मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादीले माग्यो कांग्रेससँग विश्वासको मत, बन्ला राष्ट्रिय सहमतिको सरकार ?

बिहीबार, २१ पुस २०७९, २२ : ४३
बिहीबार, २१ पुस २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा कांग्रेससँग विश्वासको मत मागेको छ । माओवादीका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य दोस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै भेटेर विश्वासको मत दिन आग्रह गरेका हुन् । भेटका क्रममा माओवादीका नेताहरूले सरकारलाई पुस २६ गते बस्ने संसद बैठकमा विश्वासको मत दिन र राष्ट्रिय सहमतिको सरकार बनाउनेतर्फ अग्रसर हुन आग्रह गरेका हुन् । 

माओवादी केन्द्रका नेता जनार्दन शर्मा बुधवार देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । सो क्रममा उनले प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि अग्रसर हुन आग्रह गरेका थिए । नेता शर्माले आफूले प्रचण्डलाई मत दिन कांग्रेस सभापतिलाई आग्रह गरेको रातोपाटीलाई बताए ।

‘मेरो प्रधानमन्त्री उहाँ हो । मन्त्रीबाट हटिसकेपछि म भेट्न भएको हो’, उनले भने, ‘रामचन्द्र पौडेलजीले राष्ट्रिय सहमतिको सरकार भनिरहनुभएको छ। सोही अनुसार अघि बढौँ र प्रचण्ड नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर विश्वासको मत मागेको हुँ ।’ 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुक राजनीतिक, आर्थिक, सामाजिक र मानवीय समस्याले घेरिएको भन्दै यो बेलामा राष्ट्रिय सहमतिको सरकार आवश्यक पर्ने बताएका थिए । ‘हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ’, उनले भने ‘अहिलेको परिवर्तन, व्यवस्था र संविधानलाई जोगाउनका लागि राष्ट्रिय सहमति आवश्यक छ ।’

केही समय मुलुकका सबै राजनीतिक शक्ति मिलेर पटक पटकको राजनीतिक क्रान्तिबाट प्राप्त परिवर्तन र संविधानको रक्षा गर्नुपर्ने पौडेलको भनाइ छ ।  ‘म यहाँ बाहिर भएर भनिरहेको छैन, तपाईंहरु विचार गर्नुहोला । म जहाँ भएर भने पनि म एउटा नेपाली भएर भनिरहेको छु’ उनले भने, ‘अहिले पनि राष्ट्रिय सहमतिको सरकारको प्रयत्न गर्नुपर्छ ।’

बिहीबार मात्रै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि देउवालाई धम्बाराहीमा पुगेर भेटेका थिए । यादवले पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेको कांग्रेसका नेताहरूको भनाइ छ । सो क्रममा यादवले आफ्नो पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने र सबै मिलेर अघि बढ्दा नै राम्रो हुने धारणा राखेका थिए । 

माओवादीले विश्वासको मत दिन प्रस्ताव गरेपछि कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । बिहीबार नै कांग्रेसका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । बिहीबार अपराह्न कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र संसदीय दलका मुख्य सचेतक रमेश लेखकबीच शर्माको निवासमा बैठक बसेका छन् ।

सो बैठकमा माओवादीको प्रस्ताव आइसकेपछि कसरी अघि बढ्ने भनेर छलफल भएको बुझिएको छ । देउवाले आजै आफू निकटस्थ शीर्ष नेताहरुसँग पनि यसबारे परामर्श गरेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदबाट विश्वासको मत लिने कार्यक्रम छ । कांग्रेस नेतृत्वको अघिल्लो गठबन्धनमा प्रधानमन्त्री नपाउने अवस्था बनेपछि प्रचण्डले एकाएक एमालेसँग सहकार्यको हात फैलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप