शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

गठबन्धन दलहरुबीच बागमतीको मुख्यमन्त्री बन्न हानथाप

बिहीबार, २१ पुस २०७९, १४ : ५८
बिहीबार, २१ पुस २०७९

सरकार गठनका बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेसँगै बागमतीको राजनीति गर्माएको छ  । सरकार गठनका लागि प्रदेश प्रमुखले ५ दिनभित्र दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुसँगको सहकार्यमा बहुमत प्राप्त दलका नेताले मुख्यमन्त्रीमा दाबी पेस गरी सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले ५ दिनभित्र मुख्यमन्त्रीमा बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गर्न आह्वान गरेका छन् ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख कार्यालय हेटौंडाले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मिति गत मंसिर २८ गतेलाई आधार मानेर सरकार गठनको लागि आह्वान गरेको हो ।

दलहरुबीच हानथाप

११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ । बागमती प्रदेशसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।

बागमती प्रदेशमा सरकार गठनका लागि आवश्यक सामान्य बहुमत गठबन्धनका दलहरु माओवादी केन्द्र, एमाले र राप्रपाले सहजै पाउने देखिन्छ । प्रदेशसभामा उक्त गठबन्धनको ६१ सिट छ, जुन सरकार गठनका लागि पर्याप्त हो । यद्यपि, मुख्यमन्त्री बन्न गठबन्धनका दलहरु बीच हानथाप नै चलेको छ । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेबाट दलका नेता जगन्नाथ थपलिया, माओवादी केन्द्रबाट दलका नेता शालिकराम जम्कट्टेल र राप्रपाबाट दलका नेता उद्धव थापा बलियो दाबेदार हुन् ।

केन्द्रीयस्तरमा सत्ता गठबन्धन दलहरु बीच भागबण्डा नहुँदा प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेमा अन्योल छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु बीच केन्द्रदेखि प्रदेशसम्मको भागबण्डाको विषयले बागमती प्रदेश सरकारको नेतृत्वका विषयमा विवाद देखिएको छ । सत्ता गठबन्धनका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबीच सरकारको नेतृत्व र पावर सेयरिङ्गको विषयमा निर्णय भइनसकेका कारण कसको नेतृत्वमा जाने भन्ने अन्यौल कायमै छ ।

बागमती प्रदेश सरकारको नेतृत्व, मन्त्रालय, सभामुख, उपसभामुख र अन्य संवैधानिक नियुक्तिका विषयमा केन्द्रबाट निर्देशन नआउँदा गठबन्धन दलहरु नेतृत्व लिने विषयमा अलमलमा देखिएका छन् । भागबण्डाको सम्पूर्ण निर्णय केन्द्रीय तहका नेताहरुबाट हुने भएकाले प्रदेशस्तरमा कुनै पनि छलफल हुन नसकेको गठबन्धन दलका नेताहरु बताउँछन् ।

केन्द्रको समीकरण फेरिएको घटना प्रदेशमा दोहोरिन सक्छ : थापा

राप्रपा बागमती संसदीय दलको नेता उद्धव थापा मुख्यमन्त्री बनेरै प्रदेश संरचना खारेज गर्ने धारणा व्यक्त गर्छन् । सत्ता समीकरणका लागि निर्णायक भूमिका रहेकाले प्रदेश सरकारको नेतृत्व राप्रपाले पाउनु पर्ने र सरकारको नेतृत्व गरेर पार्टीको एजेण्डा अनुसार प्रदेश संरचना खारेज गर्ने उनी बताउँछन् ।

‘मुख्यमन्त्री बनेर प्रदेश खारेज गर्छौं । संघीयता कुनै पनि अवस्थामा खारेज हुनुपर्छ । सरकारमा रहेर नै हामी संघीयता खारेज गर्छौं,’ उनले भने, ‘सात वटा प्रदेशमध्ये चार वटामा हामी निर्णायक शक्ति हौं । हामीले सहमती नगर्ने हो भने अहिलेको समीकरणको सरकार बन्न सक्दैन ।’

सत्ता गठबन्धनका पावर सेयरिङको विषय टुंगिएसँगै सरकार गठनमा राप्रपाले नेतृत्व लिएर अघि बढ्ने उनले बताए । पावर सेयरिङको विषय केन्द्रीय तहमा हुने भएकाले प्रदेशको कुनै भूमिका नरहने उनको भनाई ।

‘परिस्थितिजन्य ढंगबाट हामी केन्द्रको सरकारमा सहभागी भएका हौं । केन्द्रीय सरकार कसरी बन्यो भन्नेचाहिँ बिर्सन हुन्न । गठबन्धनमा रहेका दलहरुले हामी मात्र हौं भन्न भन्न थाले कुरा नमिल्न सक्छ,’ उनले भने, ‘पहिलो त पावर सेयरिङको कुरा मिलाउनु पर्छ । त्यो प्रदेशको हातमा छैन । केन्द्रीय निर्णय अनुसार भागबण्डा हुन्छ । सोही अनुसार बागमती प्रदेश हाम्रो भागमा पर्नुपर्छ ।’

राप्रपाको प्रदेशको अंकगणितलाई अवमूल्यन गर्न नहुने भन्दै उनले केन्द्रमा समीकरण फेरिए जस्तो घटना प्रदेशमा दोहोरिन पनि सक्ने चेतावनी समेत दिए ।

केन्द्रको निर्देशन कुरिरहेका छौं : जम्कट्टेल

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले केन्द्रदेखि प्रदेशसम्म सरकार निर्माणका लागि आफ्नो पार्टीको महत्वपूर्ण भुमिका रहेकाले मुख्यमन्त्रीमा आफ्नो दावी रहेको बताए । दलहरुका बिचमा सहमती हुँदा बागमती प्रदेशको नेतृत्व हामीले गर्न पाउने उनको सशक्त दावी रहेको छ ।

‘म यसअघि प्रदेश सरकारको आन्तरिक मामिला मन्त्री र हाल आर्थिक मामिला मन्त्री भएकाले सरकार सञ्चालनको अनुभव पनि छ । बागमती प्रदेशमा केही नयाँ राम्रो काम गर्नका लागि यसपटक माओवादी केन्द्रबाट म मुख्यमन्त्री बन्ने आकांक्षा अनुसार प्रयासरत छु,’ उनले भने, ‘अब केन्द्रको समीकरण अनुसार भागबण्डामा दलीय सहमतीमा जसको नेतृत्वमा सरकार बनेपनि मिलेर अघि बढ्छौं । सरकार गठनबारे केन्द्रको निर्देशन कुरिरहेका छौं ।’

उनका अनुसार केन्द्रमा भागबण्डाको विषय फाइनल भएपछि प्रदेश प्रमुखबाट सरकार गठनका लागि आह्वान भएको समय अवधिभित्र माओवादी केन्द्रले नेतृत्वमा दावी पेस गर्नेछ । सरकार गठनबारे प्रदेशस्तरमा कुनै छलफल नभएको उनले बताए ।

‘पहिले केन्द्रमा सरकारको विषय टुंगिएपछि प्रदेशको समीकरणको पनि निर्णय हुन्छ । प्रदेश सरकारको नेतृत्व हामीले गर्नुपर्छ भन्ने हाम्रो अडान छ,’ उनले भने ।

बागमतीमा एमालेकै नेतृत्वमा सरकार बन्छः थपलिया

नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशमा गठबन्धनको सबैभन्दा ठुलो दल भएको हिसावले मुख्यमन्त्री एमालेले नै पाउने दाबी गरे । उनले प्रदेश प्रमुखले दिएको समय सिमाभित्र सत्ता गठबन्धनको सहमतीमा एमालेको नेतृत्वमा प्रदेशमा नयाँ सरकार गठन भइसक्ने बताए ।

सरकार गठनबारे प्रदेश तहले पनि आफ्नो भूमिका खेल्ने र केन्द्रले त्यसको निर्णय गर्ने उनले बताए । ‘हामी केन्द्रको निर्णय कुरिरहेका छौं । तर सरकारको नेतृत्वको विषयमा टुंगो लागिसकेको अवस्था छैन । त्यसैले केन्द्रबाट निर्देशन भएअनुसार बागमती प्रदेश सरकारको नेतृत्वको लागि प्रदेश प्रमुखले दिएको समय सिमाभित्र एमालेले दाबी पेस गर्छ,’ उनले भने, ‘एमाले राष्ट्रिय रुपमा ठुलो पार्टी पनि हो । केन्द्रमा माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेका कारणले पनि बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी स्वाभाविक छ ।’

यद्यपि सत्ता गठबन्धन दलहरुसँग सल्लाह गरेर त्यसको निर्णय गर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप