शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला कुर्मीलाई बेपत्ता पारेको भनिएको घटनाको अनुसन्धान पुनः सुरु

सीआईबीले  थाल्यो अनुसन्धान
बिहीबार, २१ पुस २०७९, २१ : ४७
बिहीबार, २१ पुस २०७९

काठमाडौं । बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीलाई अपहरण गरेर बेपत्ता पारेको भनिएको घटनामा केन्द्रीय अनुसन्धान ब्यूरोले पुनः अनुसन्धान थालेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसन्धान अधिकृतहरुले अहिलेसम्मको अनुसन्धान प्रगतिबारे उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ब्रिफिङ गरेका छन् ।

बिहीबार सो घटना अनुसन्धान गर्न माग राखेर आन्दोलन गरिरहेकी रुबि खान र अधिवक्ता मोहना अन्सारी लगायतलाई बोलाएर ब्यूरोले छलफल गरेको छ । २२ कात्तिक २०७८ मा  निर्मला कुर्मी बेपत्ता प्रकरणमा ७ जनाले जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण गरेका थिए । अपहरण गरेर कर्तव्य गरेको आरोप लागेका ती ७ जनालाई प्रहरीले हाजिर जमानीमा रिहा गरेर थप प्रमाण जुटाइरहेको छ ।

निर्मला कुर्मीले ७ वर्षअघि अर्जुन कुर्मीसँग विवाह गरेर भारत गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नेपालगञ्जमा मजदुरी गर्न आएका अर्जुनसँग घरजम गरेर बसेकी कुर्मीको भारतमा २०७६ चैतमा मृत्यु भएको अनुसन्धानबाट थाहा भएको प्रहरीको दाबी छ ।

विवाह गरेको फेटो र मृत्यु संस्कारको फोटो प्रहरीले फेला पारेको छ । विवाह र मृत्यु दर्ताको कागजातको आधिकारिकताबारे दुतावासमार्फत भारतमा पत्राचार गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) कमल थापाले रातोपाटीलाई बताए ।  

विवाह र मृत्यु दर्ता पत्रको आधिकारिकता पुष्टि नभएपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले १ वर्षअघि पक्राउ गरिएका रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कँुवर बबन सिंहलाई हाजिर जमानीमा रिहा गरेको थियो ।

कुँवर बबनसिंह अहिले ८० वर्ष पुगेका छन् । किटानी जाहेरीमा उल्लेखित पूर्व सांसद बादशाह कुर्मीचाहिँ पक्राउ परेका छैनन् । करिब दुई वर्षअघि सरकारी वकिल कार्यालयले बादशाहलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको थियो ।
तर, निर्मलाको सम्पती हडपेर बादशाह कुर्मी सहितको समूहले अपहरण गरेको आरोपमा उठेको आन्दोलन रोकिएको छैन । निर्मलाका आफन्तले अपहरणपछि हत्या भएको दावी गर्दै किटानी जाहेरी दिएका थिए । भारतको उत्तर प्रदेशस्थित बहराइचमा निर्मला कुर्मीको मृत्यु भएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप