाउन गरेका हौँ । सफ्टवेयरमा समस्या आएको कारण अरु काम भएपनि भ्यालिडेटको काम हुन नसकेपछि छपाइमा जान नसकिएको हो । अरु सबै काम भइरहेकै छ । सेवाग्राहीले पनि कहिलेकाहीँ सिस्टममा समस्या आउँछ भनेर बुझिदिनुपर्‍यो ।’ 

सेवाग्राही भन्छन्, ‘यसरी त कसरी हुन्छ ?’

पासपोर्ट वितरणमा समस्या देखिएपछि कतिपय सेवाग्राहीलाई भने मर्का परेको छ । तत्कालै भिसाका लागि आवेदन दिनुपर्ने, बाहिर गइ हाल्नुपर्ने सेवाग्राही यतिबेला मर्कामा परेका छन् । एक सेवाग्राही लमजुङका भवानी पौडेलले भनिन्, ‘सिस्टममा समस्या आयो भनेर सबै काम ठप्प पारेका छन् । कर्मचारीले नै सिस्टम डाउन गरेका हुन् कि के हो थाहा छैन । मलाई त कर्मचारीले नै डाउन गरिदिएका हुन् कि जस्तो लाग्छ । शुक्रवारका दिन भिसाका लागि आवेदन दिनुपर्ने थियो । तर पासपोर्ट कहिले आउँछ ठेगान भएन । यसरी त कसरी हुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप