शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जाल र भाइरल युग

बिहीबार, २१ पुस २०७९, १५ : ३२
बिहीबार, २१ पुस २०७९

भाइरल शब्द पहिला पहिला विशेष गरी भाइरल ज्वरो फैलिदा सुनिन्थ्यो, अहिले सोही शब्दलाई सामाजिक सञ्जालद्वारा छिटो र व्यापक रूपमा फैलिने कार्यलाई ‘भाइरल’ भनेर चिनिन्छ ।  त्यही भाइरल शब्द अहिले भाइरल ज्वरोको संक्रमणको खतराभन्दा सयौँ गुणा बढीको तीव्र गतिमा फैलिँदो छ । सामाजिक सञ्जाल विशेष गरी टिकटक अहिले भाइरल भएको छ । अहिले टिकटकलगायत सामाजिक सञ्जालमा कति फलोअर्स छन् भन्नेतिर समाज लम्किरहेको छ । 

पहिला पहिला घरमा परिवारबिच सुख दुःखका कुरा हुन्थ्यो, योजनाका कुरा हुन्थ्यो, माया प्रेमका कुरा हुन्थ्यो, कामका कुरा हुन्थ्यो, सरसल्लाहका कुरा हुन्थ्यो तर अहिले समाज बदलियो, मानिसका बिचार बदलिए । त्यो समय लगभग हराएको अवस्था छ । 

अहिले घर घरमा इन्टरनेट पुग्नाले सरसल्लाहको कुरा त टाढैको भयो, बोलचाल समेत बन्द छ । अहिले त घर घरमा घोप्टे युगको सुरुवात छ । परिवारबिच सम्बन्ध टाढिँदै गएको छ । परिवार एकै घरमा बसेको छ तर दिमाग, आँखा, हातको औँला भने स्मार्टफोनतिर छ । सामाजिक सञ्जालमा व्यस्त हुने प्रचलनले कुराकानी गर्ने फुर्सद छैन । यो हरेकको पारिवारिक ठुलो रोग बनिदिएको छ । 

हालै मात्र एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले हाम्रो सुन्दर घर बन्दैछ, कस्तो लाग्यो ? भन्ने पोष्टमा उनैको श्रीमतीले बूढा त्यो माथिको कोठाको झ्यालमा पिंक कलर लगाऔँ है, मलाई मन पर्ने कलर हो भनी कमेन्ट लेखेकी थिइन् । यो त एउटा उदाहरण मात्र हो । यस्ता धेरै अनावश्यक गतिविधि सामाजिक सञ्जालमा हेर्न पाइन्छ । यसले हाम्रो आउने पुस्ताको जीवनशैली कहाँ पुग्ला ? 

त्यसो त सामाजिक सञ्जाललाई सही सदुपयोग गरी आफ्नो व्यापार ब्यावसाय बढाएर आम्दानी गर्नेहरू पनि नभएको हैनन् । यसलाई सही सदुपयोग गर्न सकियो जीवन सहज गर्दछ । त्यसैले, यसलाई समाजमा राम्रो सन्देश फैलाउने, समाजलाई जोड्ने सञ्चारको कामको रूपमा मात्र प्रयोग गर्न सक्नुपर्छ । 

पछिल्लो समय गाउँ गाउँमा इन्टरनेटको पहुँच पुगेपछि त अहिले गाउँमा पनि भाइरल आतंक छ । यस क्रममा धेरै दुःखद घटना समेत घटेका छन् । केही समय अघि अभिभावकले राम्रो मोबाइल नकिनिदिएकोले एक जना बालकले आत्महत्या गरेका थिए । कतिको घरमा दिनहुँ यही कारणले झगडा भइरहेको छ । यतिसम्म कि फलफूल, तरकारी, गाईभैंसी बेचेर महँगो मोबाइल खरिद गरी टिकटकमा व्यर्थको समय बिताउनेको सङ्ख्या बढ्दै गएको छ । 

पछिल्लो समय टिकटकमा भ्यूज, लाईक बढाउन नितान्त व्यक्तिगत कुरा बेडदेखि किचन अनि चुम्बनदेखि अर्धनग्न भिडियो र तस्बिरहरू राखेर भाइरल बन्ने होडमा अहिले सामाजिक सञ्जालहरू तताइरहनेको पनि लामै भीड छ । 

यसै बिच अहिले यूटयूब र टिकटकमा एक जना बाजे भाइरल भइरहेका छन् । न त उनमा कला छ, न त गला छ । तर उनै बाजेलाई अहिले सुन्ने, हेर्नेको लाईन छ । नेपालमा स्टार सेलिब्रेटीहरुलाई हेर्ने सुन्ने बरु कम होलान् तर उनलाई हेर्ने, सुन्ने बढी छन् । हुँदा हुँदा उनलाई टिभी सिरियलमा समेत खेलाउन थालियो । यहाँ वर्षौँदेखि कला क्षेत्रमा सङ्घर्ष गरिरहेका कलाकारको महत्त्व छैन, उनीहरू गुमनाम छन् । तर केही योगदानै नभएका ती बाजेलाई बजारमा ठुलै भ्यालु दिइएको छ । अहिले उनलाई गायक र मोडल बनाउनेको लामै लाइन छ । 

पछिल्लो समयमा त ती बाजेलाई सामाजिक अभियानमा समेत प्रमुख अतिथि बनाउन थालिएको छ । अब उनी ब्रान्ड एम्बेसडरसम्म हुने छन् । किनकि हाम्रो समाज भाइरल युगमा प्रवेश गरिसकेको छ । जबकि उनले बोल्ने अश्लील शब्दका कारण हाम्रो समाजमा ठुलो विकृति सिर्जना भइरहेको छ । यसबारे चिन्तन मननको साटो यस्ता त्यस्तै प्रवृत्तिलाई बढाउन र प्रश्रय दिन हाम्रो समाज उद्धत भइरहेको छ । 

यस्ता गतिविधिमा ती बाजेको दोष छैन । यसको दोष भाइरलका पछाडि दौडिरहेको हाम्रो समाज र डलर कमाउनका लागि जे पनि गर्ने केही यूटयूबधारी समाजलाई बिगार्ने भाइरसहरुलाई जान्छ । जसले खोजीखोजी यस्ता पात्रलाई रातारात भाइरल बनाइदिन्छन् । समयको बेगसँगै फेरि यिनै भाइरलहरुलाई सडकपेटीमा मागिरहेको देख्ने बनाइदिन्छन् । यस किसिमले हाम्रो समाज कता जाने हो भन्न सकिने अवस्था छैन । उनलाई सुन्न, हेर्न चाहेको कारण परिवारमा विशेष गरी बालबालिकामा देखासिकीको असर पर्न थालेको छ । 

केही दिन अघिको मात्र घटना हो, बाटोमा हिँडिरहेका स्कुले बालबालिकाहरूको एक हुलबाट तीनै बाजे बोली बोल्दै अश्लील शब्दको चर्चा गर्दै हिँडेको देखियो । तिनले बोल्ने अश्लील शब्द प्रयोग गर्दै नक्कल गरेको सुन्दा म आफै स्तब्ध भएँ । हाम्रा बच्चाहरूले कस्तो भाषा कस्तो शिक्षा कस्तो संस्कार सिकिरहेका छन् सोच्ने बेला आयो । अब परिवारबिच आत्मसमीक्षा गर्ने समय आयो । 

ती बालबालिकाहरूको कुनै दोष छैन । बच्चाहरूलाई हामी अभिभावकले घरमा कस्ता क्रियाकलाप गर्न दिइरहेका छौँ । बालबालिकालाई कस्तो कार्यका लगाइरहेका छौँ ? यही गतिले हाम्रो समाज अघि बढ्यो भने भावी पुस्ता कुन रूपमा आउने हो, सोचनीय छ । 

अनावश्यक भाइरल आतंक बन्द गर्न हरेक नागरिकको उत्तिकै दायित्व हो । सामाजिक सञ्जालको दुरुपयोगका कारण अहिले डिप्रेसनमा जानेको सङ्ख्या बढ्दो छ । यस्ता हर्कत समयमै निरुत्साहित गर्न सकेनौ भने हाम्रो समाजमा एक दिन भयानक विस्फोटन हुने खतरा छ । यसका लागि राज्यले पनि नियमन गर्न जरुरी छ । सामाजिक सञ्जाललाई समाज जोड्ने बनाऔँ, तोड्ने होइन ।

लेखक सामाजिक अभियन्ता तथा चलचित्रकर्मी हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चक्र बहादुर चन्द
चक्र बहादुर चन्द
लेखकबाट थप