बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’ लागु गर्ने निर्णय

गृहमन्त्रीले गरे निरीक्षण, १० सेवामा ‘टाइम कार्ड’
बिहीबार, २१ पुस २०७९, १६ : १२
बिहीबार, २१ पुस २०७९

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘टाइम कार्ड’ लागु गरिएको छ । बिहीबारबाट जिल्ला प्रशासन कार्यालयले दिने १० प्रकारका सेवामा टाइम कार्ड लागु गरिएको काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायले रातोपाटीलाई बताए ।

कुन सेवालाई कत्ति सयमभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागु गरिएको छ । कागजात पुगेको वा नपुगेको चेक गरेर टाइम कार्ड दिइने प्रजिअ उपाध्यायले बताए । उनले भने–‘कागजात पुगेको अवस्थामा ३० मिनेटमा सेवा दिने गरी टाइम कार्ड लागु गरेका छौँ ।’

आवश्यक कागजात पुगेको अवस्थामा १ घण्टाभित्र सेवाग्राहीले नागरिकता पाउने भएका छन् । नाबालकको प्रमाणपत्र १ घण्टामा र छापिएर आएको राष्ट्रिय परिचयपत्र ३० मिनेटमा पाउन सकिन्छ ।

फोटो खिचेपछि विभागले छापेर पठाएको राष्ट्रिय परिचय पत्र जिल्ला प्रशासनबाट नै वितरण गर्न थालिएको छ । सिफारिस सम्बन्धी काम १ घण्टाभित्र दिने गरी समय निर्धारण गरिएको छ । मुद्दाको पेशी र तारेख ३० मिनेट भित्र सक्ने नीति लागु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा ६० दिनभित्र फैसला गर्ने लक्ष्य राखेर काठमाडौँ जिल्ला प्रशासनले आफ्नो सेवामा परिमार्जन गरेको छ ।

शुक्रवार बाहेक दैनिक ३ बजेदेखि ४ बजेसम्म प्रमुख जिल्ला अधिकारीले जिल्लाभित्रको सेवा प्रवाह र जिल्ला प्रशासनको गुनासो सुन्ने भएका छन् । त्यस्तै ६५ वर्षामाथिका ज्येष्ठ नागरिक, अशक्त नागरिक र दुधे बच्चा सहितको महिलालाई लाइनमा नराख्ने निर्णय गरिएको छ । ७५ वर्षमाथिका नागरिकलाई सहयोगी लगाएर सेवा दिन सुरु गरिएको छ ।

टाइम कार्ड लागु गर्ने निर्णयसँगै बिहीबार उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री लामिछानेले जिल्ला प्रशासनको सेवालाई क्रमिक रूपमा सुधार गर्दै लैजाने बताए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप