शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको जहरसिंह पौवामा घर-घर पुगेर महिलामाथि प्रहरीको ज्यादती (भिडियोसहित)

बिहीबार, २१ पुस २०७९, १८ : ३०
बिहीबार, २१ पुस २०७९

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर–३ जहरसिंह पौवा, बोझिनीमा  आन्दोलनरत स्थानीयमाथि प्रहरीले ज्यादती गरेको छ । 

निर्माण गर्न लागिएको अपर तामाकोसी जलविद्युत आयोजनाको विद्युत् प्रसारण लाइनको सबस्टेसन सो स्थानबाट अन्यत्र सार्न माग गर्दै ५ दिनदेखि आन्दोलन गरिरहेका स्थानीयको घर घर पुगेर ज्यादती गरेको स्थानीय विजया कुमारी वाइवाले जानकारी दिइन् । बिहीबार भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीको आक्रमणमा परी ३ जना घाइते भएको उनले बताइन् । 

प्रहरीको आक्रमणबाट निरमाया तामाङ, बिना तामाङ र १२ वर्षीय दोर्जे तामाङ घाइते भएका छन् । सशस्त्र प्रहरीका डीएसपी सुदिप प्रसाईँ लगायतको आक्रमणमा उनीहरू घाइते भएको स्थानीयले जानकारी दिएका छन् । डिएसपी प्रसाईँले स्थानीय बिना तामाङमाथि आक्रमण गरेको उनीहरूको भनाई छ । प्रहरीले स्थानीयको शान्तिपूर्ण आन्दोलनमाथि ज्यादती गरेको भन्दै स्थानीय तुलाराम लामाले आक्रोश व्यक्त गरेका छन् । 

प्रहरीले आन्दोलन नगर्न भन्दै घर–घर पुगेर पेस्तोल ताक्ने, महिलाहरूलाई लछार पार्ने काम गरिरहेको स्थानीयले बताएका छन् । सबस्टेशन बनाउन अधिग्रहण गरेको जमिन फिर्ता पाउनुपर्ने र विद्युत् सवस्टेशन यसअघि योजना बनाइको काभ्रेको हलेदेमा सार्नुपर्ने उनीहरूको माग छ ।

सरकारले जहरसिंह पौवाको बोझिनीमा ४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत  आयोजनाको विद्युत् प्रसारण लाइनको सबस्टेसन बनाउने तयारी गरेपछि स्थानीय आन्दोलित भएका हुन् । झन्डै २ सय रोपनी जग्गामा विद्युत् सबस्टेशन बनाउने भएपछि आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आउने भन्दै स्थानीयले संघर्ष समिति बनाएर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दै आइएका छन् ।

संघर्ष समितिका अध्यक्ष रंजित तामाङले रातोपाटीसँग भने–‘हाम्रो यो आदीवासी भूमि हडपेर बस्तीमा विद्युत् सवस्टेशन बनाउन लागेको भएर हामीले आन्दोलन गरेका हौं । हामीले विगत ४ वर्षदेखि आन्दोलन गर्दै आएका थियौँ । हामीले बस्तीको बीच भागमा विद्युत् सवस्टेशन नबनाई यसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्छ भन्दै माग गर्दै आइरहेका छौँ । हाम्रो शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले बढी दमन गरेको छ ।’

सवस्टेशन बनाउन यसअघि सर्वे नभएपनि प्रहरीको बाक्लो उपस्थिति गराएर सर्वेक्षणको काम भइरहेको हो । विगत ४ वर्षदेखि स्थानीयले सो स्थानमा विद्युत् सवस्टेशन बनाउन नदिन आन्दोलन गरेका कारण सर्वेको काम रोकिएको थियो । 

संघर्ष समितिका अध्यक्ष तामाङले भने–‘अहिले सशस्त्र प्रहरीको ठुलो फौज ल्याएर यहाँ सर्वेको काम गरिरहेका छन् । स्थानीयको घर घरमा पुगेर पेस्तोल ताक्ने, धम्क्याउने, महिलालाई पुरुष प्रहरीले लछार–पछार गर्ने काम गरिरहेका छन् । बिहीबार भएको शान्तिपूर्णप्रदर्शनमा प्रहरीले गरेको दमनमा ३ जना महिला र एक बालक घाइते भएका छन् । प्रहरीले महिला र बालकमाथि लात्ती प्रहार गरेको छ । १६ वर्ष नपुगेको प्रहरीले हानेको लात्तिका कारण गम्भीर अवस्थामा छ ।’

उनले स्थानीय बासीको मञ्जुरीबीना सवस्टेशन राख्न लागेको, वातावरणीय प्रभाव मूल्याङ्कन नगरेको बताए । यसअघि काभ्रेको मण्डनदेउपुर नगरपालिकाको हलेदेमा सवस्टेशन राख्ने भनेर एआए गरेकोले सोही स्थानमा सार्नका लागि स्थानीयले माग गरेको उनले बताए । स्थानीयको मञ्जुरी नलिएको, इआए नगरेको र स्थानीयवासीको  बाँच्ने आधार खेतीयोग्य जमिन मासिने भएकोले आन्दोलन गरेको बताए । 

आदिवासीको भूमि रक्षा गर, विद्युत् प्रसारण सवस्टेशन बस्तीभन्दा बाहिर स्थापना गर भन्ने मुख्य माग राखेर प्रदर्शन गर्दै आएको बताए । अध्यक्ष तामाङले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । विद्युत् सवस्टेशन बनाउने जहरसिंह पौवाको बोझिनी तामाङ समुदायको बाक्लो बसोबास भएको क्षेत्र हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप