शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रालयको दृश्य

प्रधानमन्त्री प्रचण्डको काँधमा २१ मन्त्रालयको भारी, सुनसान भए मन्त्रीविहीन मन्त्रालय (फोटो फिचर)

बिहीबार, २१ पुस २०७९, १५ : ३७
बिहीबार, २१ पुस २०७९

काठमाडौं । बुधबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पुग्दा मन्त्रीको सचिवालयमा एक जनामात्र कर्मचारी भेटिए । खासै काम केही नभएका ती कर्मचारीले मन्त्री नहुँदा मन्त्रालय अभिभावकविहीन भएको प्रतिक्रिया दिए । यता शहरी विकासमन्त्रीको सचिवालयमा एक महिला कर्मचारी भेटिइन् । उनी कम्प्युटरमा युट्युव खोलेर कानमा हेडफोन लगाई हिन्दी चलचित्र हेरिरहेकी थिइन् ।

यस्तै शिक्षा मन्त्रालय, सूचना प्रविधि तथा सञ्चार मन्त्रालय, कृषि मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, पर्यटन मन्त्रालय पनि  सुनसान थिए । मन्त्री भएका मन्त्रालयमा मन्त्रीसँग भेटघाटका लागि पार्टीका नेता, कार्यकर्ताका साथै शुभचिन्तकको भिडभाड लाग्ने गरे पनि अन्य मन्त्रालयमा भने कर्मचारीमात्र देखिन्थे ।

IMG_2398

मन्त्रालयमा काम लिएर वा भेटघाटका लागि आउने सर्वसाधरणका लागि एउटा मन्त्रालयमा कम्तीमा २ सय हाराहारी सिंहदरबार प्रवेश पास जाने गरेको कर्मचारी बताउँछन् । गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसको भोलिपल्ट उनले ३ विभागीय मन्त्री र ४ बिना विभागीय मन्त्रीसहितको मन्त्रिपरिषद बनाएका थिए । करिब २ साता बित्न लाग्दासमेत मन्त्रिपरिषद विस्तारको टुङ्गो लागेको छैन भने नियुक्त भएका ४ बिना विभागीय मन्त्री कामकाजविहीन बनेका छन् ।

यतिबेला प्रचण्डको काँधमा प्रधानमन्त्रीसहित २१ मन्त्रालयको जिम्मेवारी रहेको छ । मन्त्रीमण्डल विस्तार नहुँदा खाली रहेका मन्त्रालयहरुमा विभागीय मन्त्रीको नाम प्रचण्डको रहे पनि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक अरु मन्त्रालयमा पाइला राखेका छैनन् ।   

IMG_2394

मन्त्रिपरिषदमा सामेल ४ मन्त्रीले समेत जिम्मेवारी नपाउँदा उनीहरु मन्त्री क्वाटर पुल्चोकमा नेता कार्यकर्ताको बधाई थापेर दिन बिताइरहेका छन् । केही मन्त्री फुर्सदको समयमा आफ्नो निर्वाचन क्षेत्रमा पुगेर बधाई थाप्ने तयारीमा समेत छन् ।

सचिवहरु भन्छन्– विभागीय मन्त्री हुँदा जस्तो काम सहज हुँदैन

मन्त्रालयमा विभागीय मन्त्री नहुँदा कुनै नीतिगत निर्णयका लागि फाइल बोकेर सचिवहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जानुपर्ने अवस्था छ । २१ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डको जिम्मामा रहेका कारण कुनै मन्त्रालयले नीतिगत निर्णय गर्नुपर्दा प्रधानमन्त्रीलाई भेट्नुपर्ने अवस्था आएको हो ।

IMG_2396

आवश्यक काम पर्दा प्रधानमन्त्रीको सचिवालयसँग समय मागेर काम गर्ने गरेको केही सचिवले बताएका छन् भने केही सचिवले मन्त्रालयले गर्नुपर्ने निर्णयका लागि विभागीय मन्त्रीलाई पर्खिरहेको बताएका छन् ।

शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले विभागीय मन्त्री नहुँदा नीतिगत निर्णय गर्न समस्या हुने बताए । मन्त्रालयले गर्ने अन्य नियमित काममा भने असर नपरेको उनको भनाइ छ । केही नीतिगत निर्णय गर्नुपर्ने विषयहरु मन्त्रालयमा रहेको, ती विषयमा मन्त्रीको पनि आफ्नो सोचाई हुने भएकाले त्यसका लागि विभागीय मन्त्रीलाई पर्खिएर बसेको उनले बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले विभागीय मन्त्री नहुँदा नीतिगत निर्णय गर्नका लागि समस्या हुने बताए । उनले भने, ‘विभागीय मन्त्री नहुँदा अलिकति असहजता त भइहाल्छ, केही महत्वपूर्ण निर्णय गर्नुपर्ने अवस्था आयो भने त प्रधानमन्त्रीज्यूकोमा जानुपर्छ । नियमित रुपमा भइरहेका काम र सचिवलाई अधिकार पत्यायोजन गरेका कामहरु गर्नका लागि भने समस्या हुँदैन ।’

IMG_2399

महत्वपूर्ण निर्णय गर्नुपर्दा प्रधानमन्त्रीलाई हाम्रो मन्त्रालयमा यस्तो छ भनेर बिफ्रिङ गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘त्यस्ता विषयहरुमा आवश्यक काम उहाँबाट पनि भइहाल्छ । विभागीय मन्त्री नहुँदा साह्रै अप्ठ्यारो पनि हैन, तर जुन हिसाबले काम हुनुपर्ने हुन्छ, त्यो किसिमको सहजता त हुँदैन नै ।’

सञ्चार मन्त्रालयमा पनि केही फाइल अघि बढाउन तयारी अवस्थामा रहेको उल्लेख गर्दै सचिव अर्यालले सञ्चार मन्त्रीको प्रतिक्षामा रहेको बताए । सञ्चार मन्त्रालयलाई कसरी अगाडि बढाउने भन्ने विषयमा विषयगत मन्त्रीको पनि धारणा रहने भएकाले मन्त्री आएपछि त्यस्ता विषयहरुलाई अघि बढाइने उनको भनाइ छ ।

IMG_2400

यस्तै कृषि मन्त्रालयका सचिव दीपक खरालले विभागीय मन्त्री नभएका कारण प्रधानमन्त्रीको कार्यालयको सचिवालयसँग निरन्तर सम्पर्कमा रहेर काम गर्ने गरेको बताए । उनले भने, ‘मन्त्रालयमा मन्त्रीबाट गर्नुपर्ने कामका लागि प्रधानमन्त्रीको सचिवालयसँग नियमित सम्पर्कमा रहेर काम सल्टाइरहेका कारण त्यस्तो समस्या परेको छैन । केही दिनपछि नै विभागीय मन्त्री आउने भएकाले त्यसका लागि मानसिक रुपमा हामी तयार भएर बसेका छौँ । अहिले चाहिँ हामीले प्रधानमन्त्रीको सचिवालयसँग नियमित सम्पर्कमा रहेर काम टुङ्ग्याउने गरेका छौँ ।’

IMG_2401

मन्त्रालयमा मन्त्री नहुँदा मानिसहरुको चहल पहल कम भए पनि मन्त्रालयका कर्मचारीले गर्ने काममा कुनै कमी नभएको उनले बताए ।

मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै एक साताभन्दा बढी समय लाग्ने

वर्तमान सरकारले पूर्णता पाउनका लागि अझै एक साताभन्दा बढी समय लाग्ने देखिएको छ । यही पुस २५ गते प्रतिनिधिसभाको पहिलो बैठक बोलाइएको छ भने २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ । विश्वासको मत लिएपछि मात्र सरकार गठनलाई अगाडि बढाउने रणनीतिमा प्रचण्ड छन् ।

IMG_2402

त्यसअघि सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ । सत्ता गठनबन्धनमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु साझा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन लागिपरेका छन् । बिहीबार त्यसलाई टुङ्गोमा पु¥याएर शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए ।

सरकारलाई समर्थन गरेर पनि हाल सरकार बाहिर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले सरकारको नीति तथा कार्यक्रम हेरेर मात्र सरकारमा सहभागिताबारे निर्णय गर्ने बताएका छन् । 

IMG_2403

IMG_2379IMG_2380IMG_2383IMG_2385IMG_2386IMG_2388IMG_2389IMG_2392

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप