बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

सेयर बजारमा उत्साह : के साना लगानीकर्ताहरू फेरि मुर्गा बन्दैछन् ?

२७६ अंकको वृद्धि, २९ अर्ब ६३ करोडको कारोबार
बिहीबार, २१ पुस २०७९, १९ : ५५
बिहीबार, २१ पुस २०७९

अघिल्लो सातासम्म सेयर बजारमा त्यहीँ दिन चल्दै थियो, जुन दिनसम्म लगानीकर्ताहरूमा रोइलो चल्दै थियो । कोभिड–१९ ताकाको नेप्सेको उच्च विन्दु (३१९९ अङ्क) लाई हेरेर लगानीकर्ताहरू धिक्कार्दै थिए । 

‘अल टाइम हाई’ २०७८ भदौ २ गतेको नेप्से सूचकले ३१९९ को विन्दु छोएको थियो भने त्यसयताको नेप्सेको निरन्तर ओरालो यात्रापछि नेप्से सूचक १८१५ को विन्दुसम्म ओर्लिन पुग्यो । नेपाल स्टक एक्सचेञ्जको रेकर्ड अनुसार २०७९ असोज ९ गते यस वर्षकै न्यून विन्दुमा नेप्से झरेको थियो । 

सेयर बजार खस्किनुको सम्पूर्ण दोष राष्ट्र बैंकको गलत मौद्रिक नीतिलाई नै देखाउँदै लगानीकर्ताले यसको अपदोष अर्थमन्त्री र गभर्नरको थाप्लोमा खनाइदिए । 

मार्जिन लेण्डिङको ४/१२ को नीति तत्कालीन अर्थमन्त्री जनार्दन शर्माकै निर्देशनमा गभर्नर महाप्रसाद अधिकारीले जबरजस्त कार्यान्वयनमा ल्याएकाले सेयर बजार चौपट भएको लगानीकर्ताहरूको आरोप थियो । उसो त यहीँ मुद्दामा पूर्व अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच केही समयसम्म पानी बाराबारकै स्थिति समेत बन्न पुग्यो ।

राजनीतिक अपोजिसनको सरकारलाई असफल बनाउन गभर्नरले स्टन खेलेको भन्दै अर्थमन्त्रीले केही सार्वजनिक कार्यक्रममा नै गभर्नरको विरोध गरे । 

सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) को सन्दर्भमा मात्र नभएर गभर्नरले अन्य वित्तीय व्यवस्थापनका औजारहरूको प्रयोग र व्यवस्थापनमा समेत उदासीनता देखाउँदै सरकारलाई असहयोग गरेको पूर्व अर्थमन्त्री शर्माको आरोप थियो । 

तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिले मार्जिन लेन्डिङको ४/१२ को तल्लो सीमा खारेज गर्दै माथिल्लो सीमा मात्र कायम गरियो । अर्थात् आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले सेयर लगानीकर्ताहरूलाई सेयर धितोमा जुनकुनै बैंक तथा वित्त कम्पनीबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन सक्ने सुविधा प्रदान गरिदिएको छ । यसअघि केन्द्रीय बैंकले एक बैंकबाट ४ करोड र अन्य सबै बैंक तथा वित्त कम्पनीहरूबाट गरी १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको थियो । तथापि, सेयर बजारको खास लगानीको वातावरण बन्न सकेन ।

खास कारण,

कोभिड–१९ पछि क्रमशः बौरिँदै गरेको मुलुकको अर्थतन्त्र अन्य आर्थिक क्षेत्र चलायमान बनेसँगै सेयर बजारको लगानी छरिन पुग्यो । यसै समय रुस र युक्रेन जस्ता शक्ति राष्ट्रहरुबीच द्वोद्व बढ्दा त्यसको असर विश्व अर्थतन्त्रमा नै पर्यो । 

रुस–युक्रेन युद्धको प्रभाव आयात निर्यातको विश्व चेनमा पर्दा बजार महँगी तीव्र गतिमा बढ्यो भने विदेशी मुद्राको सञ्चितिमा समेत पर्न गयो । सँगै उच्च बैंकिङ ब्याजदरका कारण अन्य व्यावसायिक क्षेत्रसँगै सेयर बजारसमेत प्रभावित हुन पुग्यो । जसले ३२ सय अंकको विन्दु पुगिसकेको नेप्से सूचक क्रमशः घट्दै १८ सयको विन्दुमा झर्न पुग्यो । तर एकाएक नेप्सेमा कसरी आयो सुधार ?

अर्थमन्त्री पौडेलसँगै प्रधानमन्त्रीको पोजेटिभ भाइब्स्

सेयर बजारको खेलाडी तथा पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल अहिलेको सेयर बजारको सुधार अर्थमन्त्री विष्णु पौडेलको इन्ट्रीसँगैको पोजेटिभ भाइब्स रहेको बताउँछिन् ।

‘उनै अर्थमन्त्री विष्णु पौडेलको पालामा सेयर बजार अल टाइम हाई ३२ सयको विन्दुमा पुगेको थियो । फेरि उनै पौडेल अर्थमन्त्री बनेर आएसँगै बजारले उनलाई रुचाएको हो’ पोखरेलले रातोपाटीसँग भनिन् । 

तर, सेयर बजार यतिकैको भरमा आकाशिहाल्नुपर्ने त्यस्तो कुनै कारण छैन । तरलता अभाव, विदेशी मुद्राको सञ्चितिको दबाब, उच्च बैंक ब्याजदर र मार्जिन लेन्डिङको १२ करोडको सीमा अहिले पनि कायमै रहिरहेको अवस्थामा कसरी सेयर बजार बढ्न सक्छ र ? भन्ने प्रश्नमा उनले थपिन्, ‘अर्थमन्त्री मात्र होइन पछिल्लो समय सेयर बजारप्रति प्रधानमन्त्री नै सकारात्मक हुनुहुन्छ । प्रधानमन्त्रीकै निर्देशनपछि चालु पुँजी कर्जाको मार्गदर्शन परिमार्जन भयो । अब मार्जिन लेन्डिङको सीमा समेत खारेज हुन्छ र ब्याजदर समेत घट्छ भन्ने हाम्रो विश्वास हो’ पोखरेलले रातोपाटीसँग भनिन् ।

उसो त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार बनेसँगै सेयर बजारले कोल्टे फेरिसकेको छ । पुस ७ गते अर्थात् २२ डिसेम्बर, २०२२ का दिन जम्मा १८७६.२१ अंकमा रहेको नेप्से सूचक पुस २१ गतेसम्म आइपुग्दा २७६ अंकले बढेर २१४३.९४ विन्दुमा पुगेको छ । भने, यहीँ दुई हप्ताको अवधिमा २९ अर्ब ६३ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

साना लगानीकर्ता फेरि मुर्गा बन्ने चिन्ता

इन्डिकेटरहरु उति राम्रा नहुँदा नहुँदै पनि सेयर बजारको तीव्र तर वृद्धिले भने बजारमा अर्को खालको शङ्का जन्माएको छ । धमिलो पानीमा माछा मार्ने दाउमा ठुला लगानीकर्ताहरूले नै चलखेल गरेर बजार बढाएको केही लगानीकर्ताहरूले संशय व्यक्त गरेका छन् । 

‘सेयर बजार भनेकै सम्भावनाको खेल हो । यहाँ कोही नडुबी कोही उत्रिँदैन’ पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेले भनिन्, ‘अवियस्ली डुब्ने भनेको नव प्रवेशीहरु नै हुन् । पुराना खेलाडीहरूले नाफा उठाएर फेरि एक्जिट हुन सक्छन् । तर अब त्यसो नहोला’ उनले भनिन् ।

तर, यता सेयर बजारका विश्लेषक छोटेलाल रौनियार यो समय लगानीको राम्रो वातावरण रहेको बताउँछन् । 

‘कसले के भन्यो र किन भन्यो म त्यतापट्टि जाँदिन । तर यो नै लगानीको उचित समय हो भन्ने मलाई लाग्छ । मुलुकमा बिस्तारै तरलता सहज हुँदैछ, बैंकको सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) घट्दैछ । बैंकको ब्याजदर समेत घट्दै गर्दा यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । सँगै सरकारको पछिल्लो नीति आर्थिक मुद्दालाई नै अगाडी सारेका र कार्यान्वयनमा समेत जागरूकता देखाएकाले अब माहौल सहजतातर्फ जानेमा पूर्ण विश्वास छ । यसले अब बजार घट्दैन बरु अझ बढ्छ ।’

रौनियारले थपे, ‘अब सेयर बजार लगानीकर्ताहरूका लागि ८० प्रतिशत गेन र २० प्रतिशत मात्र रिस्क हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप