शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरको घण्टाघरमा नयाँ घडी

बिहीबार, २१ पुस २०७९, १८ : ०८
बिहीबार, २१ पुस २०७९

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको घण्टाघरमा नयाँ घडी जडान गरिएको छ । झण्डै १२ वर्षपछि घण्टाघरमा नयाँ घडी जडान गरिएको हो ।

सुर्खेत उद्योग वाणिज्य संघको समन्वयका वीरेन्द्रनगर नगरपालिकाले घडी जडान गरेको हो । घण्टाघरमा रहेका चार वटा घडी विगत १२ वर्षदेखि बन्द भएका थिए । लामो समयदेखि बिग्रिएका घडी मर्मतमा कसैले चासो नदिएपछि चर्को आलोचना भएको थियो ।

त्यसपछि वीरेन्द्रनगर नगरपालिकाको नयाँ नेतृत्वले आफ्नो वार्षिक बजेटमा समेत घण्टाघरको संरक्षण शीर्षकमा बजेट विनियोजन गरेको थियो । सोही अनुसार घण्टाघरमा नयाँ घडी जडान गरिएको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले बताइन् । 

नगरपालिकाले घण्टाघरको संरक्षणका लागि २५ लाख छुट्याएको थियो । सोही बजेटबाट करिब १२ लाख मूल्यका नयाँ चारवटा घडी ल्याइएको र जडान कार्य भइरहेको नगरपालिकाका सूचना अधिकारी उत्तम प्रसाद आचार्यले रातोपाटीलाई जानकारी दिए ।

उनले भने,‘ बाँकी बजेटले बाहिरी क्षेत्रको सौन्दर्यीकरण गरी व्यवस्थापन गरिने छ ।’  आचार्यका अनुसार नयाँ ल्याइएका चारवटा घडी अहिलेको नयाँ प्रविधिसँग मेल खाने (डीजिटल) खालका रहेका छन् । उक्त घडीहरू भारतको हैदरावादबाट ल्याइएको हो । एक साताअघिदेखि घडीको जडान कार्य भइरहेको आचार्यले बताए । 

वीरेन्द्रनगरको खुल्ला मञ्चको पश्चिमतर्फ रहेको घण्टाघर २०४४ सालमा चीन सरकारको सहयोगमा ७० लाख ७९ हजार ५ सय ४० रुपैयाँको लागतमा निर्माण गरिएको थियो । भेरी नदी (समजी) घाटमा पुल निर्माण गर्दा बचेको पैसाले टावर बनाइएको जानकारहरू बताउँछन् ।

घण्टाघरबाट वीरेन्द्रनगर उपत्यकालाई नियाल्न सकिने भएकाले   आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि घण्टाघर प्रमुख पर्यटकीय  गन्तव्य पनि हो । तर संरक्षणको अभावमा घण्टाघरको शोभा हराउँदै गएपछि अहिले नगरपालिका आफै संरक्षणमा अग्रसर भएको नगरप्रमुख ढकाल बताउँछन् । घण्टाघरलाई उद्यानको रूपमा सञ्चालन गर्न निजी क्षेत्रलाई जिम्मा दिइएको थियो ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप